Logo

औद्योगिक विकासको मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योग

 मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरूले बताएका छन् । नेपालीहरूको महान चाड विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ को अवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान एवं अन्तरक्रियामा बोल्नेहरूले यस्तो बताएका हुन् ।
उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको बताए । गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटिल उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको उनको भनाइ थियो । मुलुकमा राजनीतिक माहौल सहज भएर मात्रै नहुने भन्दै महानिर्देशक सिंहले उद्योगधन्दा निर्वाध रुपमा सञ्चालनका लागि धेरै कुराको अनुकूलता मिल्नुपर्ने बताए । कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार बढी रहेकोतर्फ ध्यानाकर्षण गर्दै उहाँले राजष्व जम्मा गर्ने नाममा सबै उद्योगहरूलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभयो । उत्पादन, रोजगारी र कुल गाहस्थ्र्य उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उहाँको भनाई थियो ।
समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरूप लघु घरेलु तथा साना उद्योगसम्बन्धी नीतिहरू थप प्रष्ट एवं नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरू आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताए ।
कार्यक्रममा श्रम तथा रोजगार विभाग का महानिर्देशक रामप्रसाद भट्टाराई, महासंघ सल्लाहकार समितिका सभापति वासुदेव गिरी तथा महासंघका पदाधिकारीहरू, महिला समितिका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्