विदेशबाट उद्धार सुस्त «

विदेशबाट उद्धार सुस्त


विदेशमा अलपत्र श्रमिक स्वदेश फर्कनका लागि पैसा तिर्न तयार भए पनि नेपालमा क्वारेन्टिनको क्षमता विस्तार गर्न नसक्दा उद्धारमा सुस्तता देखिएको छ । क्यारेन्टिन क्षमता कम रहेकोले सरकार आफैंले उद्धारमा सुस्तता देखाएको हो । यसकारण सरकारले घोषणा गरेअनुसार ठूलो संख्यामा नेपाली स्वदेश फर्कन सकेका छैनन् ।
नेपाल आउन चाहने सबै नेपालीलाई ल्याएर राख्ने क्वारेन्टिन व्यवस्था गर्न सरकार असफल भएका कारण सरकारले विगतमा दैनिक उद्धार गरिने संख्यालाई १ हजारबाट घटाएर ५ सय जनामा झारेको थियो । उद्धार गरिने संख्या घटाएको भन्दै विरोध भएपछि फेरि होटल क्यारेन्टिनको व्यवस्था गरेर हाल पुनः ८ सय जना पु-याइएको छ । हाल व्यवस्था गरिएको होटल बाहेक उपत्यकाका विभिन्न क्वारेन्टिनको क्षमता बढीमा दैनिक १ हजार भन्दा बढी छैन ।
सरकारले बीचमा होटल क्वारेन्टिनको व्यवस्था गरेको भए पनि अधिकांश श्रमिक होटलमा बस्न नै मानेनन् । उद्धार गरी ल्याइएका ८० प्रतिशत न्यून आय र विदेशमा बेखर्ची बनेर फर्केका श्रमिक हुने गरेका कारण पनि होटल क्वारेन्टिन उनीहरुका लागि प्रभावकारी बन्न नसकेको हो । नेपाल सरकारका एक पूर्वसचिव सरकारले क्वारेन्टिनको क्षमता बढाउन नसक्दा पैसा खर्च गर्न श्रमिक तयार भए पनि उद्धारमा नियन्त्रण गरिएको बताउँछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र श्रमिक उद्धार गर्न सरकार सक्रिय रहेको र उद्धारलाई प्राथमिकता दिन परराष्ट्र मन्त्रालयमार्फत पहल गरेको बताउँदै आएका छन् । तर उनको प्रयास सफल हुन सकेको छैन । बढी श्रमिक रहेका देशका दूतावासमा उद्धारको लागि दबाब भए पनि सरकारले सोअनुसार पूर्वाधार तयार गर्न सकेको छैन ।
हाल दैनिक ८ सय नेपालीको उद्धार गरिरहेको सरकारले ५ हजार क्षमताको क्वारेन्टिन स्थल बनाउने घोषणा अनुसार काम सुरु गरेको भए पनि हाल त्यसको क्षमता ४ हजारमा सीमित छ । केही दिनअघि साउदी अरबमा रहेका नेपाली श्रमिकले स्वदेश फर्कन पाउनुपर्ने भन्दै नेपाली दूतावास साउदी अरबमा धर्ना दिएका थिए । उद्धारको माग गर्नेमध्ये थोरैमात्र पैसा तिर्न नसक्ने श्रमिक थिए भने पैसा तिरेर पनि नेपाल आउन चाहने अधिकांश थिए ।
सरकारले हालसम्म ६५ हजारमात्र नेपाली नागरिकलाई नेपाल ल्याउन सफल भएको छ । यसमध्ये पनि ९० प्रतिशत होटल क्वारेन्टिनमा बस्ने क्षमता नभएका श्रमिक छन् ।

प्रतिक्रिया दिनुहोस्