राजस्व बढ्ने नाममा आयातलाई प्राथमिकता दिँदा व्यापार घाटा उच्च «

राजस्व बढ्ने नाममा आयातलाई प्राथमिकता दिँदा व्यापार घाटा उच्च

वाणिज्य सचिव चन्द्र घिमिरेले राजस्व बढ्ने नाममा आयातलाई प्राथमिकता दिँदा मुलुकको व्यापार घाटा चुलिँदै गएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा गरेको ‘औद्योगिक विकास तथा व्यापार प्रवद्र्धन’ विषयक अन्तक्र्रियामा सचिव घिमिरेले आयात दर बढ्दै गएकाले व्यापार घाटा उच्च भएको बताएका हुन् ।
अत्यावश्यक वस्तुबाहेक विलासिताका सामान आयात भएकाले पनि व्यापार घाटा बढ्दै गएको भन्दै सचिव घिमिरेले यसलाई कम गर्न निर्यातमा विशेष जोड दिनुपर्ने बताए । “व्यापारलाई विविधीकरण गरेर निर्यात बढाउन सकिन्छ,” उनले भने, “यसका लागि सम्बन्धित निकायको सहयोग र समन्वय आवश्यक छ ।” इन्धन, सवारी साधनका पार्टपुर्जा, सञ्चार सामग्रीको आयातले व्यापार घाटा बढ्दै गएको उनको भनाइ छ ।
उद्योग सचिव यामकुमारी खतिवडाले स्वदेशी वस्तुको उत्पादन र उत्पादकत्व बढाउन सके निर्यात प्रवद्र्धन गर्न सकिने बताइन् । स्वदेशी उत्पादनको गुणस्तरमा ध्यान दिन सके अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
अर्थविज्ञ डा. पोषराज पाण्डेले बढ्दो व्यापार घाटा कम गर्न व्यापारको विविधीकरण गर्न आवश्यक रहेको बताए । व्यापार प्रवद्र्धन गर्न निर्यातयोग्य वस्तुमा दिँदै आएको सुविधा निर्यात गर्ने व्यक्तिले नपाई अन्यले लगेकाले पनि यसलाई सुधार गर्नुपर्ने उनले बताए । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादनको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्थानीय उत्पादन निर्यातमा अमेरिकाले सुविधा दिए पनि त्यसको उपभोग गर्न नसकिएको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले व्यापार नीतिमा अवलम्बन गरिएका कार्यक्रम पुनरावलोकन गर्न आवश्यक भएको बताए । व्यापार विविधीकरणका नाममा नगद सुविधा दिए पनि त्यसको सही सदुपयोग हुन नसकेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरुले बढ्दो व्यापार घाटा कम गर्न निर्यात प्रवद्र्धनमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्