कोरोना संक्रमण : के भन्छ तथ्यांकशास्त्र ? «

कोरोना संक्रमण : के भन्छ तथ्यांकशास्त्र ?

जुन देशले जति संक्रमणलाई व्यवस्थापन गर्न सक्छ, त्यति संक्रमण पुगेपछि संक्रमण दरलाई १ मा सीमित गर्ने प्रयत्न गर्नुपर्छ ।

(यस लेखमा फर्मुलासहितको एक्सल सिटको लिंकसमेत राखेर पाठकलाई आफैं गणना गर्ने अवसर दिन सकिन्छ । फलानो रिसर्चले यो महिनामा यति संक्रमित हुन्छन् र यति मर्छन् भनेको सुनेर धारणा बनाउनुभन्दा पाठकले आफैं हिसाब गरेर धारणा बनाउन सक्छन् ।)

कडा लकडाउन गर्दासम्म काठमाडौंमा कोरोना देखिएको थिएन, खुकुलो भएकै कारण कोरोना फैलिएको हो भन्ने बुझाइ भएका मानिसहरूको संख्या उल्लेख्य पाइन्छ । कोरोनाको फैलावटलाई तथ्यांकशास्त्रले कसरी प्रक्षेपण गर्छ ? यस लेखमा फैलावटको गणना गर्ने सूत्रको प्रयोगबारे जानकारी दिने प्रयास गरिएको छ ।
कसैलाई पनि कोरोना नलागेको समय जे–जस्ता गतिविधि गरे पनि कोरोना फैलिंदैन । किनकि गतिविधि गर्दैमा कोरोना उत्पन्न हुने होइन । एक जना संक्रमित भएको छ भने मात्र उसको अन्तरनिर्भर गतिविधिबाट अरूमा सर्ने हो । मानौं, गत २०७६ चैतमा समाजमा एक जना पनि संक्रमित थिएन । त्यसो हुँदा लकडाउन गरे वा नगरे पनि फैलिने कुरा भएन ।
लकडाउन गर्दैमा मानिस पूर्ण आत्मनिर्भर हुँदैन । मानिसले दैनिक उपभोग्य वस्तु र वित्तीय कारोबार गर्छन् । यो कारोबारले गाउँसहर र देशविदेश सबैलाई जोड्छ । लकडाउन गरे पनि कतिपय पेसा र वर्गका मानिस नियमित आवतजावत गर्छन् । मानिस परनिर्भर वा अन्तरनिर्भर भएपछि संक्रमण सर्ने सम्भावना भइहाल्छ ।
अहिलेको कोरोना भाइरस (सार्स कोभ टु) को प्राकृतिक संक्रमण दर कति भन्ने यकिन छैन । कहीं २.२ र कहीं त्योभन्दा माथि भएको अनुमान सार्वजनिक भएका छन् । संक्रमण दर भनेको भाइरसको मानिसलाई संक्रमण गर्ने क्षमता हो । एक व्यक्ति संक्रमित रहेको अवधिमा उक्त व्यक्तिबाट अन्य जति जनामा सर्न सक्छ, त्यसलाई संक्रमण दर भनिन्छ । संक्रमण दर ३ भनेको एक व्यक्ति निको हुँदासम्म अरू ३ जनामा सर्ने हो ।
मानौं, संक्रमण दर २.२ र प्रतिव्यक्ति संक्रमण अवधि १५ दिन छ । २ करोड जनसंख्या अन्तरनिर्भर र परनिर्भर भएको मुलुक छ र उक्त मुलुकमा आन्तरिक कारोबार मात्र हुन्छ । यस एजम्सन (सर्त) मा समाजमा १ जना संक्रमित छ भने १५ दिनमा २ जना, एक महिनामा ५ जना, डेढ महिनामा ११ जना, दुई महिनामा २३ जना, अढाई महिनामा ५२ जना, तीन महिनामा १ सय १३ जना र साढे तीन महिनामा २ सय ४९ जना नयाँ संक्रमित हुन्छन् । एक जनाबाट सुरु भएको संक्रमण ६ महिनामा १३ हजारमा पुग्छ ।
संक्रमितको संख्या तबसम्म बढ्दै जान्छ, जबसम्म भाइरसले कुल संक्रमण गर्ने संख्याको आधा पुग्दैन । भाइरसको संक्रमण दर २.२ हुँदा कुल संक्रमण हुने संख्या १ करोड ८५ लाख अर्थात् एक्सपोज (अन्तरनिर्भर र परनिर्भर) भएको जनसंख्याको ९२ प्रतिशत संक्रमित हुन्छ । यसका लागि १ वर्ष ४ महिना लाग्छ । यसको चरम बिन्दु साढे १० महिना हुन्छ । त्यतिखेर ५० लाख सक्रिय संक्रमित हुन्छ । त्यसपछि संक्रमित संख्या घट्न सुरु हुन्छ । ११ महिनामा ३२ लाख, साढे ११ महिनामा ९ लाख ५० हजार, १२ महिनामा १ लाख ८१ हजार, साढे १२ महिनामा ३१ हजारमा झर्छ ।
कुल संक्रमितको संख्या थपिंदै जाँदा प्राकृतिक संक्रमण दर स्वतः घट्दै जान्छ । यदि प्राकृतिक संक्रमण दर २.२ छ भने १० महिनाबाट साढे १० महिनामा पुग्दा १.२० र साढे १० महिनाबाट ११ महिनामा पुग्दा ०.६५ मा झर्छ । पहिला संक्रमित भइसकेका मानिस भाइरसका लागि घर हुँदैनन् । भाइरसलाई नयाँ घर चाहिन्छ । कोही पनि संक्रमित नहुँदा भाइरसलाई धेरै घरमा छानी–छानी बस्ने अवसर हुुन्छ भने मानिसहरू संक्रमित हुँदै गएपछि छनोट गर्न कम घर बाँकी हुन्छन् ।
संक्रमण दर थोरैले फरक पर्दा पनि संक्रमण हुनेको संख्या र अवधिमा निकै फरक पर्छ । मानौं, संक्रमण दर २.५ छ भने ९८ प्रतिशत जनसंख्या संक्रमित भई १ वर्षमा संक्रमण सकिन्छ । संक्रमण दर १.५ छ भने ६२ प्रतिशत जनसंख्या संक्रमित भई २ वर्ष ११ महिनामा संक्रमण सकिन्छ । यसको चरम बिन्दु १ वर्ष ७ महिना हुन्छ । त्यतिखेर १५ लाख मात्र सक्रिय संक्रमित हुन्छन् ।

