६ महिना पछि पोखरा काठमाडौंमा सिधा हवाई उडान आजबाट «

६ महिना पछि पोखरा काठमाडौंमा सिधा हवाई उडान आजबाट

पोखरा-कोरोना भाइरसको प्रभावले गर्दा नेपालको हवाई उडान प्रभावित भएको ६ महिना पछि सोमबारबाट पोखरा काठमाडौंको सिधा हवाई सेवा सञ्चालनमा आउने भएको छ । हवाई उडान लामो समय प्रभावित भएकाले आवश्यक तयारीसहित सोमबारदेखि हवाई सेवा उडान पुनः सञ्चालन हुने पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाकुमार गुरागाँइले बताए ।
उनका अनुसार सोमबार बुद्ध एरलायन्स र यति एयरलायन्स कम्पनीले दुई÷दुई वटा मात्र हवाई उडान गर्ने भएका छन् । कोरोनको कारण सोमबारबाट हवाई सेवा सञ्चालनमा आए पनि पहिलाको तुलनामा हाल यात्रु कम भएकाले फ्लाइट समेत करिब २५ प्रतिशत मात्र हुने भएको उनले जनाए । पोखरा विमानस्थल र धावनमार्ग, पोखरा विमानस्थलमा होल्डिङ कक्ष, साबुन पानीले हात धुने व्यवस्था, सेनिटाइजर, गनथर्ममिटर सहितको प्रबन्ध गरिएको प्रमुख गुराँगाइले बताए । पोखराबाट व्यावसायीक रुपमा बुद्ध र यतिसहितका ५ वटा कम्पनीहरुले हवाई सेवा दिँदै आए पनि कोरोना महामारीका कारण नेपाल एयरलायन्स कम्पनीको काउण्टरै हटाइएको छ ।
पोखराबाट बुद्ध, यति, श्रीयरलायन्स, तारा र नेपाल एयरलायन्स कम्पनीले पोखरा–काठमाडौं, काठमाडौं –पोखरा, पोखरा–जोमसोम, जोमसोम–पोखरा, पोखरा– भैरहवा, भैरहवा–पोखरा, पोखरा–भरतपुर, भरतपुर –पोखरा, पोखरा–विराटनगर, विराटनगर–पोखरामा हवाई उडान गर्दै आएका थिए । हालको अवस्थामा पोखरा काठमाडौंबाहेकका अन्य क्षेत्रमा हवाई उडान नहुने भएको विभिन्न कम्पनीहरुले जनाएका छन् ।
हालको अवस्थामा पोखरा काठमाडौं मात्र केन्द्रित हुने गरी दैनिक दुई वटा मात्र हवाई उडान हुने भएको बुद्ध एयरलायन्स कम्पनी पोखरा कार्यालयका स्टेशन म्यानेजर गौतम बरालले बताए । यात्रुको माग र चहाना भएमा बुद्ध एयरले पोखरा–भैरहवा, पोखरा– भरतपुर र पोखरा–विराटनगरमा पनि हवाई सेवा दिन सक्ने उनले जनाए । पोखरा–काठमाडौं हवाई उडानको प्रति यात्रुको शुल्क ४ हजार ७ सय ५५ रुपैयाँ रहे पनि समय र परिस्थिति अनुसार हाल करिब ५० प्रतिशत शुल्क घट्नु पर्ने अवस्था आएको स्टेशन म्यानेजर बरालले जनाए ।

प्रतिक्रिया दिनुहोस्