सौर्य एयरले तीनवटा सिआरजे–२०० विमानबाट सेवा दिँदै «

सौर्य एयरले तीनवटा सिआरजे–२०० विमानबाट सेवा दिँदै


निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलायन्सले असोजको दोश्रो साताबाट पाँच गन्तव्यमा उडान भर्ने तयारी गरेको छ । लकडाउन पछि सेवा सञ्चालनको तयारी पूरा गरेर ट्रंक रुटमा पाँचवटा गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिए । “असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,” अध्यक्ष पोख्रेलले भने, “केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं । साथै चाँडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफनो बजार विस्तारका लागि अझ आक्रामक रुपमा आउनेछौं ।”
उनका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एउटा, विराटनगर तीन वटा, भैरहवामा दुई वटा, नेपालगञ्ज दुई वटा र धनगढीमा दुई वटा वटा गरी दैनिक दश वटा उडान हुनेछ । ६ वर्षदेखि सञ्चालनमा रहेको सौर्य एयरलाइन्सले लकडाउनको बेला बन्द भएको सेवा सुरु गर्ने भएको छ । सौर्य एयरलाइन्सले डेढ वर्ष अघिदेखि भारतको कुवेर समूहलाई नयाँ साझेदार भित्र्याएर कम्पनी सञ्चालन गरिरहेको छ । कुवेर समूहका विकास मालुले भारत र दुवईमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।
यो समूहले दश वटा नयाँ जहाज खरिद गरी आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर सौर्य एयरलाइन्समा आएको कम्पनीले जनाएको छ । सौर्य एयरसँग यसअघि दुईवटा विमान सञ्चालनमा थिए । क्यानडाको बम्बार्डियर कम्पनीका सिआरजे–२०० जेट इन्जिनका जहाज थिए । लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा एयरलाइन्सले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न लागेको छ । “हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं,” पोखरेलले भने, “पूर्णरुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं ।”

प्रतिक्रिया दिनुहोस्