पाँचखालमाथि लागेको विषादीको दाग मेटाउँदैछौं «

पाँचखालमाथि लागेको विषादीको दाग मेटाउँदैछौं

महेश खरेल, प्रमुख, पाँचखाल नगरपालिका

स्थानीय तह अधिकार सम्पन्न भएका छन् । संविधानले अधिकार निक्षेपण गरेकाले स्थानीय तहको जिम्मेवारी ठूलो छ । महामारी नियन्त्रणदेखि जनताका ससाना समस्याहरू समाधान गर्ने काममा स्थानीय तह व्यस्त देखिएका छन् । जनअपेक्षा पनि स्थानीय तहले प्रभावकारी काम गरोस् भन्ने छ । तर, यदाकदा स्थानीय तहका कामहरू अपेक्षाकृत भएको पाइँदैन । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकालाई वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ मा उत्कृष्ट घोषणा गरेको थियो ।
नगरमा विशेष आर्थिक क्षेत्र र महिला औद्योगिक ग्रामको काम सुरु भएको छ । त्यहाँ रोजगारी सिर्जना हुन्छन् । रोजगारीका लागि महिला तथा युवायुवतीलाई प्राथमिकतामा राखिएको छ । यस्तै सुनकोसी खानेपानी आयोजना सुरु भएको छ । सुनकोसी खानेपानी नपुग्ने ठाउँमा छुट्टै खानेपानीका योजनाहरू सञ्चालन गरेका छौं । प्रत्येक टोलमा सडक पु-याउने काम पनि भएका छन् ।
पूर्णकालीन राजनीति र समाजसेवामा समर्पित हुँदाहुँदै महेश खरेल स्थानीय तहको निर्वाचनमा पाँचखाल नगरको प्रमुखमा नेपाली कांग्रेसबाट विजय भए । पढाइ र व्यवसायका सिलसिलामा १४ वर्ष अमेरिका बसेका खरेलले एमबीएसम्मको अध्ययन गरेका छन् । उनी त्यहाँको व्यवसाय छाडेर २०६७ सालमा नेपाल फर्किए । पाँच वर्षको तलब–भत्ता सामाजिक काममा लगाउने बताउने खरेल बजेटको दुरुपयोग र मोजमस्तीमा रम्ने चाहना नभएको बताउँछन् । स्थानीय राजनीतिपछि केन्द्रीय राजनीतिमा फड्को मार्ने सोच बनाएका मेयर खरेलसँग स्थानीय तहको विकास, अवसर, समस्यालगायतका विविध विषयमा केन्द्रित भई काभे्रस्थित कारोबारकर्मी कपिल कोइरालाले गरेको कुराकानीको सार :

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरले कस्ता कदमहरू चालेको छ ?
हामी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नमा व्यस्त छौँ । कोरोना महामारीका कारण अघिपछिको जसरी नै काम गर्न सकिएको छैन । कोरोना भाइरस देखिएमा उहाँहरूलाई सुरक्षित तवरले राख्ने, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्ने भन्नेमा लागिपरेका छौँ । हाम्रोमा अहिले २० बेडको आइसोलेसन तयार पनि भइसकेको छ । ४५ बेडको क्वारेन्टाइन पनि अहिले हामीसँग तयारी अवस्थामा छ । अहिले हामी त्यहाँ रहनुभएका नागरिकलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामै व्यस्त छौँ । त्यसैगरी उच्च जोखिममा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरामा हामी लागिपरेका छौँ । योसँगै हामी अहिले विकास–निर्माणका कामहरू अगाडि बढाउनेतर्फ पनि उन्मुख छौँ । प्राविधिकहरूबाट यसको स्टिमेट तयार पार्ने, बजेट बनाउने काममा लागेका छौँ । हाम्रोमा गएको सातामात्र १५ वटा टेन्डर खोल्ने काम पनि गरेका छौँ । विगतका वर्षहरूमा दसैंपछाडि टेन्डर आह्वान गर्ने काम गरेका थियौँ भने अहिलेचाहिँ हामीले यसको काम सुरु गरिसकेका छौँ । नगरको आयस्रोत कसरी बढाउन सकिन्छ भन्नेमा पनि हामी लागिपरेका छौँ ।

