Logo

आर्थिक वृद्धि १.५ प्रतिशतमात्रः एडीबी

एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ अर्थात चालू आर्थिक वर्ष (२०७७-७८)मा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको छ । कोभिड– १९ को पारेको प्रभावसँगै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको हो । एडीबीको फ्ल्लागसीप प्रकाशन एशियन डेभलपमेन्ट आउटलुक २०२० अपडेटअनुसार चालू आर्थिक वर्षमा ६.४ प्रतिशतको आर्थिक वृद्धिदर अनुमान गरेकोमा कोभिडपछिको अवस्थाले धेरै कम हुने देखाएको हो ।
गत आर्थिक वर्षमा ५.३ प्रतिशत अनुमान गरेकोमा २.३ प्रतिशतमा खुम्चिएको थियो । नेपालको प्रमुख व्यापाकि साझेदार छिमेकी मुलुक भारतमा अपेक्षित तीव्र गति आर्थिक मन्दीले नेपालको वृद्धिको सम्भावनालाई रोक्ने बताउँदै एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले लामो समयको लकडाउनका कारण आर्थिक गतिविधि कम भएर यस्तो अवस्था आएको बताए ।
मंगलबार नै सार्वजनिक भएको नेपाल माइक्रो इकोनोमिक अपडेटले भने सामान्य मनसुनपछि धानको उत्पादन बढ्ने अवस्था देखिएको उल्लेख गरेको छ । तर, प्रतिवेदनले औद्योगिक उत्पादनमा संकुचन र निर्माण क्षेत्रमा भएको ढिलाइ, सेवा क्षेत्रमा आउने सुस्त व्यापार तथा अन्तर्राष्ट्रिय उडानमा आउने कमीको कारण आर्थिक वृद्धिदर खुम्चिने उल्लेख गरिएको छ ।
सन् २०२१ मा उन्नत अर्थतन्त्रमा ढिलाइ भएको आर्थिक सुधारले विप्रेषण आप्रवाहलाई कम गर्ने तथा आप्रवासी कामदारहरूको रोजगारीको सम्भावनालाई कम गर्ने तथा व्यवसायहरू सामान्य अवस्थामा आउन समय लाग्ने, बैंकहरूको लगानीवापतको साँवा, ब्याजमा हुने ढिलाई लगायतका कारण आर्थिक वृद्धिदरमा असर पर्ने एडीबीले जनाएको छ ।
एडीबीका अनुसार सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२० मा अर्थात अघिल्लो बर्ष २.२ प्रतिशत अनुमान गरेकोमा माइनल शुन्य दशमलब ७ प्रतिशतमा झरेको थियो । दक्षिण एसियामा सर्वाधिक ठूलो संकुचन माल्दिभ्सको अर्थतन्त्रमा भएको छ । पर्यटनमा आश्रित भएका कारण सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र २०.५ प्रतिशतले संकुचित भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्