खुल्न थाले विद्यालय «

खुल्न थाले विद्यालय

दाङ-कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।
नेपाल सरकारले सिकाइ निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो । त्यसै आधारमा विद्यालयहरु सञ्चालनमा आउन थालेको स्थानीय तहहरुले बताएका छन् । लामो समयको बन्दका कारणले बालबालिकाहरुको पढाईमा धेरै असर पु¥याएको छ ।
त्यसैले सरकारले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु सञ्चालन गर्ने सकिने तथा अन्य बैकल्पीक माध्यमवाट शैक्षिक क्रियाकलाप अगाडि वढाउने भनेको थियो । तर बैकल्पीक माध्यमवाट प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको अभिभावकहरुले गुनासो गर्दै आएका छन् ।
त्यसैले अहिले जिल्लमा विद्यार्थीहरुको उपस्थितिमा नै पढाइ सुरु गर्ने थालिएको छ । केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिसकेका छन् भने केहीले गर्ने तयारी गरेको जनाएका छन् ।
दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आईतबारदेखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वटा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा पठनपाठन सुरु भएको हो ।
गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि ५ कक्षासम्मको पठनपाठन सुरु गर्ने निर्णयअनुसार आइतबारदेखि पठनपाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ । गाउँपालिकामा शिशुदेखि कक्षा पाँचसम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।
नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्य संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वालीले बताए । लामो समयसम्म लकडाउन भएपछि विद्यार्थीहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठनपाठन कार्य सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत वलीको भनाइ रहेको छ ।
यता घोराही उपमहानगरपालिका भित्र रहेका विद्यालयहरु पनि खुल्ने तयारीमा रहेका छन् । घोराही उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले नगरभित्र रहेका विद्यालयहरुले सञ्चालन गर्ने तयारी गरेको बताए ।
‘नगरभित्र रहेका विद्यालय केही दिनमा नै सञ्चालनमा आउने छन्,’ प्रमुख गौतमले भने । विद्यालयहरुमा विद्यार्थीहरु उपस्थित गराएर सञ्चालन गर्ने तयारी गरिएको बताइएको छ । यसका लागि तयारी भइरहेको प्रमुख गौतमले बताए ।
राप्ती गाउँपालिकाले पनि छिट्टै विद्यालय सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विद्यालयहरुलाई कसरी पढाइ सञ्चालन गर्ने भनेर योजना वनाउन लगाइएको र विद्यालयले वनाएको योजना अनुसार अगाडि बढिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए ।
‘विद्यालयहरुलाई कार्य योजना वनाउन ५ गते सम्मको समय दिएको छ त्यसपछि प्रअहरुसँग छलफल गरेर अगाडि बढ्नेछौ,’ उनले भने । सुरुको १ हप्ता समुदायमा पुग्ने र त्यसपछि विद्यार्थीहरुलाई विद्यालयमा बोलाउने तयारीमा आफूहरु रहेको प्रमुख विकले बताए । ३ चरण बनाएर विद्यालयहरु सञ्चालनमा ल्याउने गाउँपालिकाको योजना रहेको छ ।
यसरी सञ्चालन गर्दा सामाजिक दूरी कायम गरी सञ्चालन गर्ने सकिने उनको भनाइ छ । गाउँपालिकाले यसअघि पनि समुदाय स्तरमा नै पुगेर बालबालिकालाई पढाउने गरेको थियो । तर पछिल्लो समयमा कोरोना संक्रमण बढेपछि समुदायमा पढाइ रोकिएको प्रमुख बि क बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्