मध्यपहाडी लोकमार्गमा निरन्तर पहिरो «

मध्यपहाडी लोकमार्गमा निरन्तर पहिरो

पर्वत-एक सातादेखि दैनिक भारी वर्षा भइरहेको छ । वर्षा भएपछि मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक पनि दैनिक बन्द हुन्छ ।
पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रूपमा सडक अवरुद्ध हुँदै आएको छ । कुस्मा नगरपालिका–१ पाङ जोड्नका लागि सहसधारा–पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठूलो भू–भाग खसेपछि सहस्रधारामा पहिरोले सडक अवरुद्ध भएको थियो भने पछिल्लो समय सडकको सुरुवात भएकै ठाउँमा पहिरो गएपछि दैनिक रूपमा यातयात अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यातयातका साधन घण्टौं रोकिने गरेका छन् । अहिले लामो दूरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढे पनि अवरुद्ध हुँदा त्यसले यातायात व्यवसायी र यात्रु नराम्रोसँंग प्रभावित हुन पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सहस्रधारामा ठूलो पहिरो खसिरहेको छ । सुरुमा ढुंगा खसे पनि पछिल्ला दिनमा लेदोसमेत बगेका कारण झनै समस्या भएको छ । शनिबार बिहान पनि खसेको पहिरो हटाएर बिहान १० बजेपछि यातायात सुचारु गरिएको थियो । शुक्रबार पनि सडक अवरुद्ध नै भएको थियो पानी पर्न रोकिएपछि सडक खुलाउने काम भएको थियो । “दैनिक रूपमा सडक अवरुद्ध हुँदा समस्या भएको छ ।” जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विश्वराज अधिकारीले भने, “वर्षात् नरोकिएसम्म सडक अवरुद्ध हुने समस्या नहट्ने देखियो ।” वर्षा नरोकिँदा निरन्तर पहिरो बग्ने गरेका कारण डोजर चलाउनसमेत कठिन हुने गरेको छ ।
गएको भदौ २८ गतेपछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीन सातापछि मात्रै अवरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुईवटा स्काभेटर तयारी अवस्थामा राखिएको छ । दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भइरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउछन् । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन ।
मुख्य राजमार्गबाट जथाभावी रूपमा शाखा सडकहरू निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगर बताउँछन् । “शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरी खन्नुपर्ने हुन्छ,” उनले भने, “वर्षेनी शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।” सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको उनको भनाइ छ । यस पटक वर्षा याम सकिएपछि पहिरो रोकथामका लागि आवश्यक प्रक्रिया थालिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्