वर्षाले ग्रामीण सडकको अवस्था नाजुक «

वर्षाले ग्रामीण सडकको अवस्था नाजुक

उदयपुर-लगातारको वर्षाले दर्जनौं ग्रामीण सडक क्षतिग्रस्त बनेपछि उदयपुर जिल्लामा आन्तरिक यातायात सञ्चालन हुनसक्ने अवस्था छैन । वर्षाका कारण रौतामाई, ताप्ली, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाको केन्द्रसम्म जोड्ने ग्रामीण सडकका कतिपय स्थानमा पहिरोसमेत गएपछि बिरामी बोक्ने एम्बुलेन्ससमेत सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको छ ।
कोरोना भाइरसको महामारीका कारण सरकारले जिल्ला बाहिरको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि जिल्लाभित्रका लागि सार्वजनिक यातायात सञ्चालन गर्न कुनै रोक छैन । तर, वर्षाका कारण मुर्कुची–पुवारे–भुट्टार, साउने–सल्ले, बेतिनी–माझखर्क, वेतेनी भञ्ज्यांग–राउतखर्क–रुपाटार, पुवारे–माझखर्क–बाराहा, बाराहा–ताम्लिछालगायतका ग्रामीण सडक अवरुद्ध हुँदा यी सडकमा एम्बुलेन्ससमेत सञ्चालन हुन सकेका छैनन् । भेल, बाढी, पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका दर्जनौं सडक क्षतिग्रस्त बनाएको स्थानीय बताउँछन् ।
ट्रयाक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका सडक अहिले कामै नलाग्ने अवस्थामा रहेको ताम्लिछाका भलराज राईले बताए । “सडकलाई नियमितरूपले सञ्चालन गर्नका लागि ट्रयाक खुलेलगत्तै नाली बनाउनु पथ्र्यो,” उनले भने, “तर नाली नबनाइएकाले सडक दिगो हुन सकेनन् ।”
भर्खरै खुल्दै गरेका र पहिले खोलिएका धेरै मोड भएका र साँघुरा सडक वर्षापछि अवरुद्ध भएको व्यवसायी वताउँछन् । “सवारी साधन सञ्चालन गर्ने अवस्थै छैन, हरेक सडकका दर्जनौं स्थानमा पहिरो छ,” सवारी चालक दिनेश राउत भन्छन्, “पहाडी क्षेत्रका सडकमा पहिरो पन्छाएर सडक मर्मत नगरी यातायात सञ्चालन गर्न सकिँदैन ।” सार्वजनिक यातायात खुले पनि सडक बिग्रिएकाले सञ्चालन गर्न नसकिएको उनले बताए ।
जिल्लाको उत्तरी दुर्गम क्षेत्रमा माझखर्क र बाराहालगायतका क्षेत्रलाई समेत सडक सञ्जालले छोएको भए पनि त्यस क्षेत्रका सडकको दर्जनौ स्थानमा पहिरो गएको छ । सुदुरपूर्वमा पर्ने मैनामैनी, सिद्धिपुर बबलालगायतका ग्रामीण क्षेत्रका सडक पनि अबरुद्ध छन् । शाही डाँडादेखि रुपाटारसम्मको सडकको अवस्था झन दयनीय छ । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको चौदण्डीगढी–१ का वीरबहादुर माझी बताउँछन् ।
“करिब ४ वर्षअघि ट्र्याक खोलिएको रानीटारदेखि घारे जोड्ने करिब १० किमि सडक काम नलाग्ने गरी भत्किएको छ,” माझीले भने, “चौदण्डीगढी नगरपालिकाको वंसिलाघाट जोड्ने सडकको अवस्था पनि नाजुक छ ।” उनका अनुसार सिद्धिपुरबाट चौडण्डी जोड्ने सडक पनि नाजुक अवस्थामा छ । यतिबेला ग्रामीण क्षेत्रका अधिकांश सडकमा ट्र्याक्टरसमेत सञ्चालन गर्न समस्या भएको स्थानीय बासिन्दा बताउँछन् ।
रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले वर्षाले ग्रामीण सडक भत्किनुका साथै दर्जनौ स्थानमा पहिरो गएपछि ती सडकमा यातायात सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए । “थोरै बजेटले धेरै काम गर्नुपर्ने अवस्थाले गर्दा सामान्य वर्षाले नै सडक बिगार्ने गरेको छ,” उनले भने, “झरी रोकिएपछि पहिरो पन्छाएर र सफा गरेर यातायात सञ्चालन गर्नुको विकल्प नै छैन ।”
जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका प्रायः सबै वडामा कच्ची सडक पुगे पनि ती मापदण्डअनुसारका नहुँदा हरेक वर्षायाममा सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सरकारी मापदण्डविपरीत र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गरिँदा हरेक वर्षायाममा यी सडक अवरुद्ध हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्