बाढीबाट बचाउन प्रभावकारी पूर्वसूचना «

बाढीबाट बचाउन प्रभावकारी पूर्वसूचना

छ वर्ष पहिले बर्षतको समयमा, आकाशबाट परेको अविरल वर्षासँगै कर्णाली नदीमा ठूलो बाढी आयो । बाढीसँगै बर्दियाको राजापुरको अस्तित्व नै बगाइदियो । ६० घर बाढीसँगै बगेर गए । तर, ठूलो बाढी आएर पनि त्यहाँका मानिसलाई बगाउन पाएन । धनको क्षति भयो तर मानवीय क्षति हुन सकेन । सरकारी तबरबाट स्थापना भएका बाढी पूर्वसूचना केन्द्र र प्रणालीले नै जोगाएका हुन् त्यहाँका मानिसलाई । ती पूर्वसूचना केन्द्र र प्रणाली स्थापना नभएको भए बाढीको चेपेटा परेर अकालमा नै ज्यान गुमाउनेको संख्या सयौं नाग्न सक्थ्यो ।
६ वर्ष पहिले नै भेरी नदीमा ठूलो बाढी आयो । त्यो बाढीले सुर्खेतको जामु भन्ने बजार नै बगायो । हेर्दाहेर्दै परिणत भयो मरुभूमिमा त्यो बजार । करिब २६ जानाले अकालमै ज्यान पनि गुमाए । कयौं टुहुरा त कयौं अपांग भए । घरवारविहीन त भए नै तर आफन्त गुमाउनुको पीडाहरू अझै आलै बनिरहेको छ त्यहाँका बासिन्दाहरूका लागि ।
अब प्रश्न उठ्न सक्ला, बर्दियामा घर बगायो तर मान्छे किन मरेनन् र सुनसरीमा मान्छे किन बाँच्न सकेनन् ? बर्दियामा बाढी आउँदैछ है भनेर सर्वसाधारणहरूलाई सुसूचित गर्ने पूर्वसूचना केन्द्र र प्रणाली जडान गरिएको थियो । बाढीको पूर्वसूचनाकै कारण स्थानीयहरू सुरक्षित क्षेत्रमा सर्न सके । आफ्नो महत्वपूर्ण धनमालको संरक्षण गर्न सफल भए, बाढी आउनु अगावै । तर, सुर्खेतमा पूर्वसूचना दिने प्रविधि जडान गरिएको थिएन । बर्दियामा झै बाढी आउँदैछ है भन्ने पूर्वसूचना पाउन सकेको भए सुर्खेतमा पनि २६ जनाले ज्यान गुमाउनु पर्दैनथ्यो ।
वि.सं २०७१ सालमा नै बबई नदीमा ४ पटक बाढी आएको थियो । त्यहाँ पनि बाढीसम्बन्धी पूर्वसूचना दिने प्रविधि जडान गरिएको थियो । त्यसकारण नदी आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरू बाढी आउनु अगावै सुरक्षित क्षेत्रमा सरेका थिए । सुरक्षित ठाउँमा गएका कारण त्यहाँ पनि मानवीय क्षति हुन पाएन ।
गत वर्ष नै कर्णाली नदीमा आएको बाढीले कैलालीका बासिन्दालाई जोगाएको थियो । यो वर्ष पनि नारायणी नदीमा पानीको सहत खतराको तहभन्दा माथि गयो । ३७ वर्षकै ठूलो बाढी आयो । चितवन र नवलपारासीका सालिकहरू त बगायो । तर, मान्छे बग्नबाट भने बचँे । किनभने त्यहाँ बाढी आउँदैछ भन्ने पूर्वसूचना सम्प्रेषण गरिएको कारण नारायणी नदीको बाढीले मानिसलाई जोगायो । पहिल्यै नै उनीहरू सुरक्षित स्थानमा बस्न पाएकाले जोगिएको हो ।
बाढीको पूर्वसूचना दिनका लागि पछिल्लो समय प्रभावकारी बन्दै गएको छ, राडर सेन्सर र बब्लर सेन्सर जस्ता आधुनिक प्रविधिहरू । २० वर्षअघि, बाढीको पूर्वसूचना दिने नयाँ–नयाँ प्रविधिको विकास हुन सकेको थिएन । त्यतिबेला सर्वसाधरणहरू जमिनभित्रका जीवतन्तुहरूबाट पनि अड्कलबाजी लगाउँथे अब ठूलो पानी पर्न सक्छ र नदीमा बाढी आउन सक्छ भन्ने । जमिनका सर्प, भ्याकुता, गड्यौला बाहिर निस्कन्थे । अनि सर्वसाधारणहरू अनुमान लगाउने गर्थे बाढी आउन सक्ला भनेर तर, यो अनुमान कहिले मिल्न सक्थ्यो त कहिले मिल्न सक्दैनथ्यो ।
