गुम्बा पुनर्निर्माणमा सुस्तता «

गुम्बा पुनर्निर्माणमा सुस्तता

हेटौंडा-२०७२ सालको भूकम्पबाट क्षति भएका मकवानपुरका बौद्ध गुम्बाको पुनर्निर्माणमा सुस्तता देखिएको छ । भूकम्प गएको ५ वर्ष बितिसक्दा गत आर्थिक वर्षमा केही गुम्बा मर्मत भएता पनि अझै पुनर्निर्माणको काम भने सुरु हुन सकेको छैन ।
भूकम्पपछि गरिएको प्राविधिक सर्वेक्षणअनुसार मकवानपुरमा ४४ वटा गुम्बा मर्मत गर्नुपर्ने सूचीमा राखिएकोमा बितेको आर्थिक वर्ष ०७६-७७ मा २५ वटा गुम्बाको मात्र मर्मत सम्पन्न भएको छ । ग्रेड १, २ र ३ मा परेका ४४ वटा गुम्बा मर्मतका लागि पुनर्निर्माण प्राधिकरणले बजेट छुट्याए पनि २५ वटाको मात्र काम सम्पन्न भएको हो ।
४४ वटा गुम्बा मर्मतको लागि प्राधिकरणबाट ३ करोड ६० लाख रुपैयाँ छुट्याइए पनि १९ वटा गुम्बाको मर्मतको काम हुन नसक्दा एक करोड ५ लाख रुपैयाँ फ्रिज भएको छ । २५ वटा गुम्बा मर्मत सम्पन्न हुँदा बितेको आर्थिक वर्षमा २ करोड ५५ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विमल किशोर केपीले जानकारी दिए । बितेको वर्ष बजेट छुट्याइएको मध्ये १० वटा गुम्बाको मर्मत हुन नसक्नुको प्रमुख कारण गुम्बाहरूको आफ्नै समस्या देखिएको जिल्ला आयोजना कार्यान्वयन इकाईको भनाइ छ ।
“पुननिर्माण प्राधिकरणको कार्यविधिअनुसार मर्मत गर्नुपर्ने गुम्बाहरूको नाममा लालपुर्जा नहुनु, गुम्बा दर्ता तथा नवीकण नहुनु, अडिट नहुनु तथा सम्झौताका लागि आवश्यक कागजपत्र उपभोक्ता समितिबाट उपलब्ध नहुनु जस्ता कारणले १० वटा गुम्बाको बजेट फिर्ता गएको हो,” केपीले भने । त्यस्तै ८ वटा गुम्बाको भने पुनर्निर्माण नै गर्नुपर्ने प्रकृतिको देखिएकाले ग्रेड वृद्धिका लागि माग भई आएकाले प्राविधिक प्रतिवेदनसहित केन्द्रमा सिफारिस गरिएको उनले बताए । रिन्छेन छोइलिङ गुम्बा, टासी थर्पे छ्योलिङ गुम्बा, देछेन तेनलिङ गुम्बा, दुक्छेद छयोइलिङ गुम्बा, साङ सीटु छयोकुग्ङ गुम्बा, सम्बा छेलिङ गुम्बा र पेमा लिङ गुम्बाको ग्रेड वृद्धिका लागि सिफारिस गरिए पनि हालसम्म ग्रेड वृद्धि भएर आएको छैन ।
१० लाख रुपैयाँ बजेट विनियोजन भएको विश्कान्तिचत्र संघ इकाई छुमी ज्याङछुप उग्र्यान पेमा ठिदेन गुम्बाको भने गत वर्ष सम्झौता भएर पनि काम हुन सकेन । “ढिलो गरी सम्झौता भयो, सम्झौता लगत्तै कोरोनाको महामारी सुरु भएकाले काम अघि बढ्न नसक्दा बजेट फ्रिज भयो,” कार्यान्वयन इकाई प्रमुख केपीले भने । त्यस्तै देछेन गुम्बा, धर्म धातु गुम्बा, तेर्गेलिङ गुम्बा, पोतला छयोलिङ गुम्बा, डोल्मा लाखाङ गुम्बा, डुग छयोलिङ टसी गुम्बा, देक्षण छयोलिङ गुम्बा झयाङग्छयुब फन्छोग छयोलिङ गुम्बा र रिहो बुद्ध गुम्बाको भने आवश्यक कागजपत्र उपलब्ध नभएका कारण निर्माण सम्झौता हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
जिल्लामा ग्रेड ४ र ५ मा परेका अर्थात पुनर्निर्माण नै गर्नुपर्ने गुम्बाहरूको संख्या ७९ वटा रहेको छ । ती गुम्बाहरूको पुनर्निर्माण भने चालू आव ०७७÷७८ बाट सुरु गर्ने तयारी गरिएको छ । पुनर्निर्माण प्राधिकरणको ४ र ५ ग्रेडको सूचीमा रहेका मकवानपुरका ७९ वटा गुम्बामध्ये चालू वर्षमा १३ वटा गुम्बा पुनर्निर्माण गर्न बजेट विनियोजन गरिएको छ । १३ वटा गुम्बा पुनर्निर्माणका लागि ४ करोड १ लाख ५८ हजार रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ । उपभोक्ता समिति गठन गरी चालू वर्षभित्रै तोकिएका १३ वटा गुम्बा पुनर्निर्माण सक्ने लक्ष्य राखिएको कार्यालय प्रमुख केपीले बताए ।
