सामाजिक सुरक्षाको योगदान रकम सरकारले ति-यो «

सामाजिक सुरक्षाको योगदान रकम सरकारले ति-यो

७० हजार भन्दा बढी श्रमिकका लागि ८५ करोड अनुदान निकासा

सरकारले लकडाउन अवधिमा श्रमिक र रोजगारदाताको दायित्वमा पर्ने सामाजिक सुरक्षावापत ८५ करोड रुपैयाँ बराबरको योगदान रकम श्रमिकका लागि निकासा गरेको छ । यसअघि बैशाखको १८ करोड रुपैयाँ बराबरको योगदान रकम निकासा भइसकेको छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा गर्नुपर्ने कुल ३१ प्रतिशत बराबर हुन आउने ८५ करोड २३ लाख ४० हजार निकासा गरेको हो ।
सरकारले अनुदानस्वरूप दिएको रकम आइतबार कोषले प्राप्त गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले लकडाउन अवधिभरका लागि नेपाल सरकारले बेहोर्ने व्यवस्था भएअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध भइ योगदान रकम जम्मा सुरु गरेका रोजगारदाता र श्रमिकको हकको खातामा जम्मा हुने बताए । “यो अनुदान वैशाख, जेठ र असार महिनाको लागि कुल सरकारबाट राहतस्वरूप प्राप्त भएका हो,” कार्यकारी निर्देशक ज्ञवालीले भने, “उक्त रकम कोषमा योगदानकर्ताका नाममा तत्काल जम्मा गरिने छ ।”
मन्त्रिपरिषद्को चैत्र १६ गतेको निर्णयानुसार कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम राहतको रूपमा नेपाल सरकारबाट नै हुने व्यवस्थाअनुरूप चैत महिनाका लागि १८ करोड ६६ हजार कोषमा निकासा भइसकेको छ । यो रकम भने कोषमा आबद्ध भई योगदान रकम जम्मा गर्न सुरु गरेका योगदानकर्ताका नाममा योगदान रकम यसअघि नै जम्मा गरी सकिएको उनले जानकारी दिए । सरकारले यससहित ४ महिनाको लगभग १ अर्ब ३ करोड रुपैयाँ अनुदानस्वरूप वितरण गरेको छ । यससँगै लकडाउन अवधिमा सामाजिक सुरक्षा योजनाको योगदान रकम र श्रमिकको संख्या पनि दोब्बरले वृद्धि भएको छ ।
लकडाउन अवधिमा सामाजिक सुरक्षा योगदानमा आवद्ध हुने श्रमिक योगदानकर्ताको संख्या दोब्बरले बढे पनि उनीहरूको योगदान रकम भने श्रमिक र रोजगारदाताको तर्पmबाट काटिएको छैन । विगत ५ महिनासम्म उद्योग प्रतिष्ठान सञ्चालन नभए पनि सामाजिक सुरक्षा योजनामा आवद्ध हुने श्रमिक कर्मचारी संख्या वृद्धि भएको छ । हाल कोषमा मासिक योगदान रकम काटिने श्रमिकको ंसंख्या ६३ हजार रहेको छ ।
कोषका अनुसार लकडाउन अघि ३३ हजार सूचीकरण भएको योजनामा आर्थिक क्रियाकलाप नभएको बेला समेत ३० हजार बढेका छन् । योगदानकर्ताको संख्या वृद्धिसँगै कोषमा सरकारले दिने योगदानसहित २ अर्ब ५८ करोड रुपैयाँ जम्मा भएको छ । हाल सरकारले दिने योगदानबाहेक कोषमा १ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ रहेको छ । रोजगारदाता २० र श्रमिकको दायित्वमा परेको ११ प्रतिशतसहित ३१ प्रतिशत रकम हाल सरकारले अनुदानको रूपमा दिएको पनि कोषले जनाएको छ । अर्थ मन्त्रालय विगत ४ महिनाको १ अर्ब रुपैयाँ बढी श्रमिकको योगदान रकम अनुदानको रूपमा दिएको छ । अर्थ मन्त्रालयले यसअघि वैशाख र आइतबार जेठ, असार र साउनको योगदान रकमवापत ८५ करोड कोषलाई दिएको हो ।
हाल कोषमा योगदानकर्तासहित १ लाख ७४ हजार ४ सय ७४ श्रमिक सूचीकृत भएका छ भने १२ हजार ७ सय रोजगारदाता आवद्ध भइसकेका छन् । लकडाउन अवधिमा भने १८१ प्रतिष्ठानमात्र सूचीकरण भएको कोषले जनाएको छ । हालसम्म ४०४ श्रमिकले विभिन्न ४ शिर्षकमा ८५ लाख ३६ हजार ८ सय ९९ रुपैयाँ बराबर दावी भुक्तानी लिइसकेका छन् । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी गर्नेको संख्या ३ सय ५० जनाले रहेको छ । यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा दाबी लिनेको संखया २६, आश्रित परिवार सुरक्षा दावी भुक्तानी ९ र उपदान दावी भुक्तानी संख्या १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्