गर्भ जाँच गराउँदा अण्डा उपहार «

गर्भ जाँच गराउँदा अण्डा उपहार

गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अरू गर्भवती महिला पनि स्वास्थ्य चौकी आउने गरेका र यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका स्वास्थ्य संस्थाको तथ्यांक रहेको छ ।

ओखलढुंगा-ओखलढुंगाकोे मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउन आउने गर्भवती महिलाहरुले अण्डा उपहार पाउने गरेका छन् । ग्रामीण भेगमा रहेका गर्भवती महिलाहरुलाई नियमित गर्भ जाँच गराउनका लागि स्वास्थ्य चौकीले अण्डा उपहार दिँदै आएको हो ।
गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पु-याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गरेको हो । गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ । पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रोपटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक गराउँदा ९ वटा अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन् ।
उनका अनुसार अण्डा वितरणसँगै ६ महिना पुगेका गर्भवती तथा उनका श्रीमान्, सासु तथा नजिकका नातेदारलाई गर्भवतीको जीवन सुरक्षासम्बन्धी दुई दिने तालिम पनि दिने गरिएको छ । यो अभियानले गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन पुगेको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए । गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अरू गर्भवती महिला पनि स्वास्थ्य चौकी आउने गरेका र यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका स्वास्थ्य संस्थाको तथ्यांक रहेको छ ।
स्वास्थ्य चौकीको तथ्यांकअनुसार ७० प्रतिशत महिला स्वस्थ्य चौकीमै सुत्केरी हुने गरेका छन् । बाँकी ३० प्रतिशत महिलाहरु अन्य बर्थिङ सेन्टर तथा अस्पतालमा सुत्केरी हुने गरेको पाइएको छ । अण्डा उपहार कार्यक्रम प्रभावकारी हुन थालेपछि मानेभञ्ज्याङ गाउँपालिकाका सबै वडामा यो अभियान सञ्चालन गर्नेे तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्