श्रीपेच सर्वसाधारणका लागि खुला «

श्रीपेच सर्वसाधारणका लागि खुला

नेपालमा गणतन्त्र स्थापनापछि संग्र्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।
नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपमा रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए । एक व्यक्तिको स्वार्थ र अहंकारको मारमा जनता पर्नुपर्ने शासनको अन्त्यका लागि लखन थापा, योगमाया, कृष्णलाल अधिकारी, महाकवि देवकोटा, बालकृष्ण सम, कृष्णप्रसाद कोइराला, मनमोहन अधिकारी, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, रामनाथ दाहाल, ९६ सालका शहीद सबैले लडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ४८ वर्ष अगाडि आफैँले पनि यसका लागि एक आन्दोलनको अगुवाइ गरेको बताए ।
इतिहासमा राजाहरुले राष्ट्रियता र एकीकरण आदिमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्ने व्यवस्था भने तर्कसंगत नरहेको धारणा राखे ।
जनताबाट निर्वाचित हुने शासन व्यवस्था नै तर्कपूर्ण रहेको उल्लेख गर्दै उनले श्रीपेच जनताका लागि प्रदर्शनी खुलाउनाले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने स्पष्ट हुने बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले २०६२-६३ को राजनीतिक परिवर्तनपछि संग्र्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताए । नेपालको इतिहास झल्काउने श्रीपेच, राजदण्ड र अन्य सामग्रीको प्रदर्शनले देशीविदेशी पर्यटक आकर्षित गर्न सकिने उनले बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते दरबारलाई संग्र्रहालय बनाइएको तथा हाल श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको थप प्रदर्शनी खुला गरिएको जानकारी दिए ।
शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अष्ट्रेलियामा पाइने बर्ड अफ प्याराडाइजको बहुमूल्य प्वाँख श्रीपेचमा जडित भएको जानकारी दिए । यसमा ७३० हीरा र दुई हजार ३७२ मोतीजडित भएको बताइएको छ । नेपालमा श्रीपेचको चलन राजेन्द्रविक्रम शाहको पालादेखि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्