६५ अर्ब कर तिर्न टेलियालाई १५ दिने अल्टिमेटम

आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनको अल्टिमेटमसहितको सूचना ठूला करदाता कार्यालयले जारी गरेको हो । कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनीसमेत दिएको छ ।
यसअघि जेठ १३ मा कर कार्यालयले टेलियालाइ कर तिर्न पत्रचार गरे पनि सम्पर्कमा नआएपछि असारमा १५ दिने सूचना जारी गरेको थियो । २०७२ चैतमा टेलिया सोनेराले आजियाटालाई एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गरी नेपालबाट बाहिरिएको थियो । “पटकपटक पत्राचार गरेका छौ्र, कर दाखिला गर्न आएन त्यसैले अन्तिमपटक सूचना जारी गरेका हौं” ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत अर्जुनप्रसाद भट्टराईले कारोबारसँग भने । उनका अनुसार १५ दिनसम्म कर दाखिला गर्न नआएमा उक्त कम्पनीका सबै कारोबार रोक्का गर्ने अधिकार कार्यालयलाई छ । “टेलियाको मुख्य कार्यालय स्वीडेनमै विभिन्न माध्यमबाट पत्राचार गरेको र पत्र बुझेको रसिदसमेत कार्यालयलाई प्राप्त भएको छ तर, पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा आएन,” उनले भने ।
मंगलबार एनसलेको मुख्य कम्पनी टेलिया सोनेराका नाममा जारी गरिएको सूचनाअनुसार टेलियाले आफ्नो स्वामित्वको सेयर हिस्सा मलेसियाको आजियाटाको नाममा बिक्री गर्दा लागेको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनभित्र तिर्न भनिएको छ । कार्यालयले यसअघि पनि गत असारमा टेलियाका नाममा ब्याज तथा जरिवानासमेत जोडेर ६० अर्ब ७१ करोड रुपैयाँ पुँजीगत लाभकर कायम गरेको थियो । त्यसयता ६ महिनासम्म पनि कर दाखिला नगरेपछि कार्यालयले त्यसमा लाग्ने १५ प्रतिशत ब्याज जोडेर नयाँ दायित्व सार्वजनिक गरेको कार्यालयले जनाएको छ । अधिकृत भट्टराईले टेलियाले मलेसियाको आजियाटा समूहलाई ८० प्रतिशत स्वामित्व बिक्री गर्दाको पुँजीगत लाभकर ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ र समयमा कर नतिरेकाले ब्याज र हर्जना शुल्क थप ५ अर्ब गरी ६५ अर्ब ४० करोड रुपैयाँ तिर्नुपरेको बताए । उनका अनुसार कार्यालयले यसअघि पनि कर नतिर्ने कम्पनीको सूचीमा उक्त कम्पनीलाई राखेको थियो । करदाता कार्यालयले जारी गरेको सूचनामा नियमअनुसार कर तिर्न नआएमा कानुनी कारवाही गरिने उल्लेख छ ।
पछिल्लो २ वर्ष एनसेलको स्वामित्व परिवर्तनमा तिनुपर्ने करको विषयमा विवाद चल्दै आएको छ । हाल एनसेलको स्वामित्व परिवर्तनमा कर तिर्ने विषयको मुद्दा अदालतमा बिचाराधीन अवस्थामा छ । लाभकर नतिर्दासम्म लाभांश रकम लैजान करदाता कार्यालयले रोक लगाएपनि लाभांश रकम लैजान दिनुपर्ने फैसला सर्बोच्च अदालतले गरेको छ । अहिलेसम्म एनसेलले लाभकरवापत २३ अर्ब ५६ करोड रुपैयाँमात्र तिरेको छ । यसअघि कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत स्वीडेनको परराष्ट्र मन्त्रालयलाई पनि कर तिराउने प्रक्रियामा सहयोग पुर्याउन कुटनीतिक पत्राचार गरेको थियो । यद्यपि, हालसम्म टेलियाबाट कुनै प्रतिक्रिया नआएको कार्यालयले जनाएको छ । २०७२ चैतमा टेलियाले आफ्नो स्वामित्वको एनसेलको ८० प्रतिशत सेयर मलेसियाको आजियाटालाई बिक्री गरेको थियो । १ खर्ब ४३ अर्बमा उक्त सेयर बिक्रीबापत टेलियाले दुइपटक गरी हालसम्म करिब २४ अर्ब रुपैयाँ कर दाखिला गरिसकेको छ ।