मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन कक्ष «

मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन कक्ष


उदयपुर सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)का विरामीको उपचारका लागि आइसोलेसन सेवा सुरु गर्न लागिएको छ । प्रदेश सरकारले स्थानीयस्तरमा नै आइसोलेसन निर्माण गरी कोरोना संक्रमित बिरामीको उपचार गर्ने निर्णय गरेपछि आँखा अस्पतालमा आइसोलेसन सेवा सञ्चालन हुन लागेको हो ।
प्रदेश सरकारले आइसोलेसन सेवा विस्तारका लागि उदयपुर जिल्ला अस्पतालमार्फत १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । विराटनगर, धरानलगायतका कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले उदयपुरका बिरामीको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारले यस्तो निर्णय लिएको हो । अब लक्षण देखा नपरेका संक्रमितलाई चिकित्सककै निगरानीमा आँखा अस्पतालको आइसोलेसनमा राखिने छ ।
गत चैत ५ गते त्रियुगा नगरपालिका–३ भुल्केमा एकैपटक १२ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल सञ्चालनको जिम्मा पाएको नेपाल नेत्रज्योति संघ उदयपुरले चैत १२ गते अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्न सक्ने निर्णय गर्दै प्रदेश सरकारलाई भवन सुम्पेको थियो । नेत्रज्योती संघको निर्णयसँगै स्वास्थ्यतथा जनसंख्यामन्त्रालय सिंहदरवार काठमाडौंले ०७७ असार २९ गते आँखा अस्पताललाई आईसोलेसन सेन्टरमा परिणत गर्ने र तत्काल ३० बेड उपलब्ध गराउने गरी निर्णय भएको नेत्रज्योति संघका सभापतिभागवत राउतले बताए ।
“स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले ३० वेड उपलब्ध गराएसँगै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले समेत प्रदेश सरकारलाई सिफारिस गरेको थियो,” उनले भने, “प्रदेश सरकारले जिल्ला अस्पताललाई १० बेडको आइसोलेसन केन्द्र स्थापना गर्न परिपत्र गरेपछि अस्पताल व्यवस्थापन समितिले जिल्ला अस्पतालमा तयार गर्दा अन्य सेवा सञ्चालनमा बाधा पुग्ने भन्दै आँखा अस्पतालमा आइसोलेसन सेवा सञ्चालनका लागि सिफारिस गरेको हो ।”
४२ कोठा रहेको तीन तलाको भवनमा ६० वटासम्म वेड राख्न सकिने सभापति राउत बताउँछन् । भवनमा १६ वटा शौचालय र ५ वटा युरिन रहेका छन् । उदयपुरमा हालसम्म १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ । बेल्टारस्थित कोरोना उपचार केन्द्र २६ बेडको मात्र भएकाले विकल्प नहुँदा बिरामी राख्न कठिन भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्