एनआरएन विज्ञ सम्मेलनका सुझाव कार्यान्वयनमा जोड «

एनआरएन विज्ञ सम्मेलनका सुझाव कार्यान्वयनमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विज्ञ सम्मेलनमा दिइएका सुझावका आधारमा नीति निर्माण भएमा नेपालमा लगानी गर्न सहज हुने बताएका छन् । एनआरएनएले आयोजना गरेको ३ दिने विज्ञ सम्मेलनमा दिइएका सुझावका आधारमा नीति बनाइ विदेशी लगानी गर्न बाटो खुल्ने जनाएका हुन् । सम्मेलनमा दिइएका सुझावका आधारमा नीति बनाए लागू गरे विदेशी लगानी बढ्ने र गैरआवासीय नेपाली पनि लगानीका लागि आकर्षित हुने उनीहरुको भनाइ छ ।
सम्मेलनपछि आइतबार भएको एनआरएनएकोे समीक्षा, निष्कर्ष र रणनीति बैठकपछि नीति बनाइ लागू गर्न सुझाव दिइएको हो । समीक्षा बैठकमा नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श भएको एनआरएनएले जनाएको छ । लामो समयदेखि विदेशी लगानी भिœयाउन नीतिगत सरलता हुनुपर्ने आवाज उठिरहेका बेला विदेशमा रहेका गैरआवासीय नेपालीले सरकारलाई सम्मेलनमा उठाइएका विषयका आधारमा नीति बनाउन सुझाव दिएका हुन । उद्दघाटन सत्र बाहेक २ दिनसम्म नियमित सञ्चालन भएका विभिन्न १९ वटा विषयगत सेसनबाट प्राप्त सुझावका आधारमा नेपालको लगानी र आन्तरिक आर्थिक नीति बनाउन सरकारलाई स्वेतपत्र बुझाउने एनआरएनएले बताएको छ । सोमबार राजधानीका आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञ सम्मेलनका संयोजकद्वय डा. हेमराज शर्मा र कुमार पन्तले सम्मेलनपछि नेपालको आर्थिक विकासको खाका तयार गर्न सरकार र एनआरएनएलाई मार्गदर्शन हुने बताए । संयोजक शर्माले सम्मेलनमा आएका सुझावका आधारमा ३ महिनाभित्र स्वेतपत्र तयार गरी सुझाव दिने जनाएका छन् ।
दुई दिने सो विज्ञ सम्मेलनका क्रममा विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र विदेशी विज्ञहरूसँग छलफल गरी सुझाव संकलन गरिएको थियो । सम्मेलनले विदेशमा नेपालीले कमाएको पुँजीमात्रै नभइ ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्न सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।
सम्मेलनमा विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस् निष्कर्ष निकाल्न पनि सम्मेलनले सहयोग गर्ने बताइएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन र दोस्रो दिन ५ वटा प्लेनरी सत्र आयोजना भएको थियो । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल भएको सम्मेलनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसरी नै दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू सञ्चालन भएको थियो । कृषि, उत्पादन र ऊर्जामा स्वनिर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवरणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यवसायिक शिक्षा, स्वास्य शिक्षा, संघयतामा शिक्षाको मोडललगायतका विषयमा सम्मेलन केन्द्रित भएको बताइएको छ ।
एनआरएनएका उपाध्यक्ष पन्तले सम्मेलनमा उठाइएका विषयवस्तुहरू नेपालको विकास मोडलसँग जोडेर बनाइएको जनाउँदै सरकारका विकासका प्राथमिकता परेका विषयलाई आधार मानिएको बताए । उनले अब २ वर्षपछि गर्ने विज्ञ सम्मेलनमा थोरै र आवश्यकता अनुसारका विषयमामात्र छलफल गरिने बताए । परराष्ट्र मन्त्रालयका उपसचिव डमरुबल्लभ पौडेलले एनआरएनए विज्ञ सम्मेलनबाट प्राप्त भएका सुझावका कारण सरकारलाई नीति बनाउन सहयोग हुने बताए । उनले सम्मेलनमा सरकारको पनि सहभागिता रहेका कारण कारण सम्मेलनमा दिइएका सुझाव कार्यान्वयन गर्न सजिलो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्