संविधान राज्यको रूपान्तरणको आधारस्तम्भ «

संविधान राज्यको रूपान्तरणको आधारस्तम्भ


संविधान दिवस, २०७७ को अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले शुभकामना दिदै नेपालको संविधान संवैधानिक परिवर्तनको दस्ताबेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय व्यवस्था र सामाजिक, सांस्कृतिक रूपान्तरणको आधारस्तम्भ पनि भएको बताएका छन । ऐतिहासिक संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयनकोे पाँचौं वर्ष पूरा भएको भन्दै उनले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएको दिनको सम्झना र सम्मानमा यस विशेष दिनलाई संविधान दिवस अर्थात् राष्ट्रिय पर्वकोे रूपमा हामीले मनाउँदै आएको स्मरण पनि गरे ।
संविधानसभाबाट संविधान निर्माण हुने अवस्थासम्म ल्याउन र निर्माणको प्रक्रियामा आ–आफ्ना तहबाट भूमिका निर्वाह गर्नुहुने सम्बद्ध सबैको योगदानको स्मरण गर्दै उनले संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य तथा मान्यतालाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको बताए ।
संविधानवाद्, समानता र न्यायलाई संविधानले मूल यसको आत्माको रुपमा ग्रहण गरेको छ, उनले भने, साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने एवम् सामाजिक न्यायको सुनिश्चितता गर्ने उद्देश्य संविधानले लिएको छ ।
नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका सदैव क्रियाशील रहँदै आएको भन्दै प्रधान न्यायाधीश राणाले न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्