स्याङजाको पुतलीबजारमा यातायात शाखा कार्यालय «

स्याङजाको पुतलीबजारमा यातायात शाखा कार्यालय


स्याङजाको पुतलीबजार नगरपालिकामा पूर्वाधार विकास कार्यालय अन्तर्गतको यातायात शाखा कार्यालय स्थापना हुने भएको छ । गण्डकी प्रदेशमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात शाखा कार्यालय पुतलीबजारमा स्थापना हुने भएको हो ।
पुतलीबजारमा स्थापना हुने यातायात शाखा कार्यालयबाट सवारी साधन दर्ता, सवारीहरुको जाँचपास, ब्लूबुक नविकरण, रुट नविकरण र रुट इजाजत सम्बन्धी कामहरु हुने पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत खगेन्द्रराज अर्यालले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय र यसअन्तर्गतको यातायात शाखा कार्यालयको कार्यालय प्रमुख र लेखा अधिकृतले दुवै कार्यालय हेर्नुपर्ने हुन्छ । अर्यालका अनुसार पूर्वाधार विकास कार्यालय र यातायात शाखासँगै हुनपर्ने भएकाले यातायात शाखाको कार्यालय वालिङ पठाउन नसकिने कार्यालय स्रोतले जानकारी दिएको छ । केहिदिन अघि मात्रै वालिङमा शाखा कार्यालय माग गरिएको थियो ।
दैनिक निर्णयहरु गर्नुपर्ने, दैनिक प्रशासनिक कार्यहरु, कर समायोजन, गाडी नम्बर सच्चाउनु पर्ने र रद्ध गर्नुपर्ने काम कार्यालय प्रमुख र लेखा प्रमुखको हुँदा यातायात शाखाको कार्यालय वालिङ लैजान प्राविधिक समस्या हुने कार्यालयले जानकारी दिएको छ ।
पुतलीबजारमा यातायात शाखा कार्यालय स्थापना भएपछि पुतलीबजार, आँधीखोला, विरुवा, अर्जुनचौपारी र हरिनासकासहित वालिङ, गल्याङ, चापाकोट, कालिगण्डकी र गण्डकी प्रदेशका अन्य जिल्लाका सेवाग्राहीले समेत सेवा लिन सक्ने पूर्वाधार विकास कार्यालयले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्