समय परिवर्तनसँगै बाढी कतिबेला आउँला भनेर हेर्नकै लागि अग्ला–अग्ला टावरहरू बनाइयो । टावरमा चडेर उपल्लो भेगका मान्छेहरू नदीमा हेरेर बस्थे । अनि ठूलो पानी परेर खोलाको सतह बढ्यो भने तल्लो भेगका मान्छेलाई चिच्चाएर खवर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भर पर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसहरूलाई सूचना पु-याउन समय लाग्थ्यो । अनि सर्वसाधरणहरू भाग्न भ्याउँदैनथे । सन् २००८ अघिसम्म मानव स्वचालित स्टाफगेज (जल सतह मापनयन्त्र) को प्रयोग गर्न थालियो ।
त्यतिबेला स्टाफगेज हरेर नदीमा पानीको सतह कतिसम्म पुगेको छ र बाढी आउने सम्भावना छ कि छैन भनेर पत्ता लगाउने गर्थे । बाढी आउने भए स्थानीय प्रतिनिधिहरूलाई आवासेटमार्फत खवर पु¥याइन्थ्यो । बाढी आउने सम्भावित क्षेत्रका मानिसहरूका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।
पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिका रूपमा सन् २००० मै विश्वका विकसित देशहरूले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनले बाढी प्रभावित देशहरूलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडर र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखी नेपालमा पनि यो प्रविधिको प्रयोग हुन थालेको हो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले समयमा नै मानिसहरूले बाढीसम्बन्धी पूर्वसूचना पाउने भएकाले धनजनको क्षति न्यून भएको बताए । “अहिले मनसुन सिजनमा बाढीबाट कम क्षति भएको छ, कुनै पनि घटना भनेको हामीले रोक्न सक्दैनौं, जलजन्य घटना रोक्न नसकेके पनि क्षतिलाई कम गर्ने हो,” उनले भने, “मौसम तथा बाढी पूर्वानुमान स्टेसन सबै स्थानमा राख्न सकेका छैनांै, १० वटा ठूला बेसिनमा यी स्टेसन छ । अब साना बेसिनमा पनि बिस्तार गर्न लागेका छौं ।”
“राडर र बब्लर सेन्सर नदीको आसपासमा जडान गरिएको हुन्छ, पानीको सतह घटबड भएको सूचना हाम्रो डाटा लगरमा संकलित हुन्छ र कम्युनिकेसन मोडलबाट हाम्रो वबेसाइडमा सूचना आउँछ,” जलविद् इन्जिनिअर विनोद पराजुली भन्छन्, “बाढी आउने सम्भावनालाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालय, प्रहरी र सेना, रेडक्रस, प्रभावित हुन सक्ने समुदायका स्थानीय विपद् व्यवस्थापन समिति तथा प्रतिनिधिहरूलाई सूचना सम्प्रेषण गर्छौं ।”
बाढी आउँदैछ है भन्ने सूचनालाई स्थानीय समुदायसामु प्रभावकारी रूपमा पु¥याउनका लागि हाते साइरन, रेडियो तथा मोबाइल एसएमएसको प्रयोग व्यापक रूपमा गरिँदै आएको विभागको भनाइ छ ।
पछिल्लो समय अझै पनि पूर्वसूचना सम्पे्रषणका लागि स्थानीय तह तथा विभिन्न गैरसरकारी संघ–संस्थाहरूले पनि काम गर्दै आइरहेका छन् । पूर्वसूचनाको विषयमा समुदायलाई बुझाउन लामो समय लागेको अनुभव सुनाउँछिन्, दाङस्थित प्राक्किल एक्सनकी वरिष्ठ कार्यक्रम अधिकृत लक्ष्मी अवस्थी । “सुरु–सुरुमा त विश्वास गर्दैनथे यहाँका समुदायले, हामीले पठाएको एसएमएसहरू सबैले पढ्न पनि सक्दैनन्, तर स्थानीय तहमार्फत विभिन्न तरिकाले सूचना सम्प्रेषण गर्न खोजिरहेका छौ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्