बढी वर्षाले तरकारी उत्पादनमा ७० प्रतिशत गिरावट «

बढी वर्षाले तरकारी उत्पादनमा ७० प्रतिशत गिरावट

झापाको दमकस्थित मानसरोवर कृषि सहकारीका सदस्यले लगाएको केरा खेतीमा जमेको पानी । तस्बिर सौजन्य :विजयराज पण्डित



झापा-निरन्तरको वर्षाका कारण झापामा तरकारी उत्पादन ७० प्रतिशतले घट्ने देखिएको छ । पछिल्लो समय राम्रो बजार पाउन थालेसँगै बेमौसमी तरकारीले खेती बढ्दै गए पनि अत्यधिक वर्षाका उत्पादनमा गिरावट आउने भएको हो । अत्यधिक वर्षा भएका कारण बिरुवा नै उत्पादन हुन नसकी उत्पादनमा भारी गिरावटसँगै झापाको बजारमा अहिले तरकारीको मूल्य पनि दोब्बर भएको छ ।
बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाका अनुसार टनेलभित्रै पनि तापक्रम नमिल्दा बिरुवा उत्पादन हुन सकेको छैन । “यो वर्ष ७० प्रतिशतभन्दा बढी तरकारी उत्पादनमा गिरावट आउने छ,” उनी भन्छन्, “अत्यधिक वर्षाका कारण आउँदै गरेको चाडपर्वमा तरकारीको मूल्य थप अकासिने अवस्था सिर्जना भएको छ ।’
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले यो वर्ष वर्षाले उत्पादन गर्न नसकेको भए पनि यति नै क्षति भयो भन्ने गुनासो कृषकबाट नआएको बताए । झापामा गत वर्ष ५८ वटा ब्लकमार्फत् तरकारीलगायत खेती हुँदै आएकोमा टनेलबाहेक खेती गर्ने कृषकले तरकारी उत्पादन गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष झापामा ९ हजार ७६ हेक्टरमा लगाइएको तरकारीबाट १ लाख ६२ हजार ७ सय ७९ टन तरकारी उत्पादन भएकोमा यस वर्ष ह्रास आउने देखिएको छ । यही कारण वैदेशिक रोजगारीबाट फर्केर आफ्नै मुलुकमा केही गरौँ भन्ने उद्देश्य लिएका युवामा निरासा पैदा भएको उनी बताउँछन् ।
कृषकका अनुसार झापाको बिर्तामोड–१०, अर्जुनधारा–५, बुद्धशान्ति–५, कनकाई–५, भद्रपुर–२ र ३ कमल– ३ र ७ दमक–३, गौरीगञ्ज– २ लगायत क्षेत्रमा लगाइएको तरकारी वर्षाका कारण उत्पादन नै हुन सकेको छैन । झापाको दमक नगरपालिका –३मा रहेको मानसरोवर कृषि सहकारी संस्थाले ४ विगाहामा लगाएको तरकारी वर्षाले नष्ट पारेको सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले बताए । सहकारीले ४ विगाहामा रायोको साग, तोरीको साग, भिन्डी लगायतका तरकारी लगाएको थियो । त्यो ठाउँमा पुनः तरकारी लगाउन बेर्ना उत्पादन गरे पनि हिलो जमिन भएको कारण तत्काल बेर्ना लगाउन नसक्ने सहकारीका व्यवस्थापक अधिकारीले जानकारी दिए । तरकारीसँगै १÷१ विगाहामा लगाइएको केरा र मेवालाई समेत वर्षाले क्षति पु¥याएको उनी बताउँछन् । वर्षाले २० देखि २५ लाख रुपैयाँसम्म घाटा भएको उनको भनाइ छ । मानसरोवर जिल्लाकै उत्कृष्ट कृषि फार्म हो । फार्मले १५ विगाहा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । फार्ममा ११ वटा टनेलमा समेत तरकारी खेती हुन्छ । खुल्ला खेतीको कारण वर्षाले बढी क्षति भएको अधिकारीले जनाए ।
झापाको अर्जुनधारा नगरपालिका–५मा रहेको मामाभाञ्जा कृषि फार्मका सञ्चालक निर्मल अधिकारी बिरुवा उत्पादन हुन नसक्दा सिजनमा तरकारी उत्पादन गर्न कठिनाइ भएको बताउँछन् । “यो सिजन उत्पादन गरेको तरकारी महँगो मूल्यमा बिक्री हुन्थ्यो,” उनले भने, “उत्पादन गर्न नसक्दा सोचे अनुरुप आम्दानी नहुने भयो ।” फार्ममा हाल उनीहरुले २० विगाहामा तरकारी खेती गर्दै आएका छन् । यतिखेर बोडी, करेला, काँक्रा, काउली, टमाटर, सिमी, क्याप्सिकम, फर्सी लगायतका तरकारी लगाउने तयारी भएको थियो । तर, बिरुवा उत्पादनमा ढुसीजन्य रोग लागेपछि समस्या भएको छ ।
झापाका अधिकांश कृषकले आफूले खानका लागि लगाएको तरकारीसमेत पानीले डुवाएपछि बजारको भर पर्नुपर्ने अवस्था आएको छ । यही कारण झापामा यो समय पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायत जिल्लाबाट तरकारी आउने गरेको छ । यसको अलावा उत्पादन नभएसँगै झापाको कृषि उपज बजार केन्द्रमा भारतबाट आयात भएका तरकारी मात्र बिक्री भइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्