उत्तरी नाकामा रोकिएका सामान ल्याउन सहयोगको याचना «

उत्तरी नाकामा रोकिएका सामान ल्याउन सहयोगको याचना


दसैं नजिकिँदै जाँदा चीनबाट ल्याइएका मालसामानका कन्टेनर नाकामा रोकिएपछि व्यवसायीहरू सरकारको शरण परेका छन् । व्यवसायीहरूले कोरोनाको कारण केरुङ नाकामा एक हजारभन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग आग्रह पनि गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरूले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीहरूलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिना देखि मालवस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलाइदिन मन्त्री भट्टसमक्ष अनुरोध गरे । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरूसँग बैंकको ब्याजदर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत उनले माग गरे । त्यस्तै व्यवसायीहरूसँग मासिक भ्याट तथा राजस्व तिर्ने पैसा समेत नभएकाले तिर्ने समयावधि थप गरिदिन पनि माग गरे । व्यवसायीहरूको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरूले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरूमा पहल गर्ने बताए । पुनर्कर्जा उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग कुरा गर्ने भन्दै उनले केरुङ र तातो पानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत जानकारी दिए ।
लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले बिनाधितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरूले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनरकर्जाको सुविधा आफूहरूले समेत पाउनुपर्ने माग पनि व्यवसायीहरूको छ । दसैंको किनमेल थाल्ने बेलासम्म पनि चिनियाँ सामान ल्याएर कारोबार गर्नेहरूको सामान अड्केपछि व्यवसायीहरू सरकारलाई गुहार्न पुगेका हुन् । केही व्यवसायी त करोडौं लगानी फस्ने चिन्तामा छन् ।
नाका खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र भन्सार विभाग लगायतका निकायले पहल गरिरहेको जनाएको छ । नाका खुलाउन परराष्ट्र मन्त्रालयलाई पत्र काटिसकेको अर्यालले बताए । सरकारले नाका खुलाउन भन्सार विभाग मार्फत पनि पहल गरिरहेको तथा नेपालस्थित चिनियाँ राजदूत, परराष्ट्र, गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । तर, चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै सामान पठाउन आनाकानी गरिरहेको सरकारी अधिकारीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्