सार्क राष्ट्रका अर्थमन्त्रीहरु बैठकमा परराष्ट्रमन्त्री «

सार्क राष्ट्रका अर्थमन्त्रीहरु बैठकमा परराष्ट्रमन्त्री

saarc


सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५औं अनौपचारिक बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका छन् । प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट सहभागी भएर परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व तथा भर्चुअल बैठकको अध्यक्षता गरेका थिए । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा र एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा बैठक आयोजना गरिएको हो ।
बैठकमा उद्घाटन मन्तव्य दिँदै मन्त्री ज्ञवालीले कोभिड–१९ को कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताए । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशिल रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने बताउँदै उनले यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशिल बनाउँदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष श्री शिसिन चेनले उदघाटन मन्तव्य राखेको कार्यक्रममा ‘कोभिड–१९ र दक्षिण एशियाली अर्थतन्त्र’ विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुती दिएका थिए । बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधिमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्