विकल्प बन्दै इलेक्ट्रिक बस «

विकल्प बन्दै इलेक्ट्रिक बस

विश्वमा इलेक्ट्रिक सवारीसाधन उत्पादन तथा सञ्चालनमा पछिल्लो समय प्रतिस्पर्धा नै चलेको छ । वैकल्पिक ऊर्जा विद्युत्बाट चल्ने हुँदा वातावरण प्रदूषणसमेत कम हुने र डिजेल-पेट्रोल नहुँदा समस्या झेल्नु नपर्ने भएकाले यतातर्फ सवारी उत्पादकहरू केन्द्रित हुन थालेका छन् । दुईपांग्रे, साना चारपांग्रे मात्र होइन, ठूला सार्वजनिक यातायात पनि विद्युतीय नै उत्पादन÷सञ्चालन हुन थालेका छन् ।
गत वर्ष जेनेभामा विद्युतीय सार्वजनिक बस चल्न थालेको हो । बिजुलीबाट चल्ने यो बस १५ सकेन्ड चार्ज गर्दा दुई किलोमिटरसम्म गुड्नेछ र पाँच मिनेटमा फुल चार्ज हुने जनाइएको छ । यो बसले वायु प्रदूषण त कम गर्छ नै, नेपालजस्ता पेट्रोलियम पदार्थ आयातमा निर्भर मुलुकलाई ठूलो वित्तीय राहत समेत दिनसक्छ । सहरी सार्वजनिक यातायातमा यस्ता सवारी उपयोगिमात्र होइन, यसले सहरको स्वरुप नै बदल्न सक्ने अनुमान गरिएको छ ।
जेनेभाका पब्लिक ट्रान्सपोर्टसँग सम्बन्धित केहि संस्थाले मिलेर यो प्रोजेक्ट सुरु गरेका थिए । यो बस सिस्टमलाई ‘टोसा’ नाम दिइएको छ । झट्ट हेर्दा नै यो बस बिजुलीबाट चल्ने भनेर चिन्न सकिने गरी डिजाइन गरिएको छ । टर्मिनलमा चारदेखि पाँच मिनेट चार्ज गरेपछि बस फुल चार्ज हुनेछ । फुल चार्ज गरेपछि यो बस कम्तिमा ४० किलोमिटर गुड्न सक्छ । चार्ज सकिएपछि टर्मिनलमा यात्रु कुर्दाकुर्दै बस फुल चार्ज भईसक्छ ।
भारतमा समेत उक्त बसबारे छलफल सुरु भएको छ । ठूला विद्युतीय सवारी त्यो पनि छोटो समयमै चार्ज गरेर ४० किलोमिटर गुडाउन सकिने भएकाले यसलाई लिएर ठूलो चासो बढेको हो । इन्डियन इन्स्टिच्युट अफ साइन्सले एक डिजेल बसलाई इलेक्ट्रिक बसले रिप्लेस गर्दा वर्षमा २५ टन कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न सकिने दाबी गरेको छ । भारतमा करिब दुई लाख डिजेल बस सञ्चालनमा रहेका छन् । यसो भएमा भारत मात्र होइन, नेपाल लगायत छिमेकी देशलाई पनि राहत हुनेछ । नेपालमा डिजेल बसले बढाएको वायु प्रदूषणबारे ठोस अध्ययन नभए पनि मुख्य सहरमा इलेक्ट्रिक बस गुडाउन सके वातावरण प्रदूषण त कम हुन्छ नै, सहरी सुन्दरतामा समेत टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्