अस्ताए ‘हिउँचितुवा’ «

अस्ताए ‘हिउँचितुवा’


‘हिउँचितुवा’ उपनामले परिचित कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । ७२ वर्षीय शेर्पाको सोमबार बिहान काठमाडौंमा निधन भएको हो । उनले बिनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेका थिए । शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले ट्विटरमार्फत दिवंगत आरोही शेर्पाको कीर्तिमानी सदा स्मरणीय रहने उल्लेख गरेका छन् । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि ट्विटरमार्फत दुःख व्यक्त गरेका छन् ।
जोरपाटीस्थित छोरीको घरमा बस्दैं आएका शेर्पा लामो समयदेखि ‘लिभर र न्यूरो’सम्बन्धी रोगबाट ग्रसित थिए । बिहान खाजा खाएपछि शेर्पालाई केही असहज महशुस भएको र रिंगटा लागेको थियो । यससँगै उनको बिहान १० बजे निधन भएको नातेदार समेत रहेका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । सन् १९८२ मा धौलागिरी प्रथमको सफल आरोहण गरेर हिमाल आरोहण सुरु गरेका शेर्पाले सन् १९८३ मा पहिलो पटक बिनाअक्सिजन सगरमाथाको आरोहण गरेका थिए । सन् १९८३ देखि १९९६ सम्म गरेर कुल १० औं पटक बिनाअक्सिजन सगरमाथाको ओरोहण गरेर विश्व कीर्तिमान राखेको पूर्व अध्यक्ष शेर्पाले बताए ।
दुई छोरा, एक छोरी रहेका शेर्पा सन् १९४८ मा सोलुखुम्बुमा जन्मेका थिए । उनकी श्रीमतीको भने करिब ८ वर्ष अगाडि नै निधन भएको थियो । सरकारले शेर्पाको योगदानको कदर गर्दै गोरखा दक्षिणबाहु पहिलो, त्रिशक्तिपट्ट पहिलोलगायतका पदक प्रदान गरेको छ । सम्मानित शेर्पाले राखेको कीर्तिमान हालसम्म अरुले तोड्न सकेको छैन । उनको पार्थिव शरिरलाई टुसालस्थित शेर्पा गुम्बामा बुधबार विहान ८ बजे सम्म राखिने जनाईएको छ । त्यसपछि शव यात्रा गरेर टेकुस्थित घाटमा उनको अन्तिम संस्कार गरिने पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्