यो अवस्थामा खासगरी शैक्षिक व्यवस्थापनको कार्य कसरी अघि बढेको छ ?
शिक्षाको कुरामा चाहिँ अहिले कोरोना भाइरसको समयमा पनि कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ लागेका छौं । यसमा हामीले अनलाइन र रेडियोहरूलाई छानेर त्यहाँबाट पढाउने काम गरेका थियौँ । अहिले भने केन्द्रीय सरकारका केही निर्देशन पालना गरेर हामीले यो प्रक्रिया रोकेका छौँ । हामीले शैक्षिक क्यालेन्डर प्रकाशन गर्ने काम र पुस्तक वितरणका काम गरिसकेका छौँ । अहिले भने हामी शिक्षालाई कसरी अगाडि बढाउन सक्छौँ भन्ने कुरामा लागेका छौँ । यसका माध्यमहरू पनि खोजी गरिरहेका छौँ । यो कोरोना भाइरसको विषम परिस्थितिमा झन् गा¥हो भएको छ । शिक्षाको क्षेत्रमा हामीले विद्यालय व्यवस्थापन समितिलाई तालिम दिने काम, भौतिक तथा गुणस्तर सुधारका काम गरेका छौँ । शिक्षकहरूलाई पनि विभिन्न विषयमा रहेर तालिम दिइरहेका छौँ । त्यस्तै पाँचखालमा नै मदन भण्डारी विश्वविद्यालय र काठमाडांै विश्वविद्यालय बन्दैछ । नगरपालिकाले संघ सरकारसँगको समन्वयमा सञ्चालन हुने गरी मदन भण्डारी विश्वविद्यालयलाई जग्गा उपलब्ध गराएको छ भने काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्न लागेको कृषि क्याम्पसका लागिसमेत जग्गा उपलब्ध गराइसकेका छौं । शिक्षासँगसँगै रोजगारीको पनि सिर्जना गरिरहेका छौं ।

