किलोको १८ रुपैयाँमा पनि बिकेन मकै «

किलोको १८ रुपैयाँमा पनि बिकेन मकै

दाङ-गढवा गाउँपालिका–७ कान्छीगाउँ मोतिपुर निवासी चोकनाथ चौधरीले आफूले उत्पादन गरेको मकै बिक्री हुन नसकेको बताएका छन् । उनले करिब १ बिघामा मकैखेती गरेका छन् । उनले वैशाखमा तयार भएको वशन्ते कमै र हालै तयार भएको बर्खे कमै पनि बिक्री नभएको बताए । यसरी तयार भएको मकै बिक्री नहँुदा धेरै समस्या भएको उनको भनाइ छ ।
मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउन सहज हुने गरेको थियो । तर मकै बिक्री नभएपछि घर व्यवहार चलाउन समेत समस्या हुन थालेको उनले बताए । गत वर्ष उनले घरबाट नै मकै बिक्री गरेका थिए । तर यस वर्ष हालसम्म कोही पनि मकै किन्नका लागि नआएको उनले बताए । “अहिलेसम्म कोही पनि मकै किन्न नआएका कारण मकै बिक्री गर्ने सकिएको छैन,” चोकनाथले भने । बिक्री नभए पछि केही बाख्रालाई खुवाइएको छ भने अरु घरमै राखिएको उनले बताए । कोरोना संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण मकै बिक्री नभएको उनको भनाइ छ । “गत वर्षमा बिक्री भएको मूल्यको आधा मूल्यमा पनि मकै किन्न कोही आएका छैनन्,” उनले भने । लकडाउनका कारण कुखुरापालन गर्नेले पनि लकडाउनकै समयमा कम कुखुरापालन गरेको र केहीले कुखुरा पालन छाडेको कारण यस्तो समस्या भएको उनी बताउँछन् । कृषकले उत्पादन गरेका कृषि वस्तु सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरेमा कृषकलाई सहज हुने उनले बताए । कृषकले दुःख गरेर उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा कृषकहरू मारमा पर्ने गरेको उनी बताउँछन् । यसतर्फ सरकारले ध्यान दिनुपर्ने चोकनाथले बताए ।
सोही स्थान निवासी रामबहादुर चौधरीको पनि तयारी भएको मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको वशन्ते मकै ३० क्विन्टल र बर्खे मकै २५ क्विन्टल बिक्री गर्ने बाँकी रहेको उनले बताए । यसरी तयार भएको मकै बिक्री नहुँदा धेरै समस्या भएको उनले बताए । “तयारी अवस्थाको मकै बिक्री भएको छैन् घर व्यवहार चलाउनसमेत समस्या भएको छ,” उनले भने । उनले २ हेक्टरमा ३ बाली मकैखेती गर्ने गरेका छन् । गएको फागुनसम्म तयार भएको दाना मकै ३५ रुपैयाँ केजी बिक्री गरेको उनले बताए । तर अहिले प्रतिकेजी १८ रुपैयाँमा पनि बिक्री गर्न समस्या भएको उनको भनाइ छ । “यसरी आधा मूल्यमा दिँदा पनि बिक्री हुन सकेको छैन,” उनले भने । यसरी आधा मूल्यमा मकै बिक्री गर्नुपर्दा आफूहरूको मेहनत तथा लगानीसमेत उठाउन समस्या हुने उनले बताए । राज्यले कृषकको समस्यालाई ध्यान दिएर सहयोग गर्न उनले आग्रह गरे । राज्यले कृषकले उत्पादन गरेको वस्तुको मूल्य तोकेर खरिद गरी दिनुपर्ने उनले बताए ।
लमही नगरपालिका–८ सतवरीया निवासी देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गर्नुपरेको बताए । गत वर्ष ३५ रुपैयाँ केजी मकै गरेका उनले यस वर्ष १७÷१८ रुपैयाँ किलोसम्म मकै बिक्री गरेको बताए । लकडाउनका कारण दाना उत्पादन कम भएका कारण मकैको मूल्य घटेको उनको भनाइ छ । “बाहिर पनि नगएको र पशुको आहारा घटेका कारणले मूल्य घटेको हो,” उनले भने । यसले गर्दा कृषकलाई समस्या भएको उनले बताए । सतवरीया टोलमा मात्र करिब ८० बिघामा मकैखेती हुने गरेको छ । देउखुरीमा मकै सुपरजोन कार्यक्रम लागू भएपछि कृषकले ३ बाली लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्