रसियामा नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न «

रसियामा नेपाल महोत्सव भव्यतापूर्वक सम्पन्न

रसियाको मस्कोमा हालै नेपाल फेस्टिभल भव्य रूपमा सम्पन्न भएको छ । मेला नेपाली राजदूतावास मस्को र एनआरएन रसियाको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा असोज १९ देखि २१ गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना गरिएको थियो । तीन दिनसम्म चलेको उक्त मेलामा १५ हजारभन्दा बढी रसियनहरूले अवलोकन गरेका थिए ।
नेपाल–रसिया दौत्य सम्बन्ध स्थापना भएको ६१ औं वर्ष गाँठका अवसरमा नेपालबाट रसियामा निर्यात हुन सक्ने नेपाली वस्तुहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलाको मुख्य आकर्षण बिक्री तथा प्रदर्शनी थियो ।
रसियाका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, एनआरएन रसियाका अध्यक्ष रामेश्वर गौतम र महासंघको मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले संयुक्त रूपमा असोज १९ गते एक विशेष समारोहकाबीच मेलाको उद्घाटन गरेका थिए । नेपालबाट उक्त मेलामा विशेष गरी हस्तकला, गार्मेन्ट, कार्पेट, चाँदीका गहना, पश्मिना, फेल्ट उत्पादनहरू राखिएको थियो भने ती वस्तुहरूको प्रतिनिधित्व गर्ने संघहरूबाट २० वटा स्टलसहित ३८ जना उद्यमी व्यवसायी प्रतिनिधिहरूले भाग लिएका थिए । सोही समयमा नेपाली राजदूतावास मस्कोको आयोजनामा नेपाली व्यवसायी प्रतिनिधिमण्डल र रसियन व्यवसायीहरूबीच आपसी भेटवार्तासमेत सम्पन्न भयो । मेला अवधिमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरी विभिन्न साँस्कृतिक प्रस्तुति, नेपाली खाना तथा नेपालसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।
मेलापश्चात् बिक्री नभएका सबै सामानहरू रसियन व्यवसायीहरूले खरिद गरेका थिए । मेला अवधिभर रसियनहरूले नेपाली स्टलहरूको अभिरुचिपूर्वक अवलोकन गर्नुका साथै आपसी सहकार्यका विषयमा छलफल समेत गरेका थिए । प्रतिनिधिमण्डलमा महासंघ सचिवालयका तर्फबाट वरिष्ठ अधिकृत सीता घिमिरे पनि सहभागी थिइन् ।

महासंघ प्रतिनिधिमण्डलबाट युरोपको व्यावसायिक भ्रमण
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको एक प्रतिनिधिमण्डलले युरोपको साताव्यापी व्यावसायिक भ्रमण सम्पन्न ग-यो ।
नेपाल र युरोपबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको उक्त भ्रमणका क्रममा त्यहाँस्थित विभिन्न संघ–संस्था, उद्यमी व्यवसायीहरूसँग भेटवार्ता भएको थियो । प्रतिनिधिमण्डलमा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी, उद्यमी व्यवसायीहरू र महासंघका सहायक निर्देशक विष्णुराज ढकाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्