उपभोक्ता समिति वा स्थानीय तहले गुम्बा पुनर्निर्माणमा ५० प्रतिशत लगानी गर्नुपर्ने प्राधिकरणले कार्यविधि बनाएका कारण पुनर्निर्माणमा समस्या हुने देखिएको गुम्बा बिहार संरक्षण महासंघ मकवानपुरले दाबी गरेको छ । उपभोक्ता समितिले ५० प्रतिशत लगानी गर्न नसक्ने भएपछि गुम्बाहरूका लागि तोकिएको क्षेत्रफललाई घटाएर सरकारी अनुदान ८० प्रतिशत र उपभोक्ताबाट २० प्रतिशत पर्ने गरी पुनर्निर्माण सम्झौता गर्न लागिएको गुम्बा बिहार संरक्षण महासंघ मकवानपुरका अध्यक्ष निरु थिङले जानकारी दिए ।
“प्राधिकरणको कार्यविधिका कारण हामीलाई पुनर्निर्माणमा अप्ठेरो अवस्था सिर्जना भएको छ । उपभोक्ताले ५० प्रतिशत लगानी गर्न नसक्ने भएपछि गुम्बाको प्राविधिक स्टिमेट घटाएर सरकारी अनुदानलाई ८० प्रतिशत बनाउने गरी सम्झौता गर्ने सहमति भएको छ,” थिङले भने । प्राविधिक स्टिमेट घटाउँदा न्यूनतम छ सय स्क्वायर फिटभन्दा तल झर्न नपाउने भनिएकाले चालू वर्षमा पुनर्निर्माण सुरु हुन लागेका १३ वटामध्ये ५ वटा गुम्बाको भने काम अघि बढ्न नसक्ने अवस्था देखिएको उनको भनाइ छ । ती ५ वटा गुम्बालाई ६ सय स्क्वायर फिट निर्माणका लागि बजेट प्राप्त भएको छ । त्यसको लागत स्टिमेट घटाउन नमिल्ने भएपछि उपभोक्ता समितिले ५० प्रतिशत लगानी बेहोर्नुपर्ने बाध्यता देखिन्छ ।
त्यस्तै बितेको वर्ष मर्मतका लागि बजेट पाएर सम्झौता हुन नसकेका गुम्बालाई पुनः बजेट विनियोजन गरिनु पर्ने पनि महासंघले माग गरेको छ । कोरोना भाइरसको महामारीका कारण कागजपत्र जुटाउन नसकिएको र सम्झौता हुन नसकेको भन्दै पुनः बजेट विनियोजन गर्दै मर्मत सम्झौता यस वर्ष गर्न प्राधिकरणसँग माग गरिएको महासंघ मकवानपुरका अध्यक्ष थिङले बताए ।
चालू आवमा पुनर्निर्माण गर्नुपर्ने सूचीमा परेका गुम्बाहरूमा हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका ५ वटा, बागमती गाउँपालिकाको २ वटा, इन्द्रसरोबर गाउँपालिकाको २ वटा, बकैया, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको एक÷एक वटा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सबइन्जिनियर सन्तोषप्रसाद न्यौपानेले जानकारी दिए । पहिलो चरणमा पुनर्निर्माण हुन लागेका सूचीमा परेका गुम्बाहरूको उपभोक्ता समिति गठन गरी पुनर्निर्माणको सम्झौताका लागि आह्वान गर्ने तयारी भइरहेको न्यौपानेको भनाइ छ ।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय तहबाटै निर्माण गर्ने गरी पहिचान भएको मकवानपुरका ७ वटा गुम्बाको पुनर्निर्माणले पनि गति लिन सकेको छैन । सय वर्षभन्दा पुरानो, पुरातात्विक महत्व बोकेका गुम्बाहरूको पुनर्निर्माण भने केन्द्रीय तहबाटै गर्ने गरी कार्यविधि बनाइएको छ । केन्द्र्रीय तहबाटै पुननिर्माण हुने सूचीमा रहेकामध्ये मकवानपुरको कैलाश गाउँपालिका–१० मा रहेको बोर्चब छाइलिङ गुम्बाको ठेक्का प्रक्रिया सुरु गरिए पनि काम भने सुरु भइनसकेको जिल्लाका सबइन्जिनियर न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्