१५ सय विवाद मेलमिलाप केन्द्रबाट फछ्र्योट «

१५ सय विवाद मेलमिलाप केन्द्रबाट फछ्र्योट

देवानी प्रकृतिका विवाद र मेलमिलाप गर्न हुने भनेर तोकिएका विवादहरु सामुदायिक मेलमिलाप केन्द्रबाटै समाधान हुने भएपछि स्थानीयहरुको पहिलो रोजाइमा मेलमिलाप केन्द्र पर्ने गरेको छ । अहिले जिल्लाका ९ वटै स्थानीय तहका ७९ वटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

सिन्धुली-स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गरौँ भन्ने मूल नाराका साथ जिल्लामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गएको छ । मेलमिलापको माध्यमबाट विवाद मिलाउँदा विवादित दुवै पक्षलाई जीत–जीतको महसुस हुने भएपछि स्थानीयको यसप्रति आकर्षण बढेको हो ।
वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना भएपछि धेरैजसो विवादहरु स्थानीय स्तरमै मिल्न थालेका छन् । जिल्लामा मेलमिलापकै माध्यमबाट १४ महिनाको अवधिमा १५ सयभन्दा बढी विवाद निरुपण गरेको छ । आर्थिक वर्ष २०७४-०७५ देखि हालसम्मको अवधिमा १५ सय विवाद समाधान गरिएको मेलमिलाप कार्यक्रमकी संयोजक पार्वती भट्टराईले बताइन् । उनका अनुसार गत वैशाख महिनादेखि असोज महिनाको दोस्रो हप्तासम्ममा मात्रै ३ सयभन्दा बढी विवाद सहमतिमै फछ्र्योट भएको छ ।
देवानी प्रकृतिका विवाद र मेलमिलाप गर्न हुने भनेर तोकिएका विवादहरु सामुदायिक मेलमिलाप केन्द्रबाटै समाधान हुने भएपछि स्थानीयहरुको पहिलो रोजाइमा मेलमिलाप केन्द्र पर्ने गरेको छ । अहिले जिल्लाका ९ वटै स्थानीय तहका ७९ वटै वडामा वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

भवन नहुँदा समस्या
मेलमिलाप कर्ताहरुले विवाद निरुपणका लागि भवन नहुँदा समस्या भएको बताएका छन् । मेलमिलाप केद्रले प्रभावकारी रुपमा विवाद मिलाउँदै आएको भएपनि केन्द्रलाई भवनकै अभावका कारण प्रभावकारी रुपमा काम गर्न असहज भएको कमलामाई नगरपालिका–७ का मेलमिलाप केन्द्र संयोजक मेनुका तिमल्सिनाले बताइन् । विवाद समाधानका लागि कार्यकक्ष नहँुदा खुल्ला चौरमै बसेर छलफल गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् ।
कमलामाई नगरपालिका–६ को मेलमिलाप केन्द्र संयोजक अनिता पहाडीको गुनासो पनि उस्तै छ । मेलमिलापकोे प्रक्रिया तथा नियमअनुसार विभिन्न सत्रमा छलफल गर्नुपर्ने भए पनि केन्द्रको आफ्नै भवन नहुँदा समस्या भएको उनले बताइन् । वडा कार्यालयको एउटा कुनामा बसेर छलफल गर्दा गोपनियता तथा प्रभावकारीता कम हुने उनको भनाइ छ ।
दुवै पक्षको जीत हुने तथा अड्डा, अदालत धाउनु नपर्ने र पैसाको पनि बचत हुने भएकाले मेलमिलाप केन्द्रप्रति नागरिकको विश्वास बढेको छ । तर मेलमिलाप केन्द्रकै भरपर्दा भवन नहुँदा प्रभावकारितामा प्रश्न उठ्न थालेको छ । कमलामाई नगरपालिकाको मात्रै यस्तो समस्या होइन, जिल्लाका अन्य स्थानीय तहका मेलमिलाप केन्द्रले पनि यस्तै समस्याका बीच विवाद निरुपण गर्दै आएको छ ।
यता कमलामाई नगरपालिका कार्यपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जु देवकोटा भने मेलमिलापकर्ताहरुलाई विवाद निरुपणका लागि सहज वातावरण बनाइन पहल भइरहेको बताउँछिन् । “आवश्यक भवन नहुँदा समस्या भयो भन्ने कुरा सन्नमा आएको छ । तत्कालका लागि वडा कार्यालयबाटै कार्य सञ्चालन गर्न वडा अध्यक्षहरुसँग समन्वय भइरहेको छ,” उनले भनिन् । मेलमिलाप केन्द्रको आफ्नै भवन निर्माण गर्ने हो भने पनि समन्वय र सहकार्य गर्न तयार रहेको भन्दै उपमेयर देवकोटाले बजेट विनियोजन गर्ने आश्वासन दिइन् ।
गाउँघरमा हुने देवानी प्रकृतिका विवादलाई मेलमिलापकर्ताले मेलमिलापको माध्यमबाट मिलाइरहेका छन् । विवादित दुवै पक्षलाई सँगै राखेर जीत–जीतको महसुस हुने गरी विवादको समाधान गर्ने गरिन्छ ।

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्