अमेरिका–चीनबीचको लगानी दसककै न्यून «

अमेरिका–चीनबीचको लगानी दसककै न्यून

वासिङटन-रोडियम ग्रुपको एक नयाँ रिपोर्टले चालू वर्षको सुरु अर्धवार्षिक अवधिमा अमेरिका–चीनबीचको लगानी १०.९ अर्ब डलरले घटेको देखाएको छ । यो २०१६ मा उचाइमा पुगेको समयमा २६ अर्ब डलर थियो ।
गैर नाफामूखि संस्था नेशनल कमिटी अन यूएस–चाइना रिलेसन्सले संचालन गरेको अनुसन्धानका अनुसार चिनियाँ कम्पनीहरुले अमेरिकामा ४.७ अर्ब डलरको ठूलो हिस्सा मात्रै प्रत्यक्ष लगानी गरेका छन् । चिनियाँ प्रविधि कम्पनी टेनसेन्टले मार्चमा युनिभर्सल म्यूजिक ग्रुपको अल्पसंख्यक हिस्साका लागि ३.४ अर्ब डलर भुक्तानी गरेपछिको समयमा यो लगानी भएको थियो ।
ट्रम्प प्रशासनले चिनियाँ लगानी विशेषगरी प्रविधि उद्योगमा व्यापक रुपमा प्रतिबन्धात्मक नीतिहरु अंगिकार गरेकाले यो अवस्था आएको लेखकहरुले रिपोर्टमा उल्लेख गरेका छन् ।
यसैगरी अमेरिकी कम्पनीहरुले चीनमा गरेको लगानी सुरु ६ महिनाको अवधिमा ४.१ अर्ब डलरमा झरेको छ । चीनमा अमेरिकाको संयुक्त पुँजी लगानी पनि उल्लेख्य रुपमा ओरालो लागेको छ । प्रविधि सम्झौतामा व्यापक कमी आएको र महामारीका कारण यसो हुन गएको हो ।
ट्रम्पले अमेरिका–चीनबीचको आर्थिक सम्बन्धलाई पूर्ण रुपमा रोक्ने प्रयास जारी राखे बावजुद दुवै मुलुकका कम्पनीहरु एक–अर्काको बजारप्रति प्रतिबद्ध रहेका छन् ।
चाइना जनरल चेम्बर अफ कमर्शले गत साता सार्वजनिक गरेको वार्षिक सर्भे अनुसार अमेरिकामा संचालनमा रहेका १,००० भन्दा बढी चिनियाँ कम्पनीका कार्यकारी मध्ये ९० प्रतिशतले आगामी वर्ष अमेरिकामा गरिने लगानी समान वा बढ्ने अपेक्षा गरेको बताएका छन् ।
यसैगरी चीनमा संचालनमा रहेका १,४०० अमेरिकी कम्पनीहरु मध्ये केवल ४ प्रतिशतले मात्रै चीनबाट अन्यत्र सर्ने योजना बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्