कर्णालीमा समिट एयरको नियमित उडान «

कर्णालीमा समिट एयरको नियमित उडान

जुम्ला-समिट एयरले माथिल्लो कर्णालीका चार जिल्लामा सोमबारदेखि नियमित उडान गरेको छ । कोरोना महामारीका कारण ६ महिनादेखि रोकिएको उडान सोमबारदेखि नियमित भएको हो ।
सरकारले आन्तरिक हवाई खोल्ने निर्णय गरेसंगै कर्णालीमा पहिलो उडान गर्नेमा समिट एयर परेको छ । दुर्गमका नागरिकको समस्यालाई मध्यनजर गर्दै सोमबारदेखि हुम्ला, डोल्पा, मुगु र जुम्लामा दैनिक एक नियमित उडान भर्ने समिट एयर नेपालगन्ज स्टेशनका ईन्चार्ज सरोज उप्रेतीले जानकारी दिए ।
उनले भने, “माथिल्लो कर्णालीलाई प्रथामिकता दिएर उडान गर्ने तयारी छ । तर विगतको जस्तो यात्रुको चाप छैन । लकडाउन खोल्नुअघि अधिकांश चार्टर फलाईटबाट आफ्नो गन्तव्यमा पुगेका छन् भने हजारौ नागरिकलाई पालिकाले नै गाडीमा घरमा लगिदिएको छ । जसले गर्दा अहिले जहाज चड्ने यात्रु थोरै छन ।”
तर पनि चाडपर्व नजिकिँदै गएकाले थोरै भए पनि नियमित उडान गरेर नागरिकलाई सेवा दिइने ईन्चार्ज उप्रेतीले उल्लेख गरे । उनका अनुसार अहिले हुम्लामा १० हजार ५ सय, डोल्पामा ८ हजार ५ सय, मुगुमा ५ हजार ४ सय ८५ रुपैयाँ र जुम्लामा ५ हजार ३ सय ५० रुपैयाँ प्रतिव्यक्ति भाडादर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्