जहाँ समस्या, त्यहाँ समाधान «

जहाँ समस्या, त्यहाँ समाधान

प्रदेश– १
जिल्ला – मोरङ
पालिका – विराटनगर महानगरपालिका
वडा संख्या – १९
क्षेत्रफल – ७६.९९ वर्ग किलोमिटर
घरधुरी संख्या – ४७,७९८ (२०६८ को जनगणनाअनुसार
जनसंख्या – २,१४,६६३ (२०६८ को जनगणना)
महिला – १,०५,८३६ (२०६८ को जनगणना)
पुरुष – १,०८,८२७ (२०६८ को जनगणना)

महानगरको डिजिटल प्रोफाइलअनुसार
व्यक्तिगत घरधुरी – ५१ हजार ५ सय ४२
संस्थागत घरधुरी – ११ हजार ६ सय २४
जनसंख्या – ३ लाख ५ हजार ९७

सिमाना
पूर्व – कटहरी र जहदा गाउँपालिका
पश्चिम – सुनसरी जिल्ला
उत्तर – बूढीगंगा र ग्रामथान गाउँपालिका
दक्षिण – भारत
चालु आर्थिक वर्ष २०७७-०७८ को बजेट – ३ अर्ब ३७ करोड ८१ लाख १० हजार
विमानस्थल – १
मेडिकल कलेज – २
विश्वविद्यालय – १
भन्सार नाका – १
पहिचान – औद्योगिक क्षेत्र

