मालपोतको लिखत र निवेदन स्थानीय पालिकाबाट «

मालपोतको लिखत र निवेदन स्थानीय पालिकाबाट

काभ्रे-मालपोत कार्यालय काभ्रेमा जग्गा पास गर्न स्थानीय तहबाटनै निवेदन र लिखत तयार हुने भएको छ । मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीय तहबाटै हुने भएको हो । असोज १ गतेबाट जिल्लाका १३ वटै पालिकाहरु मार्फत भू–सेवा केन्द्र अन्तर्गत निवेदन र लिखतको काम सुरु भएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख ऋषिकुमार दाहालले जानकारी दिए ।
दाहालका अनुसार बुधबार ३ वटा पालिकाले काम गर्नका लागि भू–सेवा केन्द्र सञ्चालन अनुमति पत्र बुझेका थिए भने अन्यको पत्र पनि तयार भइसकेको छ । “तीनवटा पालिकाले भू–सेवा केन्द्र सञ्चालन अनुमति पत्र लगे, अरुले पनि लानको लागि फलो भइरहेको छ”उनले भने, “दुई तीन दिनभित्र सबै पालिकाले हस्तान्तरण हुन्छ ।”
सरकारले यो वर्ष ६० वटा मालपोत कार्यालयको काम स्थानीय तहमार्फत गर्ने निर्णय गरेको थियो । अहिले पहिलो चरणमा स्थानीय तहहरुले अनलाइनमा भएको फारम भरेर मालपोत कार्यालयमा निवेदन र लिखत पठाउनुपर्नेछ । स्थानीय तहले निवेदन र लिखत फारम भरिसकेपछि मालपोतको अनलाइनमा अपलोड गरिदिनुपर्नेछ । भू–सेवा केन्द्रमा केन्द्रमा जग्गा प्रशासनको काम अनलाइनमार्फत गर्नका लागि लिखत गरिने र त्यो लिखत गर्न यसअघि मालपोत कार्यालयले गत वर्ष ५२ जना र यो वर्ष ३ जना व्यक्ति तथा कानुन व्यवसायीलाई अनुमति दिइएको थियो ।
मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनका लागि प्रारम्भिक चरणमा गत साउन १५ र १६ गते तालिम दिइसकेको छ । स्थानीय तहका कर्मचारीलाई तालिम दिनको लागि मालपोत कार्यालयकै कर्मचारी रामभक्त हुमागाई र नारायण भण्डारीले केन्द्रमै गएर तालिम लिएका छन् । तालिम लिएकामध्ये भण्डारी मालपोत कार्यालय चाबहिल सरुवा भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको तालिममा स्थानीय तहका कर्मचारीसहित आइटी अफिसरहरुलाई तालिम दिइएको सूचना प्रविधि कर्मचारी रामभक्त हुमागाईले जानकारी दिए । तालिममा स्थानीय तहका ४० जना सहभागी थिए ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्