नेकपा सचिवालय बैठकमा ४ वटा एजेन्डामाथि छलफल सुरु «

नेकपा सचिवालय बैठकमा ४ वटा एजेन्डामाथि छलफल सुरु

सत्तारुढ दल नेकपाको सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आइतबार सुरु भएको छ ।
पहिलो दिनको बैठकमा बैठकका लागि चारवटा कार्यसूची तय गरिएको र छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकका लागि मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गरी चार एजेन्डा तय भएको उनले बताए ।
यीमध्ये मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि व्यक्तिको नाममा छलफल नभएको श्रेष्ठले बताए । ‘सुझाव लिने काममात्र भएको छ । कसैको बारेमा छलफल भएको होइन,’ उनले भने ।
हालै सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णय र निकालेका निष्कर्षलाई कार्यान्वयनमा लैजाने सम्बन्धमा सचिवालयको बैठक बसेको हो । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामा नै बस्नेछ ।
नेकपा एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक बसेको हो । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका बैठकहरु हुने गरेका थिए ।
हालैमात्र बालुवाटारमै सम्पन्न स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहितको पार्टी सञ्चालन गर्ने र अर्का अध्यक्ष केपी ओलीले सरकार सञ्चालनमा केन्द्रित हुने सहमति भएको थियो ।
पेरिसडाँडामा पहिलो पटक बसेको सचिवायल बैठकमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पनि पुगेका थिए । पार्टी एकतापछि उनी दोस्रोपटक पेरिसडाँडा पुगेका हुन् । यसअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि उनी ०७५ जेठ ४ मा पहिलोपटक पेरिसडाँडा पुगेका थिए ।
बैठकले केन्द्रीय सदस्यलाई दिइने नियमित आर्थिक सहयोगका बारेमा कार्यसूची तय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
उनले भने, ‘पूर्णकालीन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो । केन्द्रीय कमिटीका सदस्यलाई के गर्ने भन्ने विषयमा सचिवालयले तय गर्नेछ ।’
प्रवक्ता श्रेष्ठले प्रदेश वा जिल्ला र सोभन्दा तलका कमिटीका सदस्यलाई आर्थिक सहयोग गर्ने बारेमा सम्बन्धित कमिटीले नै निर्णय गर्ने बताए ।
हालसम्म नेकपाका कुनै पनि तहका सदस्यलाई भत्ताको व्यवस्था गरिएको छैन । नेकपा केन्द्रीय कमिटीमा अहिले ४४५ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्