विराटनगर महानगरका अधिकांश सडक खाल्टैखाल्टा थियो । जनप्रतिनिधिहरूको आँखा चाहिँ त्यही सडकमा प-यो । जहाँ समस्या, त्यहाँ समाधान भनेझैं तिनको पहिलो निर्णय नै महानगरका सडकलाई खाल्टाखुल्टीविहीन बनाउने भयो । करिब २० वर्षसम्म कर्मचारीको नेतृत्वमा रहेका साविकका स्थानीय निकाय स्थानीय तहमा परिणत भएपछि आएका जनप्रतिनिधिलाई भने केही समय त अवस्था बुझ्नै लाग्यो भन्ने सुनाउँछन् महानगर प्रमुख भीम पराजुली । “हालसम्म १ सय ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ,” पराजुली भन्छन्, “कार्यकालमा २ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेका छौं ।” ३ वटा आकाशेपुल, १८ करोडको लगानीमा वीरेन्द्रसभागृहको पुनर्निर्माण, विराटनगर प्रदेश गर्ने उत्तर र दक्षिणको गेट निर्माण गर्ने योजना, उनले भने, यस्तै जाइकाको ५ अर्बको सहयोगमा विराटनगरका वृहत खानेपानी परियोजना अघि बढेको छ ।
पुरातात्विकमा सम्पदामा सूचीकृत हुन नसकेको विराटराजाको दरबारलाई अहिले सूचीकृत भएको छ । महानगर यो क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजनामा छ । सोहीअनुसार डीपीआर तयार भइरहेको छ । कोरियन सरकारको सहयोगमा फोहोर व्यवस्थापनको काम अगाडि बढेको छ । जसका लागि डीपीआर तयार हुँदैछ । यस्तै विराटनगर विमानस्थलका लागि ६८ बिघा जग्गाको मुआब्जा वितरण, नहर र घोगा पैनीलाई वैकल्पिक मार्ग, टर्मिनल बसपार्क, ३२ वटा घर बनाएर मुसहरलाई हस्तान्तरण गरिसकेको पराजुली बताउँछन् । भन्छन्, “हामीले गरेजति कामको प्रचारप्रसार हुन सकेको छैन ।”
विराटनगर–५ मा गरिबका लागि ५० वटा घर निर्माणाधीन अवस्थामा छ । एक वडा एउटा पार्कको अवधारणाअनुसार धमाधम पार्कहरू बन्दैछन् । वीरेन्द्र सभागृह दक्षिणमा इको फाउण्डेन पार्क निर्माण गरेर सञ्चालनमा आइसकेको छ । जहाँ साँझ–बिहान घुमघाम र आराम गर्न महानगरवासीलाई सहज भएको छ । विराटनगर–३ मा प्रदर्शनीस्थलको निर्माण प्रक्रिया अगाडि बढेको छ । अघिल्लो वर्ष नेपालमै पहिलोपटक विराटनगरमा साफ महिला फुटबल सम्पन्न भयो । जसमा महानगरको भूमिका महत्वपूर्ण रह्यो । विराटनगर–१९ मा क्रिकेटको पिच धमाधम बन्दैछ । विराटनगर–७ मा ब्याडमिन्टन कवर्डहल, ८ नम्बर वडाको हाटखोला मैदानमा फुटबलको प्रशिक्षण सेन्टर, सहिद रंगशालामा चेन्जिङ रुम, १–१ वटा मदरसा, संस्कृत र बहिरा विद्यालयसहित १० विद्यालयलाई नमुना विद्यालय बनाएका छौं । शिक्षा र स्वास्थ्यमा सुधार नभएसम्म विकास हुँदैन । हामीलाई त्यसलाई राम्ररी बुझेका छौं । आदर्श बालिका विद्यालयलाई छात्रा प्राविधिक विद्यालय र महेन्द्र माविलाई आवासीय मावि बनाउने काम भएको छ । विराटनगर–१५ र १९ मा १५ बेडको अस्पताल बन्दैछ । विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा छ । सबै वडामा उपस्वास्थ्य केन्द्र सँगसँगै सुगर प्रेसरको निःशुल्क चाँचको व्यवस्था मिलाइएको छ । साथै भिडियो एक्से–रे पनि स्वास्थ्य केन्द्रहरूबाटै उपलब्ध गराउने योजना छ ।
निकट भविष्यमा महानगरको आफ्नै फार्मेसी खोल्ने गरी काम अगाडि बढिसकेको छ । महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने गरी रेडक्रससँग सम्झौता गरिसकेका छौं । त्यसका लागि रेडक्रसलाई महानगरले एकमुष्ट रकम उपलब्ध गराउँछ । मृत्युका मुखमा पुगेका व्यक्तिहरूको रेखदेख र हेरचाहका लागि छुट्टै केन्द्र बनाउने बजेटमै समेटेका छौं । सिंघिया र केशलिया खोलामा संघीय र प्रदेश सरकारको सहयोगमा तटबन्ध निर्माणको प्रक्रिया अगाडि बढेको छ । गरिब र अशक्तहरूको अन्त्येष्टिमा महानगरले नै निःशुल्क रूपमा दाउराको व्यवस्था मिलाइरहेको छ । विराटनगर चाँडै नै नेपालकै पहिलो बालमैत्री सहर हुँदैछ । अब दुईवटा वडा मात्रै बालमैत्री हुन बाँकी छ । विराटनगर–१ मा बालउद्यन र सूचना केन्द्र स्थापना गरेका छौं ।
समुदायस्तरमा फैलिरहेको कोभिड–१९ को संक्रमण अवस्थालाई मध्यनजर गरी निजी क्षेत्र र नागरिक समाजका तर्फबाट मूल्य अभिवृद्धि करसहित ३१ लाख ६४ हजारको १ थान पीसीआर मेसिन महानगरपालिकामार्फत कोशी अस्पताललाई सहयोग स्वरूप उपलब्ध गराइएको छ । मूल्य अभिवृद्धि करसहित ३२ लाख बराबरको १ थान आर.एन.ए. एक्स्ट्राक्सन मेसिनसमेत कोशी अस्पताललाई हस्तान्तरण गरिएको छ । अमेरिकन ब्राण्डको हाइमिडिया कम्पनीको आरएनए एक्स्ट्राक्सन मेसिन सञ्चालनमा आएपछि २४ घण्टामा १ हजारभन्दा बढीको परीक्षण भइरहेको छ । सीमित स्रोत साधनका बाबजुत पनि महानगरमा विकासले गति लिदै थियो । तर, पछिल्लो समय कोरोनाको महामारी फैलिएपछि भने प्रभावित बन्न पुग्यो । सम्पूर्ण जनप्रतिनिधिको ध्यान महामारी नियन्त्रणमै केन्द्रित छ । अहिले महानगरको सम्पूर्ण ध्यान कोडिभ–१९ को रोकथाम नियन्त्रणमा केन्द्रित छ । त्यसो त महानगरकी उपमेयर इन्दिरा कार्कीको पनि कोभिड–१९ विरुद्धको लडाइँमा स्थानीय तहको भूमिका अहम रहेको तर्क छ ।
“टिमवर्ककै कारण महानगरको कामले गति लिएको छ,” कार्की भन्छिन्, “जति गर्नुपर्ने थियो त्यति गर्न सकिएको छैन । तर, सीमित स्रोत साधनबाट महानगरमा धेरै काम भएका छन् ।” महानगरले २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको मान्न सकिन्छ । अभियानअन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई ३ हजार सुत्केरी खर्चबापत दिने गरिएको छ । त्यस्तै दोस्रो सन्तान पनि छोरी भएमा २५ हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । २५ हजार आमा संरक्षक भएर खोलिएको छोरीको खातामा जम्मा गरिदिने गरिएको छ । महानगरका नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि कर्मचारीका तर्फबाट पनि रात दिन नभनी काम भइरहेको सुनाउँछन् प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल । “कर्मचारीका तर्फबाट नीति तथा कार्यक्रमको कार्यान्वयनमा कुनै कमी हुन दिँदैनौं,” उनी भन्छन्, “महानगरवासीको धेरै चाहना छैन । सडक पूर्वाधार र शिक्षा अनि स्वास्थ्य नै हो ।”
मीनकुमार नवोदित

प्रतिक्रिया दिनुहोस्