नगरवासीको हित हुने गरी नगरले के–कस्ता विकास निर्माणलगायतका कामहरू गर्दैैछ ?
अघिल्ला वर्षहरूमा झैँ हामीले यो वर्ष पनि पूर्वाधार विकासमा जोड दिएर काम गर्ने योजना बनाएका छौँ । प्रत्येक वडामा एउटा पिच बाटो पु¥याउने हाम्रो लक्ष्य छ । मुख्य राजमार्र्गबाहेक नै हाम्रो नगरपालिकाका ६ वटा वडामा हामीले सडक कालोपत्रेको काम सिध्याएका छौँ । बाँकी रहेका ७ वटा वडामा पनि हामी सडक कालोपत्रे गर्ने कामलाई निरन्तरता दिँदैछांै । यसमा पनि हामीले पाँचखालका कुनाकाप्चामा रहेका ठाउँहरूलाई विशेष प्राथमिकतामा राखेका छौँ । किनभने हाम्रो उद्देश्य भनेको कालोपत्रे सडक देख्नका लागि हाम्रो नगरका कुनै पनि नागरिक पलान्चोक क्षेत्र वा तामाघाट क्षेत्र पुग्नु नपरोस् भन्ने हो । यहीअनुसार हामीले सडकको काम अगाडि बढाएका छौँ । हामीले नगरभित्रको सबै कुरामा पछाडि परेका र विकट क्षेत्रलाई छनोट गरेका छौँ ।
अहिले सुनकोसी खानेपानी आयोजना अगाडि बढाइरहेका छौँ । यो आयोजना पाँचखालको गौरवको आयोजना रहेको छ । यसमा हामीले हरमुस्किलको सामना गर्दै निर्माणको कामलाई अगाडि बढाएका छौँ । अहिले त्यहाँ निर्माण हुने ठाउँमा हामीले बाटो पु-याउने काम गरिरहेका छौँ । यसैगरी कोसीदेखाका लागि पनि छुट्टै आयोजना छ । केही समयमा नै हामी सबैको घरमा खानेपानी पु¥याउनेछौँ र उहाँहरूले स्वस्थ खानेपानी खान पाउनुहुनेछ ।
यस्तै स्वास्थ्यको क्षेत्रमै कोरोनाबाहेक मोतीबिन्दुमुक्त नगर बनाउन लागेका छौँ । विगत तीन वर्षदेखि नै यस कार्यमा केन्द्रित छौँ । उपप्रमुखज्यूको पनि छुट्टै कार्यक्रम छ । प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माणको काम गरेका छौँ । त्यसैगरी ७० वर्ष नाघेका वृद्धवृद्धाका लागि पनि वार्षिक रूपमा स्वास्थ्य जाँच गराउने कुरामा हामी लागिपरेका छौँ । अत्यावश्यक सेवाहरू चाहिँ चौबीसै घण्टा उपलब्ध गराएका छौँ । त्यसैगरी एम्बुलेन्स पनि चौबीसै घण्टा उपलब्ध छ ।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण कसरी गर्ने ?
पहिले म कृषि यान्त्रिकीकरणको कुरालाई जोड्न चाहन्छु । यसमा हामीले हाते ट्र्याक्टर वितरणको काम गरेका थियौँ । यसमा पनि विशेषगरी अहिले ठूला ट्र्याक्टरका कुरामा हामी कसरी वितरण गर्न सकिन्छ भनेर लागेका छौँ । यो कार्यक्रमबाट लगभग ५ सय किसान लाभान्वित हुनुभएको छ । यसैगरी पिछडिएका वर्गका लागि पशुपन्छीका कार्यक्रम अगाडि बढाएका छौँ । यसमा विभिन्न संघसंस्थाको सहयोगमा पनि काम गरेका छौँ । जस्तै बाख्रापालन तथा पाडापाडी वितरणका कामहरू पनि गर्न खोजिरहेका छौँ । मौरीपालनका कुराहरू भए । विभिन्न ठाउँलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने भनेर लागेका छौँ । तर, यो व्यवसायीकरणका कार्यक्रम ल्याइरहँदा बजारीकरणका कामहरू गर्नचाहिँ अलि समस्या नै हुने रहेछ, तर यहाँ उत्पादन भएका तरकारीलाई टाढाटाढासम्म पु-याउनका लागि हामी लागिपरेका छौँ । अहिले किसानहरूलाई मलको अत्यधिक समस्या परेका कारण हामी यसको समाधानतर्फ लागेका छौँ । यो वर्षदेखि कृषकसँग मेयर कार्यक्रम सञ्चालन गर्दैछौं । यसअन्तर्गत सबै वडामा पुगेर कृषकका समस्याका विषयमा अन्तत्र्रिmया गर्छौं । नगरपालिकाभित्र १ सय ८ स्थानमा पोखरी बनाउँछौं । कतिपय पोखरी बनिसकेका पनि छन् । अहिले पनि दुलालथोकमा १२ लाख पानी रिचार्ज हुने गरी पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । झिंगु खोलामा ड्याम बाँध्ने र त्यहाँको पानीलाई कृषिमा कसरी सदुपयोग गर्ने भनेर डीपीआर तयार भएको छ । खानेपानी र कृषिलाई ध्यान दिएर काम भइरहेको छ ।

पाँचखाललाई काठमाडौं उपत्यकापछिको अर्को व्यवस्थित कृषियोग्य उपत्यका बनाउन सकिन्छ भन्ने जानकारले बताइरहेका छन्, पछिल्लो समय इँटाभट्टा सञ्चालन गर्न थालेपछि पाँचखाल प्रदूषित भएको छ, यसको समाधान कहिले खोज्ने ?
यस विषयमा हामीले गम्भीर रूपमा चासो दिएका छौं । हामी आउनुपूर्व नै यहाँ भट्टा चलिरहेका थिए । म आएपछि कुनै इँटाभट्टा सञ्चालनको स्वीकृति दिएको छैन र दिन्नँ पनि । हामीले इँटाभट्टा सञ्चलान गर्ने कार्यविधि र ऐन बनाइसकेका छौं । अब यहाँका भट्टा व्यवस्थित हुन्छन् । मापदण्ड पूरा नगरेका चल्न दिँदैनौं । नयाँ भट्टा खोल्न पनि दिँदैनौं । प्रदूषण गर्ने एउटा प्लाई कारखाना भने बन्द गराइसकेका छौं ।