मृत्युदर र कर्भ फ्ल्याटनिङ
सार्स कोभ टुको प्राकृतिक मृत्यु दरको सही अनुमान भएको छैन । संक्रमणको ग्राफ जहाँ पुगे पनि यसले मानवीय क्षति नै पु-याउँदैन वा व्यवस्थापन गर्न सक्ने स्तरको मात्र क्षति पु¥याउँछ भने केही गर्नै परेन । जस्तै : मौसमी रुघाखोकीको मृत्युदर विकसित समाजमा ०.१ प्रतिशत अर्थात् हजारमा १ जना छ । अमेरिकामा यो रोगबाट वार्षिक २५ हजार जनाको मृत्यु हुन्छ ।
सुरु र पछितिरको समयमा संक्रमणको ग्राफ चौडा (कर्भ फ्ल्याट) नै हुन्छ । बीचको समयमा ग्राफ ठाडो हुन्छ । जुन देशले जति संक्रमणलाई व्यवस्थापन गर्न सक्छ, त्यति संक्रमण पुगेपछि संक्रमण दरलाई १ मा सीमित गर्ने प्रयत्न गर्नुपर्छ । यसले बीचको ग्राफलाई चौडा बनाइदिन्छ र संक्रमण भएर सकिने अवधिलाई लम्ब्याइदिन्छ ।
ग्राफ चौडा गर्न सामाजिक दूरी, लकडाउन, क्वारेन्टाइन र आइसोलेसनजस्ता विधि अवलम्बन गरिएको छ । अहिलेको विश्व स्वाभाविक रूपले अन्तरनिर्भर छ भने कतिपय समुदाय परनिर्भर छ । जबर्जस्ती गरिने प्रतिबन्ध कति प्रभावकारी हुन्छ भन्ने यकिन छैन । मानिसलाई घर र टोलमा सीमित गर्दा त्यहींभित्र पहिलेभन्दा बढी सम्पर्क हुन सक्छ । प्रहरी परिचालन गरेर सडकमा अवरोध गर्दा त्यहीं भीड हुन्छ । जबर्जस्ती प्रतिबन्धले बहुआयामिक प्रतिकूल प्रभावहरू पनि पर्छ ।

संक्रमित गणनाको विधि
कति मानिस संक्रमित छन् र कति संक्रमित भएर निको भइसके भनेर थाहा पाउने भरपर्दो विधि छैन । आरटी पीसीआरमा ठूलो संख्यामा फल्स नेगेटिभ र उल्लेख्य संख्यामा फल्स पोजेटिभसमेत आउने हुँदा परीक्षण गरिएकाको समेत सही अवस्था थाहा हुँदैन । संक्रमित भएर निको भइसकेको थाहा पाउन आरडिटी एन्टिबडी टेस्ट गरिन्छ । यसले पनि यथार्थपरक नतिजा दिँदैन । त्यसैले रिसर्च प्रयोजनका लागि गरिने स्याम्पल सर्भे (नमुना अध्ययन) बाट यकिन तथ्यांक थाहा पाउन सकिँदैन ।

अध्ययनको सीमितता
संक्रमणको ग्राफ एकपटक संक्रमित व्यक्तिलाई दोहोरिँदैन भन्ने एजम्सनका आधारमा विश्लेषण गरिएको हो । यदि मानिसमा दोहो-याई–तेहे-याई संक्रमण भइरहने हो भने उक्त सूत्रले अर्थ दिंदैन । कोरोना पुनः संक्रमण हुन्छ या हुँदैन भन्ने यकिन भएको छैन ।
अर्कातर्फ, आमसञ्चारमाध्यमले रोगबारे सही सूचना दिने क्रममा नकारात्मक मनोवैज्ञानिक असर परेको बताइएको छ । स्वास्थ्यकर्मी र जनसाधारणमा त्रासको कारण उपचार व्यवस्थापन सही ढंगबाट हुन पाएको छैन कि ? त्रासका कारण रोगीको आत्मबल कमजोर भई मृत्युको जोखिम बढेको छ कि ? प्राकृतिक मृत्युदरमा त्रासले थप मृत्यु सिर्जना गरेको छ या छैन भन्ने अध्ययन भएको छैन ।

समाज विज्ञान
गणितको हिसाबले देखाएको जस्तो संक्रमणको वृद्धि यथार्थमा समाजमा हुँदैन । हिसाबमा कुनै रोकावट र परिवेश समायोजन (एडजसमेन्ट) हुँदैन । यदि रोगले मानिसहरूलाई गम्भीर समस्या दिन्छ भने छरछिमेक र नजिकको घटना प्रत्यक्ष देखेर, भोगेर मानिसहरू आफैं सतर्क र सचेत हुन्छन् । रोग फैलन कम हुने विधि मानिसहरूले स्वतः अवलम्बन गर्छन् । मानिसहरूको स्वाभाविक व्यवहारले संक्रमणको गति मत्थर हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्