लोडसेडिङ अन्त्य, नाफामा प्राधिकरण «

लोडसेडिङ अन्त्य, नाफामा प्राधिकरण

पूरा गर्न सकेनन्

  • माथिल्लो तामाकोसी निर्माण सम्पन्न
  • देशलाई विद्युत्मा आत्मनिर्भर
  • उपत्यकालाई तार र पोलरहित
  • स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली
  • डिजिटल प्राधिकरण बनाउने
  • खिम्तीको पीपीए दर तोक्ने

आगामी चुनौती

  • प्राप्त उपलब्धिलाई संस्थागत गर्नु
  • उत्पादित विद्युत्को बजार व्यवस्थापन
  • विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि
  • नयाँ विद्युत् ऐनअनुसार संस्थागत पुनर्संरचना
  • लगानीकर्ताभन्दा विकासकर्ता बन्नु

कुलमान कार्यकालका उपलब्धि

चार वर्षअघि २०७३ भदौ २९ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर मंगलबार बिदा भए । चार वर्षअघि तीन दिनको समयावधि राखेर गरिएको आन्तरिक प्रतिस्पर्धामा ८ जनामध्येबाट कार्यकारी निर्देशकमा छनोट भएपछि उनीविरुद्ध तत्कालीन तीन उपकार्यकारी निर्देशकले मुद्दा नै दायर गरेका थिए । तत्कालीन अवस्थामा ११ औं तहमा रहेका र राहुघाट जलविद्युत् आयोजनाका प्रमुख रहेका कुलमानको नियुक्तिपछिको प्राधिकरणको आन्तरिक वातावरण राम्रो थिएन तर चार वर्षमा उनले प्राधिकरणभित्र मात्र होइन, सर्वसाधारणमाझ पनि वाहवाही कमाएर उनी बिदा भए ।
चार वर्षे कार्यकाल सकिएपछि पनि निरन्तरता पाउने अपेक्षा स्वयं उनीमा पनि थियो भने सर्वसाधारण त दबाबमै उत्रिएका थिए । भोलि सरकारले उनलाई पुनर्नियुक्ति गर्छ कि गर्दैन, त्यो त हेर्न बाँकीनै छ । तर, उनले चार वर्षे कार्यकालमा आफूलाई सफल सावित गरेर बिदा भए । सबैभन्दा ठूलो त झण्डै १३ वर्षदेखि नेपालमा चरम समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य गरे भने झण्डै ३४ अर्ब घाटामा पुगेको प्राधिकरणलाई नाफामा पु-याए । नेपालमा २०६५ सालमा सबैभन्दा बढी दैनिक १८ घण्टा लोडसेडिङ थियो भने उनी कार्यकारी निर्देशक हुँदा ६ घण्टा दैनिक लोडसेडिङ थियो । उनकै कार्यकालमा सक्नुपर्ने ४५६ मेगावाटको माथिल्लो तामाकोशीको आयोजनाबाट विद्युत् उत्पादन, ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमतामा सञ्चालन तथा संघीय संरचनामा विद्युत् प्राधिकरणको विस्तार भने पुरा हुन सकेनन् ।
वर्षभरीमा सबैभन्दा बढी विद्युत् माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रूपमा मुलकभरी निरन्तर विद्युत् आपूर्ति गरेर २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो नेपालतर्फ डोर्याएका उनले वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरेका थिए । “मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ बेहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो,” उनले बिदाइ मन्तव्यमा भने, “मुलुकबाट लोडसेडिङलाई इतिहासमा बिलय गराइदिएका छौं, ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत् आपूर्ति मात्रै पाएका छन् ।”
प्राधिकरणको तथ्यांकअनुसार आव २०७२-७३ सम्ममा संचित घाटा .३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । पहिलो आर्थिक वर्षमानै प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भएको स्मरण गर्दै उनले बिदाई कार्यक्रममा भने, “दोस्रो वर्ष २ अर्ब ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायौं, चौथो वर्षमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएका छौं ।” ऋणात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ संचित नोक्सानी रहेकोमा आव ०७६-७७मा प्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रूपैयाँ नाफामा लैजान सफल भएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ । देशभरका करिब ८६ प्रतिशत जनताले ग्रीडको विद्युत्मा पहुँच पाएका छन् र अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत् उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको उनले तथ्यांक प्रश्तुत गरे ।
भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको बताउँदै उनले लामो समयदेखि रुग्ण भएर वसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको उनले बताए । चार वर्षे कार्यकालमा आफूले माथिल्लो तामाकोसीसहित चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका आयोजनाहरू सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर वनाउदै निर्यात गर्ने, काठमाडौ उपत्यकालाई तार र पोल रहित वनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालित प्रणाली देशभरी लागू गर्ने र देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहुँच पु-याउने, डिजिटल एनईए बनाउने कार्य पूरा गर्न नसकेको पनि उनले स्वीकार गरेका छन् । यस अविधमा उनले खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व स्वतः आइसके पनि यसमा भविष्यका लागि महत्वपूर्ण मानिएको विद्युत् खरिद सम्झौता (पीपीए) दर टुंग्याउन सकेनन् । कोरोना महामारीको अवस्थाले यो पूरा हुन हुन नसकेको हो ।
घिसिङको अनुभवमा आगामी दिनहरूमा आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती छ भने उत्पादित विद्युत्को वजार व्यवस्थापन दोस्रो चुनौतीको रूपमा रहेको छ । विद्युत आपूर्ति नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको बताउँदै उनले बिदाई कार्यक्रममा भने, “संघीय संरचना र नयाँ विद्युत् ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनू चौथोे चुनौती रहको छ ।” यसबाहेक आयोजनाविहीन बन्दै गएको प्राधिकरण आफैले नयाँ नयाँ आयोजना सुरु गरेर अघि बढाउनुपर्ने चुनौती अर्को छ । हाल प्राधिकरणले आफैले सेयर लगानी गरेर कम्पनीमार्फत आयोजनाहरू निर्माण गरिरहेको छ भने कम्पनीमार्फत अघि बढेका आयोजनाहरूलाई जनताको जलविद्युत् अन्तर्गत आवद्ध गरेपछि प्राधिकरण आफैले आयोजना निर्माण गर्ने गरेको लामो इतिहासको अन्त्य हुने अवस्था सिर्जना हुन लागेको छ । अहिले विस्तारै प्राधिकरण लगानीकर्ताको रूपमा अघि बढेको छ भने विकासकर्ता हुन सकेको छैन, अब भने प्राधिकरण विकासकर्ता बढी र लगानीकर्ता कम हुनुपर्ने आवश्यकता देखिएको छ ।
बिदाई कार्यक्रममा आफूले चार वर्षमा हासिल गरेको उपलब्धिको फेहरिस्त सुनाउँदै आर्थिक वर्ष २०७२÷७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको २०७६-७७ मा ७७ अर्ब ८० करोड पुगेको तथा प्रसारणलाइनतर्फ ४ वर्षअघिसम्म ६६ के.भी. र सोभन्दामाथिका प्रसारणलाइन लम्बाई २९११ सर्किट किलोमिटर(किमी) रहेकोमा अहिले ४७ प्रतिशतले बढेर ४२७५.२ सर्किट किमी र चार वर्षअघि ग्रीड सवस्टेसनहरूको क्षमता करिव २२२३ एमभीए रहेकोमा अहिले ८७ प्रतिशतले बढेर ४१६०.७ एमभीए पुगेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्