पाँचखालको तरकारीमा विषादीको मात्रा धेरै छ भन्ने गरिन्छ, यसलाई नियन्त्रण गर्दै निर्मूल गर्न नगरले के पहलकदमी लिएको छ ?
हामी त्यो परिभाषा बदल्दैछौं । पाँचखालले आफूमाथि लागेको विषादीको दागलाई कम गर्दै लगेको छ । सामान्यतया ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारीहरू खानयोग्य हुन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएका तरकारी केही दिन पर्खेर खान सकिने खालका हुन्छन् । ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी खान योग्य हुँदैनन् । पाँचखालका तरकारीमा ११ प्रतिशत मात्र विषादी प्रयोग भएको छ । विषादीको प्रयोग घटाउन र उत्पादकत्व बढाउन पाँचखालका १ सय ठाउँको माटो परीक्षण गरेर माटो सुधारको काम सुरु भएको छ । यसका लागि कृषकलाई १ लाख किलो चुन नगरपालिकाले वितरण गरेको छ । जाइकाको सहयोगमा ६ सय अगुवा किसानलाई अर्गानिक मल र विषादी बनाउने तालिम दिइएको छ । नगरकै प्राङ्गणमा माटो परीक्षण गर्ने ल्याब सञ्चालन गरेका छौं ।

बेरोजगार युवायुवतीलाई कसरी रोजगारी सिर्जना गर्दै हुनुहुन्छ ?
रोजगारी सिर्जना मेरो मुख्य प्राथमिकता हो । चुनावका बेला मैले यस नगरमा ५ वर्षमा ३ हजारलाई रोजगारी दिने प्रतिबद्धता गरेको थिएँ । अबको बाँकी समयसम्म त्यो प्रतिबद्धता पूरा हुन्छ । हालसम्म करिब ४ सयलाई विभिन्न ठाउँमा रोजगारीका लागि व्यवस्थापन भएको छ । म नगरप्रमुख भएपछि शिलान्यास गरेको भेटेरिनरी उद्योगमा थप ३ सय ५० लाई रोजगारी दिने गरी सञ्चालनमा आउँदैछ । निरन्तरको घचघच्याइबाट सरकारले निर्णय गरेको धेरै पछि कार्यान्वयनमा आउन नसकेको विशेष आर्थिक क्षेत्र सेजका लागि जमिनको व्यवस्था तथा भवन निर्माणका काम भइरहेका छन् । निर्माण सम्पन्न भएपछि ५७ उद्योगबाट धेरै रोजगारी सिर्जना हुन्छ । पाँचखालमै महिला हरित औद्योगिक ग्राम निर्माणको काम सुरु भएको छ । औद्योगिक ग्राममा पाँचखालको कृषि उपजलाई प्रवद्र्धन गर्नका लागि हरित महिला उद्यमी केन्द्र बनाएर रोजगारी र यहाँको उत्पादन देश विदेशमा पठाउने योजना छ । महिलाले मात्र उद्यम सञ्चालन गर्न पाउने र महिला कामदार रहने गरी टमाटरको केचप, आलुको चिप्स र लप्सीको माडालगायतका उत्पादन र प्याकेजिङ गर्ने उद्यम केन्द्र बन्छ । मदन भण्डारी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको निर्माणपछि स्थानीय धेरैले रोजगारीको अवसर पाउनेछन् । विभिन्न योजनाहरू पूरा हुन पाए भने काठमाडौंको विकल्पमा पाँचखाल सहर बन्छ ।

