सहकारीमा कर्जाको ब्याजदर १४.७५ प्रतिशत «

सहकारीमा कर्जाको ब्याजदर १४.७५ प्रतिशत


सहकारी संस्थाहरूहरूले ऋणमा अधिकतम १४.७५ प्रतिशत मात्र ब्याजदर लिन पाउने भएका छन् । सहकारी विभागले सोमबार सन्दर्भ ब्याजदर निर्धारण गरेको हो । विभागका रजिष्ट्रारको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको सोमबार बसेको बैठकले कात्तिक १५ गतेबाट लागू हुनेगरी ब्याजदरको सीमा घटाएको हो ।
विभागले गत वर्ष साउनमा १६ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गरेको थियो । एक वर्षपछि विभागले ब्याजदर पुनरावलोकन गरेको हो । वित्तीय बजारमा ब्याज घट्नुका साथै नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको ऋणमा १५ प्रतिशत ब्याजदरको सीमा तोकेपछि सहकारीको ब्याजदर पनि घटाउन दबाब परेको थियो । तर, राष्ट्रिय सहकारी महासंघलगायत सहकारी संघसंस्थाहरूले कोभिडको कारण देखाउदै ब्याजदर नघटाउन दबाब दिएका थिए ।
सहकारी ऐनमा विभागका रजिष्ट्रारको संयोजकत्वमा सहकारी हेर्ने मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, सहकारी महासंघ र विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहने सन्दर्भ ब्याजदर निर्धारण समितिको व्यवस्था गरिएको छ । यसैगरी सहकारी नियमावलीमा समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूको सुझावलाई आधार मानेर सन्दर्भ ब्याजदर निर्धारण गर्ने व्यवस्था छ ।
गत वर्ष सन्दर्भ ब्याजदर लागू भएपछि त्यसका विरुद्ध जिल्ला सहकारी संघ काठमाडौंको नेतृत्वमा आन्दोलन समेत भएको थियो । तर, सन्दर्भ ब्याजदर तोक्ने व्यवस्थालाई ऐन संशोधन गर्दा हटाउन महासंघले पहल गर्ने सहमति गरेपछि आन्दोलन सेलाएको थियो । सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था हटाउन महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ऐन संशोधनको सुझाव पठाए पनि अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्