कुलमान लोकप्रियताका आयाम «

कुलमान लोकप्रियताका आयाम

प्रधानमन्त्रीले दम्भ छाड्दै ऊर्जामन्त्रीले पनि सहजरुवमा घिसिङ पुनर्नियुक्तिका लागि बाटो खोल्नुपर्छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ । दशकौंदेखि घाटामा गएको प्राधिकरणलाई नाफामा लगेरमात्र उनको कार्यकाललाई सफल भनिएको होइन कि दशकभन्दा लामो चर्को लोडसेडिङ अन्त्य गरेर उनले आम जनताको पनि मन जित्न सफल भए । घिसिङलाई प्राधिकरणमै पुनर्नियुक्तिका लागि ठूलो जनदबाब पनि छ तर सरकारले जनताको आवाज सुन्न चाहेको देखिएन । यहाँसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको पुनर्नियुक्ति नचाहेको भनेर प्रचार गरिए पनि ऊर्जामन्त्री वर्षमान पुनको भूमिका पनि यहाँनेर उल्लेखनीय छ । यसरी हेर्दा जनताको नजरमा लोकप्रिय घिसिङ शासकहरूको मूल्यांकनमा भने परेनन् किनकी उनले शासकभन्दा बढी जनताको सेवा गरे ।
त्यसो त नेपालमा लोकप्रिय हुनाका लागि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिदिए मात्रै पुग्छ । एक दशकसम्म चर्को लोडसेडिङले आहत नेपाली जनतालाई चार वर्षअघि कुलमान घिसिङले अँध्यारो युगको अन्त्य गरेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाहमात्र गरेका हुन् । तर, आफ्ना जिम्मेवारी पूरा गर्नेलाई नेपालमा यसरी पुजिन्छ र जनता सडकमै आउने स्थिति पैदा हुन्छ भने यहाँनेर बुझ्न सकिन्छ कि नेपालमा कुशल र इमानदार प्रशासक, व्यवस्थापकको खडेरी कस्तो छ । यद्यपि, जनता र शासकको मूल्यांकनका आधार फरक हुन्छन् भन्ने बुझ्नका लागि प्रधानमन्त्री र ऊर्जामन्त्रीले उनलाइृ दोहोराउन नचाहनुले पुष्टि हुन्छ । घिसिङको काम हेरेर वा योजना सुनेर उनको पदावधि सकिनेबित्तिकै सहजै पुनः नियुक्ति हुनुपर्ने थियो । कार्यकारी निर्देशकका रूपमा पहिलो कार्यकालमा राम्रो प्रस्तुति गरेकाले दोस्रो कार्यकालका लागि उनको दावी स्वाभाविक पनि हो । तर, सरकारले न जनताको आवाज सुन्यो, न घिसिङ के चाहान्छ भन्ने नै बुझ्न चाह्यो । बरु सरकारले आफना कार्यकर्तामार्फत घिसिङलाई अर्को पद दिनुपर्ने भन्दै प्रचार गराउन लगायो । यहाँसम्म कि प्राधिकरणले समयमै नेतृत्वसमेत पाएन र निमित्तको जिम्मेवारी दिइएको छ ।
घिसिङले चार वर्षअघिको लक्ष्मीपूजा (वर्षमा सबैभन्दा बढी विद्युत् खपत हुने दिन)मा लोडसेडिङ नगरेरै सुरुवात गरेको चमत्कारप्रति सुरुदेखि नै संशय गर्नेहरू आफैं पराजीत भइसकेका छन् । सुरुमा उनले लोडसेडिङ सधैँका लागि अन्त्य गर्ने घोषणा गर्दा कसैले पत्याएका थिएनन् । तर, केही अनियमितता भए पनि नेपालमा अहिले लोडसेडिङ छैन भन्न मिल्ने भएको छ । घाटामा गएको प्राधिकरणको सञ्चित घाटाबाट उकासिएको छ भने वार्षिक नाफा कमाउने भएको छ । यतिमात्र नभइ विद्युत चुहावट पनि धेरै घटिसकेको छ ।
घिसिङको लोकप्रियता नेपालका कुनै राजनीतिक नेताहरूको भन्दा धेरै माथि छ भन्ने पुष्टि निषेधाज्ञाका अवस्थामा र अहिले पनि उनको पक्षमा स्वस्फूर्त निस्किरहेको जुलुशबाटै पुष्टि हुन्छ । यतिमात्र नभइ तथ्य र तथ्यांकका आधारमा पनि उनीमाथि खोट लगाउने अवस्था देखिँदैन । बरु केही कमजोरी अवश्य पनि छ र अर्को कार्यकालमा उनले त्यसलाई सच्याउन र सुधारेर अगाडि बढ्नसक्ने अवस्था अवश्य पनि छ । त्यसैले दोस्रो कार्यकालका लागि उनलाई अवसर दिनु नै जनमतको सम्मान र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नयाँ आयाम हुनेछ । यसमा प्रधानमन्त्रीले दम्भ छाड्दै ऊर्जामन्त्रीले पनि सहजरुवमा घिसिङ पुनर्नियुक्तिका लागि बाटो खोल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्