विकासको नाममा «

विकासको नाममा

विकास–निर्माणका आयोजनाहरू सम्पन्न नहुँदै राज्यबाट हुने रकम विनियोजन गर्ने परिपाटीले विकास बजेटको चरम दुुरुपयोग हुने गरेको छ । आवश्यकताको गहिरो अध्ययन, अनुसन्धान नै नगरी आयोजनाहरूमा रकम छुुट्ट्याउने परिपाटीका कारण लक्षित वर्ग तथा समुदाय सेवाबाट वञ्चित हुन पुगेका छन् । यिनीहरू सेवाबाट वञ्चित भए पनि विकासका नाममा बह्मलुट गर्न पल्किएकाहरू रकम विनियोजन गरी आरामले बसेको पाइन्छ । यसरी विकास–निर्माणका कार्यहरू सम्पन्न नगरी आएको बजेट अर्कैतिर खर्च गर्न पल्केकाहरूको पहिचान गरी कानुनी कारबाही नभएसम्म यस्ता गतिविधि अझै मौलाउँदै जाने देखिन्छ । यस्ता गतिविधि निश्चित ठाउँमा मात्र नभई देशका अधिकांश ठाउँहरूमा जरा गाडेर बसेको देखिन्छ ।
विकास–निर्माण कार्य समयमै सम्पन्न नगर्दा हिमाली तथा पहाडी क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा तराई क्षेत्रमा हुने डुबानले अति प्रभावित बनाएको छ । राज्यले विकास निर्माणका लागि पर्याप्त रकम विनियोजन गरे तापनि स्थानीय तहसम्म विकासले तीव्रता नपाउनुको मुख्य कारण ठेक्कापट्टा तथा कमिसनको चक्करलाई लिन सकिन्छ । वर्षैपिच्छे विकास–निर्माणको नाममा बजेट विनियोजन हुँदा पनि परिणाम आउन नसक्नु, हुँदै गरेका कामहरूले तीव्रता नपाउनुु तथा ठेक्कापट्टाको नाममा राजनीति गर्ने परिपाटीले विकास–निर्माणका कार्यहरू अधुरै रहेको देखिन्छ । त्यस्तै ठेक्कापट्टा तथा कमिसनको चक्करमा बिनाअध्ययन–अनुसन्धान तथा योजना तर्जुमा नगरी हचुवाको भरमा रकम विनियोजन गर्ने परिपाटीले पनि निश्चित ठाउँ तथा समुदाय सेवाबाट वञ्चित रहेको पाइन्छ ।
यस्ता गतिविधि खुलेयाम भइरहेको अवस्थामा पनि राज्य तथा सम्बधित निकायबाट प्रभावकारी रूपमा अनुगमन, निरीक्षण नभएको पाउँछौं । जनताको आँखामा छारो हाली कतिपय ठाउँमा नक्कली उपभोक्ता समिति गठन गरी काम गरेको जस्तो देखाउने र भत्ता तथा कमिसन पचाउने गरेको थुप्रै उदाहरण देख्न–सुन्न सक्छौं । त्यस्तै राज्य संघीय संरचनामा गएपछि स्थानीय सरकारबाट सञ्चालन भएका विकास–निर्माणका कार्यहरू अधुरै रहेको छ । केन्द्र सरकारबाट प्राप्त रकमलाई जसरी भए पनि सक्ने परिपाटीले कतिपय आयोजना काम नलाग्ने स्थितिमा पुगेको पाइन्छ । स्थानीय तहमा हुने राजनीतिक खिचातानी, राम्रो काम हुँदैछ भने खुट्टा तान्ने प्रवृत्ति, समन्वयको अभावजस्ता कुराहरूले विकास–निर्माणका कार्यहरूमा अवरोध सिर्जना भएको दखिन्छ । त्यस्तै पछिल्लो समय विकास–निर्माणको ठेक्कापट्टा आफ्नो मातहतका आफन्त वा आसेपासेहरूलाई दिने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्तिको समयमै निरुत्साहित गरी विकास–निर्माणको आवश्यकता पहिचान गरेर ठेक्कापट्टाको काम सम्बधित विज्ञ व्यक्तिलाई दिनुपर्छ ।
यसरी विकासको नाममा हुने बह्मलुटको अन्त्य गर्न अबका दिनहरूमा राज्यपक्ष तथा सम्बधित निकायहरूले विकास–निर्माणमा खर्चिने रकम आवश्यकताको पहिचान गरेर मात्रै रकम छट्ट्याउनुपर्छ । कुनै पनि आयोजना सुरु भएपछि सम्बधित निकायहरूबाट समय–समयमा अवलोकन गर्ने, बेलाबेलामा आयोजनाको प्रगति विवरणहरू पेस गर्न लगाउने, काम गर्दा गुणस्तरको पहिचान गर्ने तथा काम पूर्ण रूपमा सम्पन्न भएको छ÷छैन, अनुगमन गरेर मात्रै रकम विनियोजन गर्ने पद्धतिलाई स्थापित गर्नुपर्छ । यसरी रकम विनियोजन गर्नुभन्दा पहिला आयोजना कति प्रभावकारी हुन्छ कि हुँदैन भन्ने विषय पनि अध्ययन–अनुसन्धान गर्नु अति जरुरी छ । त्यस्तै कमिसनको चक्करमा गुणस्तरहीन सामग्री प्रयोग गरी काम सकेको प्रतिवेदन तयार गरेर रकम निकासा गर्ने प्रवृत्ति अन्त्य गर्दे मापदण्डविपरीत काम गर्ने तथा रकमको चरम दुरुपयोग गर्ने ठेकेदार कम्पनीहरूलाई राज्यले कडाभन्दा कडा कानुनको व्यवस्था गर्नुपर्छ । त्यस्तै विकास–निर्माणको नाममा हुने बेथिति अन्त्यका लागि आजैबाट राज्य तथा आमनागरिकहरू पनि जागरूक हुनु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्