रेल आउँदा हेर्नेको लर्को, फर्किदा सुनसान «

रेल आउँदा हेर्नेको लर्को, फर्किदा सुनसान

जनकपुर-भारतको जयनगर हुँदै नेपाल आएको रेल हेर्न स्थानीयको भीडभाड भयो । तर फर्किदा भने सनुसान देखियो । कोराना भाइरसको जोखिम मोलेर स्थानीयहरु रेल हेर्न पुगेका थिए । तर सुरक्षाको कारण देखाउँदै जनकपुरधामबाट पुनः भारतको सीमावर्ती जयनगरमै रेल लगिएको छ । ६ वर्षको लामो प्रतीक्षा पछि कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि २ सेट रेलको बोगी तथा ४ सेट इन्जिनसहित पहिलो ट्रायलका लागि जनकपुर ल्याइएको थियो ।
गत हप्ता बिहीबार भारतको जयनगर आइपुगेको रेल दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा आइपुगेको थियो । यसपछि रेल बोगीको दुवै सेट र ४ वटा इञ्जिन भारतको बिहारको हाजीपुर स्टेशनमा राखिएको थियो । करिब १ अर्ब रुपैयाँको लागतमा खरिद गरिएको रेलको दुवै सेटको ट्रायल गरिएको र चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
रेलको दुवै सेट जनकपुरधाम आइसकेपनि अहिले भने ट्रायलकै चरणमा रहेकाले उद्घाटनको कुनै कार्यक्रम नरहेको महानिर्देशक बलराम मिश्रले बताए । उनले रेल सेटको सुरक्षाका लागि पुनः भारतको जयनगर स्टेशनमा नै फर्किएको बताए ।
दुवै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै डिजाइन गरिएको मिश्रले जनाए । रेलमा १ हजार ३ सय सिट क्षमता छ । रेल डिजेलबाट चल्छ । दुवै रेल सेटमा २÷२ वटा इन्जिन लगाइएको छ । अगाडि पछाडि दुवैतर्फ इञ्जिन लगाइएकोले ओहोरदोहोर गर्नका लागि इञ्जिन फेरबदल गर्नुपर्ने झन्झट नरहेको मिश्रले बताए । ट्रेन सेटहरुको डिजाइन स्पीड ११० किलोमिटर प्रति घण्टा रहने जनाइएको छ ।
जनकपुरधाममा पहिलो पटक ट्रायलका लागि दुई सेट रेल ल्याएपनि अहिले सञ्चालनमा ल्याउने कुनै योजना नरहेको रेल विभागले स्पष्ट पारेको छ । कोरोना संक्रमणको त्रासका कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि सञ्चालनमा ल्याउनु घातक हुने भएकाले अहिले नै सञ्चालनमा नआउने महाप्रवन्धक भट्टराईले जानकारी दिए । यदि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भएमा मात्रै डेढ महिना भित्रै सर्वसाधारण यात्रुका लागि समेत रेल्वे सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

तत्काल ३५ किलोमिटर रेल मात्रै चल्ने
वि.सं. १९९४ मा भारतमा शासन गरिरहेको इष्ट–इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लैजानको लागि रेल्वे लाइनको बिस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । जसलाई जनकपुर–जयनगर रेल्वे भनिन्थ्यो । पछि भारतले १८ वटा बोगीसहित बाष्प इञ्जिन सहयोग गरेपछि विसं २०५१ देखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । पछि नेरोगेज रेललाइनलाई बिस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो ।
नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्ने योजना मात्रै रहेको महानिर्देशक मिश्रले बताए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बन्ने छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको तयारी छ ।

किरण कर्ण

प्रतिक्रिया दिनुहोस्