म्याग्दीमा उद्योग दर्ता तीव्र «

म्याग्दीमा उद्योग दर्ता तीव्र

म्याग्दी-व्यावसायिक रूपमा कृषि, पशुपालन र विभिन्न क्षेत्रमा ग्राम उद्योग सञ्चालनका लागि म्याग्दीमा वाणिज्य तथा उद्योग दर्ताले तीव्रता पाएको छ । विभिन्न अनुदान तथा सुलभ सेवाका लागि विगतदेखि सञ्चालन गरेका व्यवसायीले र नयाँ सञ्चालन गर्नेले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेर फर्म दर्तालाई प्राथमिकता दिएका छन् ।
गत आर्थिक वर्षमा म्याग्दीमा ४ सय ५२ ओट वाणिज्य फर्म तथा उद्योग थपिएका छन् । आर्थिक वर्ष ०७६-७७ मा २६३ वटा वाणिज्य फर्म र १८९ वटा नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । व्यवसायलाई स्थानीय तहले करको दायरामा ल्याउन पहल गरेको, बजार अनुगमनको प्रभाव र ब्यवसाय गर्नेहरू समेत सचेत भएकाले नयाँ आर्थिक वर्ष सुरु भए यता दर्ता हुने क्रम बढेको कार्यालयको तथ्यांक सहायक सन्तोष ढुंगानाले बताए ।
आर्थिक वर्ष ०७६-७७ मा उद्योग तथा वाणिज्य फर्म दर्ताबाट ३५ लाख २६ हजार ३२५ रुपैयाँ राजस्व संकलन भएको छ । कोरना प्रभावका कारण पछिल्लो चार महिना दर्ता गर्ने कम आएका थिए । ०७५-७६ मा उद्योग तथा वाणिज्य फर्म दर्ता र नवीकरणवापत ४७ लाख ३० हजार ८५० रुपैयाँ राजस्व संकलन भएको थियो । साउन १ गतेदेखि हालसम ६७ उद्योग र ४६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । यस वर्ष सुरुवातमा फर्म दर्ता गर्ने बढेको तथ्यांक सहायक ढुंगानाले बताए ।
पछिल्लो समय कृषि, पशुपालन, वनपैदावार, होटल र सेवामूलक उद्योग दर्ता बढेको छ । व्यावसायिक रूपमा कृषि र पशुपालन गर्नै कृषकलाई प्रदेश कार्यालयले विभिन्न शीर्षकमा अनुदानको ब्यवस्था गरेपछि पछिल्लो समय कृषि तथा पशुपन्छी फर्म दर्ता गर्ने संख्या बढेको कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताए । बिमा, बैंक कर्जा र अनुदान सुविधाका लागि ब्यवसाय दर्ता भएको हुनुपर्ने नीतिगत व्यवस्था छ । वर्षौंदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएका उद्योग तथा फर्मसमेत दर्ता हुन थालेको कार्यालयका प्रमुख पौडेलले बताए ।
प्रदेश सरकार अन्तर्गत भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत म्याग्दीमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत वर्ष ७६ जना कृषकलाई १ करोड २६ लाख २० हजार अनुदान वितरण गरेको थियो । बाख्रा, गाईभैंसी, कुखुरा, भेडापालक र डेरी मासु ब्यवासायीलाई अनुदान दिएको कार्यालयले जनाएको छ । सबभन्दा बढी मोडल फार्ममा अनुदान वितरण गरेको छ ।
त्यस्तै प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले ७९ ब्यावसायिक कृषकलाई ८८ लाख अनुदान वितरण गरेको थियो । सुन्तला, तरकारी र रुैथानेबाली संरक्षंण गर्ने कृषकलाई सिँचाइ, फर्म निर्माण तथा विभिन्न शीर्षकमा अनुदान वितरण गरेको कृषि प्रचार अधिकृत गोविन्द्र पाण्डेले जानकारी दिए । स्थानीय स्रोत साधन प्रयोग गरेर व्यावसायिक रूपमा ग्राम उद्योग सञ्चालनबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले पछिल्लो समय संघ र प्रदेश सरकारले फर्म सञ्चालन गर्नेलाई अनुदानको व्यस्वस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्