‘अट्रिटिज अनदि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन «

‘अट्रिटिज अनदि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन

पाँचौं संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ६४६ पृष्ठको ‘अट्रिटिज अनदि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तकको विमोचन गरे । भौतिक दूरी कायम राख्दै सानो समूहको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा उक्त पुस्तक विमोचन भएको हो ।
विमोचन समारोहमा प्रधानमन्त्रीले नेपालको नयाँ संविधान नेपाली जनताको सार्वभौमसत्तामा आधारित भएको तथा यसबारे सबैलाई जानकारी गराउनु जरुरी भएको उल्लेख गरे । यसको स्थायित्वका लागि संविधान निर्माण गर्ने शक्तिहरु सबैको भूमिका आवश्यक छ । यसको कार्यान्वयनबाट नागरिकको सुरक्षा, विभेद तथा त्रासरहित जीवन, मानवोचित सम्मान, रास्ट्रिय समृद्धि तथा रास्ट्रियताको जगेर्ना हुने उनले स्पष्ट पारे ।

संविधानमा अपूर्णता देखिएमा संशोधन हुनसक्छ । स्थायित्वका नाममा संविधानमा गतिहीनता स्वीकार गरिँदैन । संशोधन परिमार्जन हुनसक्छ । तर, अर्काको प्रभावमा बहकिन नहुने उनको दृष्टिकोण थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको नयाँ संविधानको विशेषताहरुको चर्चा गर्दै सम्पूर्ण मुलुकले यसको कार्यान्वयन र संगठनिक विकासलाई जोडदिनु आवश्यक भएको उल्लेख गरे । यो धेरै विशिष्ट प्रकारको संविधान हो । यसको सफलताका लागि सक्षम तथा फुर्तिलो प्रशासन तथा निरन्तर क्षमता अभिवृद्धि जरुरी छ ।
विमोचित पुस्तकको सम्पादक संविधानविद् डा. विपिन अधिकारीले नेपालको संविधान २०७२ को उचित कार्यान्वयनका लागि यसको व्याख्या र विश्लेषण महत्वपूर्ण हुने कुरामा जोड दिएका छन् । उनको भनाइमा “यो संसारको सबैभन्दा नयाँ संविधान हो र यसले दुई–दुई पटकको संविधानसभाका माध्यमबाट व्यक्त भएका जनताको आशा र चाहनाको प्रतिनिधित्व गर्छ । प्रकाशित पुस्तक यसकारण पनि विशेष छ कि संविधान जारी भएको पाँच वर्ष पुगेको र संविधान दिवस मनाइरहेको समयमा यो प्रकाशित हुँदैछ । यसले चुनौती तथा सम्भावना दुवैलाई उचित रूपमा विश्लेषण गर्छ ।”
शनिबार विमोचित पुस्तक नयाँ संविधानको विषयमा २०१८ अगस्तमा भएका प्रस्तुतिहरूमा तथा तिनमा गरिएका टिप्पणी तथा व्याख्यामा आधारित रहेको छ । पुस्तकले संविधान जारी भएपछिका पुगनपुग ३ वर्षमा देखिएका कार्यान्वयनका चुनौतिहरुका बारेमा समेत उल्लेख गरिएको छ । राष्ट्रपति विद्याभण्डारीद्वारा उद्घाटन तथा प्रधानमन्त्री ओलीको समापन मन्तव्य रहेको उक्त सम्मेलन नयाँ संविधानअन्तर्गत तीन चरणका चुनावहरू सम्पन्न भएपछि भएको थियो ।
पुस्तकमा संविधानका विभिन्न व्यवस्थाहरूको समीक्षा, प्रस्तुति तथा छलफलहरूका सांराश तथा २९ लेखकहरूका लेख समावेश छन् । यसरी समावेश भएका लेखमा नेपाल, दक्षिण एसिया तथा अन्य मुलुकका संविधान, न्याय, संविधानवाद, समाज विज्ञान र फरक मुलुकका अनुभवहरूलाई संविधानलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने आधार बनाइएको छ । संविधानवादको तुलनात्मक अध्ययनदेखि नयाँ संविधानका महत्वपूर्ण विषयवस्तु र समेटिएको काम तथा समग्रमा, लेखहरूले संविधानको मूल अर्थ र भावना अनुरूप लागू गर्नेतर्फ संकेत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्