तीन वर्षभित्र आईपीओ जारी गर्ने तयारीमा वल्र्डलिंक «

तीन वर्षभित्र आईपीओ जारी गर्ने तयारीमा वल्र्डलिंक

– इन्टरनेट सेवामा ४३ प्रतिशत बजार हिस्सा, ७३ जिल्लामा सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले तीन वर्षभित्र कमा सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । पछिल्लो दशकमा आक्रामक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले ७३ जिल्लामा सेवा पु-याएको छ भने चालू वर्षमा स्थानीय तहसम्म सेवा विस्तार गर्ने नीति लिएको छ । सेवा विस्तारको २५ वर्ष पुगेको अवसरमा भर्चुअल प्रेस मिट गर्दै कम्पनीको वर्तमानसम्मको यात्रा र अगामी योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अध्यक्ष दिलिप अग्रवालले २५ वर्षको यात्रा लामो हुने भन्दै यस अवधिमा धेरै बाधा अड्चन आएपनि सम्भावनालाई पनि आत्मसाथ गर्न सकेको बताए । उनले नेपाल टेलिकम र एनसेलपछि तेस्रो ठूलो सूचना प्रविधि कम्पनीको रुपमा वल्र्डलिंक आइसकेको र आगामी तीन वर्षमा अझ दायरा फराकिलो बनाउँदै यसको हिस्सेदार आम उपभोक्ता र सर्वसाधारणलाई पनि बनाउने तयारी गरिएको बताए । “कम्पनीलाई पब्लिकमा लैजान केही मापदण्डहरु छन्, ती पूरा गर्न चालू वर्षदेखि नै तयारी सुरु भएको छ, बजारको अवस्था ठिक रहेमा तीन वर्षमा पब्लिकमा सेयर दिने हाम्रो तयारी छ,” उनले भने । नेपालको कुल इन्टरनेट खपतमध्ये व्याण्डविथको ४३ प्रतिशत खपत आफ्नो कम्पनीमार्फत हुने गरेको उनको दावी छ ।
कम्पनीले सन् १९९५ मा ईमेल सेवा सुरुवात गरेको थियो भने १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गरेको थियो । सन् १९९९ मा काठमाडौं बाहिर कम्पनीले सेवा विस्तार गरेको थियो । अन्तर्राष्ट्रिय ब्याण्डविथका लागि भिस्याटको सुरुवात पनि त्यहीँबाट गरेको कम्पनी प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । यसरी अन्तर्राष्ट्रिय इन्टरनेटतर्फ आफूलाई विस्तार गरेको कम्पनीले सन् २०१० मा स्थानीय सर्भरका लागि गुगलसँग साझेदारी गरेको थियो । उक्त सम्झौताले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी बनाउन अर्को भूमिका निर्वाह गरेको छ । इन्टरनेटको अनुभवलाई अझ प्रभावकारी बनाउने क्रममा कम्पनीले सन् २०१२ मा नेपालमा पहिलो पटक १० एमबीपीएसको इन्टरनेट सुरु गरेको थियो । पछिल्लो सयमयमा टिकटकले व्याण्डविथको गुणस्तर खस्काएको भन्दै चुनौती थपेको प्रमुख कार्यकारी अधिकृत नेपालले बताए । लकडाउन सुरु भएपछि गेम खेल्ने, अनलाइन सपिङ गर्नेको संख्या बढेको उनको अनुभव छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको असार मसान्तसम्मको तथ्यांकअनुसार हाल वल्र्डलिंकका फाइबर प्रयोगकर्ता ३ लाख ७३ हजारभन्दा बढी रहेका छन् । नेपालमै पहिलो पटक कम्पनीले आईपी टिभी सेवाको सुरुवात गरेको यस कम्पनीका प्रयोगकर्ता हाल १ लाख ८४ हजार भन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
सेवा विस्तारसँगै कम्पनीले ग्राहकको सुरक्षाको लागि अनलाइन बालबालिकामाथि हुने दुव्र्यवहार रोक्न सेफनेट सेवा सञ्चालन ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक सन् २०१८ मा आईपीभी सिक्सको सुरुवात गरेको थियो । त्यही वर्षबाट कम्पनीले निःशुल्क रुपमा पब्लिक वाईफाई सेवा सुरु गरेको थियो । कम्पनीका अनुसार हाल पब्लिक वाईफाई प्रयोग गर्ने दैनिक प्रयोगकर्ता १ लाख ५१ हजार भन्दा बढी रहेका छन् । यसरी विभिन्न समयमा विभिन्न सेवा विस्तार गर्दै आएको कम्पनीले प्रत्यक्ष रुपमा चार हजारको हाराहारीमा रोजगारी प्रदान गरिरहेको छ । कम्पनीले गत वर्षमात्रै विदेशी लगानी भित्र्याउन सफल भएको थियो । कम्पनीले बेलायतको सीडीसीद्वारा विदेशी लगानी भित्र्याएको हो ।

प्रतिक्रिया दिनुहोस्