एनआरएनए बौद्धिक बहस : विदेशमा सिकेको ज्ञान नेपालमा कसरी प्रयोग गर्ने ? «

एनआरएनए बौद्धिक बहस : विदेशमा सिकेको ज्ञान नेपालमा कसरी प्रयोग गर्ने ?

अमेरिका- गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार ब्रेन गेन विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौती विषयक कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त भर्चुअल कार्यक्रममा नेपाललगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरूको सहभागिता थियो । डा. उत्तम गौलीले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै ब्रेन गेन सेन्टरका कोअर्डिनेटर सन्तोष गौतमले विदेशी भूमिमा रहेका नेपालीहरूलाई कुनै न कुनै हिसाबमा नेपालसँग जोड्न ब्रेन गेन सेन्टरले पुलको भूमिका खेल्ने बताए ।
इमेल तथा विभिन्न माध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका बौद्धिक नेपालीहरूसँग सम्पर्क गर्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको उनले उल्लेख गरे ।
सेन्टरले रिटर्नीहरूका लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको तर कोभिड–१९ का कारण ती कार्यक्रम सञ्चालन गर्ने समय केही पछाडि धकेलिने अवस्था सिर्जना भएको उनले जानकारी दिए ।
“को कहाँ हुनुहुन्छ ? उहाँहरूको विज्ञता कस्तोे छ भनेर हामी खोजी गर्छौँ । देशभित्र र बाहिरका विज्ञहरूलाई जोड्ने तथा उहाँहरूलाई प्रोत्साहन गर्ने ब्रेन गेन सेन्टरले गर्छ,” सेन्टरका कोअर्डिनेटर सन्तोेष गौतमले जानकारी दिए ।
कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अस्ट्रेलियाका उपाध्यक्ष मन केसीले नेपालीहरू विश्वका जुनसुकै स्थानमा भए पनि नेपालभित्र अप्ठ्यारो परेको अवस्थामा सक्दो रूपमा आफ्नो अनुभव र ज्ञानलाई प्रयोग गर्न तत्पर रहेको र एनआरएनएले पनि यसका लागि सहयोग गर्ने बताए ।
परराष्ट्र मन्त्रालयले अघि सारेको ब्रेन गेन सेन्टर निकै उपयोगी भएको तथा यसबाट विदेशमा रहेका नेपालीहरूले सिकेको ज्ञान, सीप, प्रविधिबाट नेपालले लाभ लिन सक्ने उनले जोड दिए ।
कार्यक्रममा बोल्दै अफ्रिकामा कार्यरत डा. सरिता पाण्डेले अफ्रिकामा रहेका नेपालीहरूले आफूले आर्जन गरेको ज्ञान हाइड्रोपावर, आइटी, इन्जिनियरिङ, कृषिलगायत अधिकांश क्षेत्रमा विदेशमा प्रयोग गरेको बताए । आफूले अफ्रिकामा बसेर पनि नेपालका लागि थुप्रै काम गरिरहेको र आवश्यक परेको अवस्थामा सहयोग गर्न तत्पर रहेको उल्लेख गरिन् ।
नेपाल आर्र्युवेद डाक्टर एसोसिएसनका अध्यक्ष डाः प्रकाश ज्ञवालीले गैरआवसीय नेपालीले सिकेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा प्रयोग गर्ने व्यवस्था संविधानमा नै व्यवस्था भएको बताए ।
“नेपालीहरूले विदेशमा सिकेका कुराहरूलाई प्रयोग गरेर देशले पनि केही सिक्न सक्ने देखिन्छ । विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिने र देशले पनि विदेशमा रहेका नेपालीहरूबाट लाभ लिन सक्ने अवस्था छ,” उनले भन ।
यसले समग्र मानव विकास गर्ने तथा विश्वमा नेपालीहरूको पहुँच बढाउने, बौद्धिक विकासका साथै अन्य विकासमा समेत सहयोग पुग्ने उनको जोड थियो ।
कार्यक्रममा बोल्दै क्लिनिकल साइक्लोजिस्ट डा. बैकुण्ठ सुवेदीले नेपालको शिक्षा भर्चुअल प्रविधिमा गइसकेकाले भर्चुअल प्रविधिबाट नै विदेशमै रहेर पनि नेपालका लागि योगदान पु¥याउन सकिने अवसर रहेको बताए ।
कार्यक्रममा अमेरिकन कर्नरका कोअर्डिनेटर ह्दयशकुमार केसी, युकेबाट डा. पुष्पराज पन्त, कर्णाली प्रदेशबाट अनन्तराज पन्तलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएनए एनसीसीका पदाधिकारीहरू तथा विभिन्न देशमा रहेका बौद्धिक व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्