भू–उपयोग नीति तयार गरी बस्ती, खेती, औद्योगिक, पार्क र वन क्षेत्र घोषणा गर्ने कार्य कहाँ पुग्यो ?
यसको पनि पूरै तयारी भइसकेको छ । भू–उपयोग नीति तयार भइसकेको छ । कार्यान्वयनको चरणमा जानका लागि भने अहिले कोरोना भाइरसका कारण अलि समस्या भइरहेको छ । कोरोना भाइरस अलि साम्य हुनासाथै हामी कार्यान्वयनको चरणमा अगाडि बढ्नेछौँ । घोषणको काम चाँडै नै हुनेछ । यसअघि नै हामीले पाँचखाल नगरपालिकाभित्र रहेका खेतीयोग्य जमिनमा प्लटिङ गर्न रोकेका छौं ।

महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि केके कार्यक्रमहरू छन् ?
लक्षितवर्गका लागि पनि हामीले कार्यक्रम बनाएका छौँ । सीपमूलक तथा जनचेतनामूलक कार्यक्रमहरू ल्याएका छौँ । महिलाहरूलाई विशेषगरी साबुन बनाउने, क्रिस्टलको माला बनाउने, स्वेटर बनाउने, ब्युटिपर्लर तालिमलगायतका सीपमूलक कार्यक्रम सञ्चालन भएका छन् । दलित समुदायका लागि पनि उस्तै कार्यक्रम छन् । पछाडि पारिएका वर्ग र बालबालिकाका लागि पनि उस्ताउस्तै कार्यक्रम छन् । उहाँहरूको अधिकारका कुरालाई हामी प्राथमिकताका साथ अगाडि बढाइरहेका छौँ । बजेट पनि राम्रै छ ।

नगरप्रति जनताको दृष्टिकोण कस्तो छ भन्नेमा तपाईंले के विश्लेषण गरिरहनुभएको छ ?
जनता खुसी छन्-छैनन् भन्ने तपाईंहरूजस्तो मिडिया, यहाँका नागरिक समाज र जनताले मूल्यांकन गर्ने कुरा हो । अझ यो प्रश्न तीनै जनतासँग लिनुभए राम्रो । तर, जहाँसम्म हामीले गरेको कामप्रति उहाँहरू खुसी हुनुहुन्छ । हामीले आफूलाई दिएको अधिकारमा टेकेर काम गरेका छौं । नगरपालिकाको बजेट दुरुपयोग हुन दिएको छैन । अर्को कुरा, मैले सकेसम्म चुनावमा जसरी अहिले पनि टोलटोलमा पुगेर स्थानीयका समस्या सुन्ने गरेको छु । उहाँहरूका हरेक समस्यामा सारथि बनेको छु । उहाँहरूका समस्यामा केन्द्रित रहेर काम गर्दा खुसी लागिरहेको छ । यसअघिको सरकारले धेरै काम नगरेका कारण जनप्रतिनिधिप्रति जनताको ठूूलो अपेक्षा थियो । जनतालाई मर्का पर्ने काम हामीले गरेका छैनौं । म जनताको सेवक हुँ, शासक हैन । सबै जनप्रतिनिधिमा सेवक हुँ भन्ने सोच र भावना हुन जरुरी छ । यो अवधिमा राम्ररी काम गर्ने हो भने नाम पनि रहन्छ र जनता पनि खुसी हुन्छन् । मैले यो अवधिमा चुनावमा उठाएका सबैजसो योजनामा केन्द्रित रहेर काम गरिरहेको छु र गर्छु ।

चुनावताकाका आश्वासन पूरा हुन्छन् त ?
चुनावताका पनि हामीले पूरा नहुने कुनै वाचा गरेका थिएनौँ । अनर्गल प्रचार गरेर चुनाव जितेका पनि होइनौं । त्यसो भन्दैमा वाचा नगरेका पनि होइनौं । वाचा थिए । हाम्रो कार्यकाल अझै बाँकी छ । त्यसो भएकाले हामीले गर्ने काम पनि अझै बाँकी छ । चुनावका बेला हामीले जनतालाई दिएको आश्वासन पूरा गर्ने सक्दो प्रयास गरेका छौं र हामी हाम्रो कार्यकालभित्रमा हाम्रो यो वचनलाई पूरा गर्नेछौँ । खानेपानी र सडक निर्माणमा अहिले हामी केन्द्रित छौँ । हामी हाम्रो आश्वासन पक्कै पनि पूरा गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस्