उत्पादित केरा बजारमा पु-याउन नसक्दा बोटमै कुहिन थाल्यो «

उत्पादित केरा बजारमा पु-याउन नसक्दा बोटमै कुहिन थाल्यो

विराटनगर-मोरङको सुन्दरहरैंचाका किसानहरू केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित बनेका छन् । लकडाउनका कारण बजारहरू पूर्णरुपमा नखुल्दा तथा ढुवानीमा देखिएको अवरोधका कारण केरा बिक्री नभएपछि समस्या भएको हो । सुन्दरहरैंचा–७ गोठगाउँ क्षेत्रमा लगभग ५ सय बिघामा केरा खेती गरिएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । यस क्षेत्रबाट पूर्वका सहरका साथै काठमाडौं, पोखरा, हेटौडालगायतका ठाउँहरूमा हरेक वर्ष करोडौंको केरा निर्यात हुने गरेको छ । तर, यसवर्ष लगातारको लकडाउन र ढुवानीमा देखिएको अवरोधका कारण केरा बिक्री नभएपछि किसानहरू चिन्तित बनेका छन् ।
सरकारले कृषिजन्य उत्पादनको ढुवानीलाई अवरोध नगर्ने भने प्रहरीले ठाउँ–ठाउँमा रोकेर दुःख दिने गरेको स्थानीय केरा किसान टीकाराम लुइँटेलको गुनासो छ । “उत्पादित केरा बजारसम्म पु¥याउन नसक्दा बोटमै कुहुन थालेको छ,” उनले भने, “बैंकको सावा र ब्याज तिर्न समस्या भएको छ ।” यो क्षेत्रका किसानले केराखेतीबाट राम्रो आम्दानी गर्दै आएका थिए ।
यहाँका अधिकांश किसानले जग्गा ठेक्का लिएर ऋण काढेर केरा खेती गर्दै आएका छन् । जसबाट अघिल्ला वर्षहरूमा उनीहरूले प्रतिबिघा वर्षको १ देखि २ लाखसम्म आम्दानी लिंदै आएका थिए । तर यसवर्ष केरा बिक्री नभएर बोटमै कुहिने अवस्था आएपछि लगानीसमेत नउठ्ने अवस्था आएको दुई दशकदेखि केराखेती गर्दै आएका बलबहादुर विकले गुनासो गरे । यसअघि तराई–मधेस आन्दोलनका बेला उनीहरूले अहिलेकै अवस्था भोगेका थिए । कृषि उत्पादनको बजारीकरणका लागि सरकारले नै गरिदिनुपर्ने उनीहरूको माग छ ।
यस क्षेत्रका अधिकांश किसानले स्थानीय सुन्दरपुर साना किसान सहकारी संस्थाबाट ऋण लिएर केरा खेती गर्दै आएका छन् । सहकारीले आफ्नो लगानीको ठूलो हिस्सा केराखेतीमा लगाएको छ । जसका कारण किसानको केरा बिक्री नहुँदा सहकारीको लगानीसमेत जोखिममा परेको सहकारीका अध्यक्ष रविन्द्र आचार्यको गुनासो छ ।
सरकारले लकडाउनको अवस्थामा समेत कृषिजन्य उत्पादनलाई ढुवानी र बिक्रीमा अवरोध नगर्ने भने पनि व्यवहारमा त्यो लागू हुने नसकेको केरा किसानहरूको गुनासो छ । उनीहरूले जुनसुकै अवस्थामा पनि कृषिजन्य उत्पादनको ढुवानी र बिक्रीका लागि सहज वातावरण बनाइदिन मागसमेत गरेका छन् । यता किसानको बारीबाट केरा खरिद गरेर विभिन्न बजारमा लैजाने व्यापारीहरूको समेत आफ्नै पीडा छ । सरकारले कृषिजन्य सामग्रीमा अवरोध नगर्ने भने पनि ढुवानीका क्रममा स्थानीय पालिका र जिल्लाअनुसारको नियम फरक भएका कारण अवरोध हुँदा समस्या हुने गरेको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्