स्वास्थ्यमा खेलबाड गर्ने सेनिटाइजर उत्पादक कम्पनीलाई कडा कारबाही होस् «

स्वास्थ्यमा खेलबाड गर्ने सेनिटाइजर उत्पादक कम्पनीलाई कडा कारबाही होस्

नेपालीले चाहे भने हजारौं वैज्ञानिकलाई पनि तह लगाउँछन् भन्ने उखान सिद्ध भएको छ । किनकि नेपालीहरू एउटै समस्यामा विभिन्न कोणबाट अवसरको खोजी गरिरहेका हुन्छन् । चाहे त्यो सकारात्मक होस् या नकारात्मक, कुनै पनि समस्यामा उपाय निकाल्नका लागि नेपालीहरू खप्पिस रहेका विगतका विभिन्न कार्यबाट पनि प्रस्ट थाहा हुन्छ । हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को जोखिम कम गर्न मद्दत गर्ने भनिएको सेनिटाइजर उत्पादनमा पनि नेपाली कम्पनीहरू अग्रसर भएका छन् । हुन त नेपालमा नै उत्पादन गर्न सकेको खण्डमा यस्ता सेनिटाइजरको नाममा अर्बांै रकम बिदेसिनबाट रोकिनु भनेको नेपालको हितमा नै हुन्छ, तर यसको गलत उत्पादन बढ्दै जानाले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्ने देखिन्छ । त्यसैले सम्बन्धित निकायले यस्ता संवेदनशील विषयमा ध्यान पु¥याउन एकदम जरुरी देखिएको छ ।
आज मुलुकको आर्थिक उपार्जन गर्ने स्रोत दिनदिनै घट्दै गइरहेको छ, जसका कारण अर्थतन्त्र धराशायी बन्दै गएको छ । यस्तो अवस्थामा सरकारले अर्थतन्त्र चलायमान बनाउनका लागि गुणस्तरीय सामग्री उत्पादनमा प्रोसाहन गर्नु आवश्यक छ । किनकि सेनिटाइर, माक्स, पन्जा र फेसफेम पीपीई आज अति आवश्यक बन्दै गएको छ । हाल बजार पनि मापदण्ड पालना गर्दै खोल्नुपर्ने स्थितिको सिर्जना भएको छ । मानिसहरूले आजको विषम परिस्थतिको फाइदा उठाउँदै सरकारको आँखा छलेर आमसर्वसाधारणको स्वास्थ्यमा खेलबाड गरेको प्रस्ट देखिएको छ । आजको विषम परिस्थितिपछिका दिनहरूमा पनि मानिसलाई सहज सरल दैनिकी आवश्यक हुन्छ, तर यस्ता रसायनहरू मानिसहरूको शरीरमा बारम्बार प्रयोग गरिरहँदा स्वास्थ्यमा कस्तो असर देखा पर्छ र गुणस्तरहीन स्वास्थ्य सामग्रीको प्रयोगले कसैको हित हुन सक्दैन । छोटो लोकप्रियता र व्यक्तिगत स्वार्थका लागि मानिसको जिन्दगीमा खेलबाड गर्ने ती सेनिटाइजर उत्पादक कम्पनीलाई हदैसम्मको कारबाही हुनु आवश्यक छ ।
स्वास्थ्य सामग्री उत्पादक कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि उत्पादक संघको स्वीकृतिप्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउने व्यवस्था हुन जरुरी छ । विभागले प्रतिबन्ध लगाएका रसायनहरूको प्रयोग भएको छ कि छैन भनेर नियमित अनुगमन हुनु जरुरी छ । सेनिटाइजर उत्पादन गर्नका लागि इथानल रसायन आवश्यक हुन्छ, तर हाल बजारमा देखिएका कम्पनीहरूले मेथानल रसायन प्रयोग गरेर बिक्री–वितरण गरिरहेका छन्, जुन मानिसको स्वास्थ्यमा थोरै मात्र परेमा पनि त्यसले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्छ । सुरुसुरुमा माग र आपूर्तिको तालमेल नहुँदा सेनिटाइजर उत्पादक कम्पनीले छोटो समयमा आफ्नो निजी खर्चलाई पूर्ति गर्नका लागि मेथानल प्रयोग गरी बजारमा महँगो मूल्यमा सेनिटाइजर बिक्री गरेको पाइएको छ । त्यसैले ती उत्पादक कम्पनीतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
मेथानलको प्रयोगले छालामा असर गर्नुका साथै यसको प्रयोगले स्नायु प्रणााली, मिर्गौला र आँखामा प्रत्यक्ष असर पर्छ । बेलाबखतमा हामीले लोकल रक्सी पिएर मानिसको मृत्यु भएको खबर सुनेकै छौं । यस्ता रक्सीमा मेथानल प्रयोग गरिएको हुन्छ । अधिक मेथानल प्रयोगले मानिसको ज्यान पनि जान सक्छ । त्यसैले हाल हामीले प्रयोग गर्ने सेनिटाइजरमा मेथानल नै प्रयोग भएको पाइन्छ । यसको प्रयोग गरेपछि सेनिटाइजर पनि विषाक्त बन्छ । जीवाणु मर्नका लागि बनाइएको सेनिटाइजरमा मानिसको स्वास्थ्य नै बिगार्ने विषाक्त पदार्थको प्रयोग नगर्न र नगराउन साथै नियमनकारी निकायले कम्पनीलाई इथानलको प्रयोग गरेर उत्पादन गर्ने वातावरण बनाउनुपर्छ । कोभिड महामारीको भयावह स्थितिमा औषधिजन्य सामग्रीमा विषाक्त पदार्थको मिसावट गर्नु गम्भीर अपराध हो । यस्ता गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादक कम्पनीहरूलाई कडाभन्दा कडा कारबाही हुन जरुरी छ र उपभोग गर्ने तपाईं–हामी आफैं पनि सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्