प्याज खरिदमा वाणिज्यमन्त्री नै ठगिए «

प्याज खरिदमा वाणिज्यमन्त्री नै ठगिए


बजारमा एक्कासी प्याजको मूल्य अकासिएको सार्वजनिक भएसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहान आफैँ ग्राहक बनेर बजार अनुगमनमा निस्किए । सुरक्षा गार्डबिनै ग्राहकको रुपमा पहिला मन्त्री भट्ट लगनखेल पुगे । उनले त्यहाँका व्यापारीबाट आफूहरूले बल्खु र कालीमाटी बजारबाट महँगोमा प्याज किनेको बताएपछि उनी उतैतिर लागे । सामान्य पोशाकमा स्थगलत अनुगमन गर्न गएका भट्टले कालीमाटी र बल्खु बजारका विभिन्न पसलमा गरेर ५० केजीभन्दा बढी प्याज किने ।
एक साता अघिसम्म प्रतिकेजी ५० रुपैयाँ मूल्य रहेको प्याजको भाउ पछिल्लो समयमा बढेको छ । बुधबार प्याज बिक्री गर्ने अधिकांश पसलेले मन्त्री स्वयं अनुगमनमा आएको पत्तै पाएनन् । मन्त्री पनि ग्राहकको रुपमा प्याज किन्दै गए र १ सय ५० रुपैयाँसम्ममा किने । उनले बजारमा गएर १ सय १० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म किनेका थिए । “प्याजको मूल्य महँगो पारेर व्यापारीले बदमासी गरिरहेको गुनासो आएपछि स्थलगत अनुगमन गर्न गएको थिएँ, म आफैंले किन्दा प्रतिकेजी एक सय १० रुपैयाँ देखि १ सय ५० रुपैयाँसम्म होलसेल मूल्यमा बिक्री गरेको फेला पारेँ,” उनले भने, “व्यवसायीले दोब्बर–तेव्बर मूल्यमा प्याज बिक्री गरेर ठगी गरेको गुनासो आएपछि प्रमाणका लागि गएको थिएँ, प्रमाण पनि पाएँ ।”
कालोबजारी गरेको फेला परेपछि तत्काल तीन जनालाई पक्राउ गरी पठाइएको र अन्य व्यवसायीका हकमा भने वाणिज्य विभागलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको मन्त्री भट्टले जानकारी दिए । मन्त्री भट्टले कालीमाटीका अधिकांश प्याज पसलले बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको अनुमगनका क्रममा फेला परेको जानकारी दिए । अधिकांश पसलले कृत्रिम अभाव गराएर मूल्य बढाएको फेलापरेपछि सबैलाई कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।
भारतले सोमबार प्याजको आयात रोकिएपछि व्यवसायीले बजारमा कृत्रिम अभाव गराएर कालोबजारी गरेका छन् । साताअघि प्रतिकेजी ५० रुपैयाँ रहेको प्याजको मूल्य बढेर १५० रुपैयाँसम्म पुगेको छ । कृत्रिम अभाव देखाएर मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई परेको छ ।

व्यवसायीले टेरेनन् कर्मचारीलाई
वाणिज्य तथा आर्पूिर्त व्यवस्थापन विभागका कर्मचारी बुधबार कालीमाटी, बल्खु, तिनकुने लगायतका प्याज पसलमा अनुगमन गर्न पुगेका थिए । अनुगमन टोलीले विभिन्न १० वटा प्याज पसलमा अनुगमन गरेका थिए । सरकारी टोली अनुगमन गर्न जाँदा अधिकांश स्टलका व्यापारी भने भागेका थिए । कतिपय पसलमा व्यवसायीहरू संगठित भएर अनुगमनमा अवरोध गरेकाले अनुगमनका लागि थप सुरक्षाकर्मीको आवश्यक परेको विभागका निर्देशक रवीन्द्र आचार्यले जानकारी दिए । अनुगमन गर्न व्यवसायीले नै अवरोध गरेको उनले जानकारी दिए । व्यवसायी नभएको स्टल छोडेर हिडेको अवस्था, संगिठन रुपमा आएकाले पनि अनुगमन गर्न समस्या परेको उनले जानकारी दिए । बुधबार कालीमाटी बजारमा ६ वटा र बल्खुका एउटा व्यवसायीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
यसैबीच, काठमाडौ महानरपालिका, कृषि विभाग र उपभोक्ता अधिकारकर्मीको संयुक्त अनुगमन टोलीले बुधबार अनुगमनका क्रममा बल्खुको एस के सप्लार्यस र चुली सगरमाथा ट्रेर्डसले कालोबजारी गरेको फेला गरेको छ । एस के सप्लार्यसमा १९ बोरा चुली सगरमाथा ट्रेर्डसमा दुई सय बोरा प्याज शिल गरिएको छ । बजारमा प्याजको पर्याप्त स्टक भए पनि कृत्रिम अभाव गराएर व्यवसायीले मूल्य बढाएको पाइएको छ । चुली सगरमाथा इन्टरप्राइजेजका संचालक दीपेन्द्र केसी र एस के सप्लायर्सका सुनिल केसीलाई पक्राउ गरिएको महानगरपालिकाले जानकारी दिएको छ । अनुगमनको क्रममा ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १ सय ५० रुपैयाँ पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्