विदेशमा अलपत्र श्रमिकको उद्धार दशैंअघि नै गर्नुपर्छ : सांसद संग्रौला «

विदेशमा अलपत्र श्रमिकको उद्धार दशैंअघि नै गर्नुपर्छ : सांसद संग्रौला

प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कोरोना संकटले नेपाल फर्कन पर्खिरहेका लाखौँ नेपालीहरुलाई दशैअगावै स्वदेश फर्काउन विशेष योजना सञ्चालन गर्न माग गरेकी छन् ।
सदस्य संग्रौलाले महँगो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीहरुलाई स्वदेश फर्काएको भए पनि अझै खाडी मुलुकहरु तथा मलेसियामा झन्डै ३ लाख नेपालीहरु स्वदेश फर्कन पर्खिरहेका बताएकी छिन् । तीमध्ये हजारौँ महिला, बेरोजगार तथा असक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा नरहेको जनाउँदै उनले शिघ्र उद्धारको माग गरेकी हुन् । “सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ,” उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दछु ।”
यस सम्बन्धमा उनले प्रधानमन्त्री तथा श्रम मन्त्रीको पटक पटक ध्यानाकर्षण गराएको जनाएकी छन् । त्यस्तै कांग्रेसको तर्पmबाट प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराई पटकपटक यो विषयलाई जोडदार रुपमा उठाउँदै आएको बताएकी छन् । तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद् बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको उनको दाबी छ ।
यसै सिलसिलामा मंगलबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम मन्त्री रामेश्वर राय यादव तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरी विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चांडो नेपाल ल्याउन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्