राप्रपाले मात्रै मुलुकलाई समृद्ध बनाउन सक्छ : कमल थापा «

राप्रपाले मात्रै मुलुकलाई समृद्ध बनाउन सक्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले मात्रै मुलुकलाई समृद्ध र स्वाधिन बनाउने दाबी गरेका छन् ।
पार्टी सम्वद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरूसँग आइतबार भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्था र राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सबल, समुन्नत र स्वाधिन बनाउने बताएका हुन् ।
पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूलाई जनतामाझ जान आग्रह गर्दै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए । अध्यक्ष थापाले राप्रपाको एकतालाई चाँडो भन्दा चाँडो टुंगो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने पनि बताए ।
गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए । बैठकमा सहभागी जनवर्गीय संगठनका नेताहरूले पनि पार्टीको सिद्धान्त र विचारलाई स्थापित गरी सांगठनिक गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्