कोरोना नियन्त्रण कोषबाट १ अर्ब अनुदान «

कोरोना नियन्त्रण कोषबाट १ अर्ब अनुदान


कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट हालसम्म १ अर्ब रुपैयाँँ अनुदान वितरण गरिएको छ । कोषबाट ६४९ स्थानीय तह, ९ अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई सो अनुदान दिने निर्णय गरिएको हो । संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको भदौ २१ मा बसेको एघारांै बैठकले कोरोनाको उपचार गरिरहेका अस्पताललाई मात्र २८ करोड रुपैयाँभन्दा बढी अनुदान दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रचलित कानुन एवम् स्वीकृत मापदण्डबमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने गरी अस्पताल तथा परिषदलाई कोषवाट निकासा गर्ने निर्णय गरेको छ । जाजरकोटको चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिद तथा ल्याब व्यवस्थापनको प्रतिअस्पताल ५० लाखका दरले १ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको छ । यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारीलाई कोभिड १९ सँग सम्बन्धित उपकरण खरिद गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको सो कोषमा हालसम्म २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी सहयोग प्राप्त भएकोमध्ये हालसम्म ९३ करोड रुपैयाँ अनुदान वितरण भएको छ । कोषबाट यसअघि पनि संक्रमण नियन्त्रणका लागि रकम खर्च भईसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले स्थानीय तहलाई अनुदानका लागि रकम निकासा गर्ने गरी पत्र प्राप्त भएको जानकारी दिए । उनले रकम निकासा भए नभएको बारेमा भने जानकारी नभएको बताए । कोषबाट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई कोभिड १९ तथा अन्य स्वास्थ्य सम्बन्धी विषयमा अनुसन्धान गर्ने परियोजनाको लागि २ करोड रुपैयाँ दिने निर्णय भएको छ । सो कोषबाट १० वटा भेन्टिलेटर सहित १४ वटा आइसियू बेड स्थापना तथा व्यवस्थापनका लागि त्रिभूवन विश्विद्यालय शिक्षण अस्पताललाई ५ करोड़ ७५ लाख रुपैयाँ दिने निर्णय भएको छ । यसैगरी ५ वटा भेन्टिलेटर सहित १४ बटा आईसीयू बेड स्थापना तथा व्यवस्थापनका लगि धुलिखेल अस्पताललाई पनि २ करोड ८५ लाख रुपैयाँ दिने निर्णय भएको छ । भेन्टिलेटरसहितको २० वटा आईसीयू बेड स्थापना तथा कोभिड १९ सँंग सम्वन्धित अन्य स्वास्थ्य उपकरण खरिद र व्यवस्थापनका लागि नेपाल प्रहरी अस्पताललाई ८ करोड ४० लाख रुपैयाँ दिइएको छ ।
कोभिड–१९ का संकास्पद तथा संक्रमित व्यक्तिहरूको उपचार गर्न ५ अस्पताललाई ‘कोरोना भाइरस संक्रमणको उपचारवापत शोधभर्ना अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश, २०७७’ बमोजिम खर्च शोधभर्ना स्वरूप रकम निकास गरिएको छ । यसरी शोभ भर्नास्वरुप भरतपुर अस्पताललाई २ करोड ३३ लाख ६७ हजार, कान्ति बाल अस्पताललाई १ करोड ५५ लाख ७९ हजार, राष्ट्रिय ट्रमा सेन्टर लाई १ करोड ३५ लाख ५ हजार, भेरी अस्पताललाई १ करोड़ ६८ लाख ११ हजार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख ४२ हजार रुपैयाँ दिईएको मन्त्रालयले जनाएको छ । यो रकम प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम भुक्तानी गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने गरी निकासा उपलब्ध गराईएको जनाइएको छ ।
हालसम्म अस्पताल स्थापना भैंसकेका स्थानीय तहरूमा कम्तिमा ५ बेडको अस्पताल संचालन गर्ने नेपाल सरकारको घोषित नीति कार्यान्वयन गर्नका लागि स्थानीय तहलाई समेत अन्ुदान दिईएको छ । आवश्यक बेड, उपकरण र जनशक्ति व्यवस्थापन गर्न ६४९ स्थानीय तहहरूलाई प्रति स्थानीय तह १० लाख रुपैयाँका दरले ६४ करोड ९० लाख रुपैयाँ कोपबाट निकासा दिने निर्णय भएको छ । यसरी निकासा भएको रकमको प्रचलित कानून एवम् स्त्रीकृत मापदण्ड बमोजिम भुक्तानी गर्ने, लेखा राख्ने लेखापरीक्षण गराउने र सोको प्रतिवेदन समेत गर्ने दायित्व सम्बन्धित स्थानीय तहको रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्