ढुवानी गर्न नपाएपछि कृषकले सडकमै पोखे दूध «

ढुवानी गर्न नपाएपछि कृषकले सडकमै पोखे दूध

पर्वत-वर्षाले अवरुद्ध बनेको सडकका कारण उत्पादित दूध बजार पु¥याउन नसकेपछि यहाँका कृषकले उत्पादन गरेको दूध सडकमै पोखेका छन् ।
पर्वतका फलेवास नगरपालिकाका किसानहरूले उत्पादन गरेको साढे ७ सय लिटर दूध शुक्रवार सडकमा पोखेका हुन् । निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि पोखरामा बिक्री गर्न लैजान नसकिएको भन्दै उत्पादित दूध सडकमै पोख्न बाध्य भएको कृष्णगण्डकी दुग्ध सहकारी संस्थाका अध्यक्ष रुद्र भुसालले बताए ।
अवरुद्ध सडक खुलाउन स्थानीय नगरपालिकाले समेत लामो समयसम्म पहल नगरे पनि दूध नै बिग्रिन थालेको उनको गुनासो छ । फलेवासका कृाषकहरूले दैनिक उत्पादित दूध पोखरा पठाउँदै आएका छन् । फलेवास नगरपालिका–६ देविस्थानमा सञ्चालित कृष्णगण्डकी दुग्ध सहकारी संस्थाले गाउँभरिका व्यावसायिक कृषकहरूले उत्पादन गरेको दूध संकलन गरी पोखरा लैजाने गरेको छ । “बाढिपहिरोबाट फलेवास नगरपालिकाका विभिन्न सडक अवरुद्ध छन्, सडक खुलाउन स्थानीय नगरपालिका वा अन्य कुनै निकायवाट पनि पहल नभएपछि दूध नष्ट गर्नुको विकल्प रहेन,” अध्यक्ष भुसालले भने ।
पहिरोले बन्द भएका सडक सुचारु गर्न स्थानीय सरकारले बेवास्ता गरेका कारण नगरपालिकाको विरोधमा सडकमा दूध पोखेको उनको भनाइ छ । २÷३ दिनमा उठाउनु पर्ने दूध नौ दिनसम्म पनि बजारमा पु¥याउन नसकेपछि दूध बिग्रिएर सडकमा पोख्न बाध्य भएको उनको भनाइ छ । संकलन गरेको दूध बिग्रिँदा ५० हजारभन्दा बढीको नोक्सान भएको अध्यक्ष भुसालले जानकारी दिए ।
देविस्थानका किसानहरूले दुई वर्ष अघिदेखि कृष्णगण्डकी सहकारी संस्थामार्फत उत्पादन गरेको दूध पोखरासम्म पु¥याउँदै आएका छन् । दुग्ध सहकारी संस्थामा एक सयभन्दा बढी किसान आबद्ध छन् । गएको भदौ २८ गते आएको बाढिपहिरोले फलेवासका सडक अवरुद्ध हुँदा स्थानीयलाई खाद्यान्न ढुवानीमा समेत समस्या छ ।
फलेवास नगरपालिकाले नगरभित्रका अवरुद्ध मुख्यमुख्य सडक खुलाउने तयारी भएको बताए । वर्षा नरोकिएका कारण समस्या भएको भन्दै नगरप्रमुख पदमपाणि शर्माले वर्षा रोकिने बित्तिकै सबै सडक नियमित रूपमा सुचारु गरिने बताए । सडक खुलाउन केही समय ढिला भएकै कारण किसानले उत्पादन गरेको दूध बजारसम्म पु¥याउन समस्या भएको बताउँदै नष्ट नगरिएको दूधको आवश्यक क्षतिपूर्ति नगरपालिकाले बहोर्ने उनको भनाइ छ । उनले फलेवास नगरपालिकालाई दूध, मासु, अण्डा, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने योजना नगरपालिकाले नै अघि सारेको बताउँदै प्राकृतिक विपत्तिले पारेको समस्यालाई कृषकहरूले बुझ्नुपर्ने बताए । उनले वर्षायाममा बिग्रिएका सडक निर्माणाधीन भए सम्बन्धित आयोजना र अन्य सडक नगरपालिकाकै स्काभेटर प्रयोग गरेर खुलाउने तयारी गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्